आइतबार, पुष २१, २०८१
23:21 | ०५:०६

सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ बजारमा

नेपाली लिङ्क जुन १६, २०२४

काठमाडौं । साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ लोकार्पण भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार प्रतीक्षासँगै लेखक एवम् पत्रकार घनश्याम खड्का र लेखक सगुना शाहले लोकार्पण गरेका हुन् ।

पुस्तकमाथि टिप्पणी गर्दै सगुना शाहले ‘स्व’ स्व–अस्तित्वको खोजको कथा भएको बताइन् । ‘जब सप्तमले आफूलाई चिन्न कोसिस गर्छ, तब उसले त्यसलाई आफ्नो अस्तित्वसँग जोडेर त्यसैको खोजीमा लागेको छ’, उपन्यासको मुख्य पात्र सप्तमबारे टिप्पणी गर्दै उनले भनिन्, ‘बौद्ध–दर्शन र त्यसको संवरणलाई सरस्वतीजीले सप्तममार्फत उतार्नुभएको छ । बहुरुपी सप्तमको यात्रा रोचक र चित्ताकर्षक छ । कलात्मक भाषा–शैली र कथावाचनले उपन्यास उच्चकोटीको बनेको छ ।’

उपन्यासबारे बोल्दै अर्का वक्ता घनश्याम खड्काले मानिसका प्रयत्न खुशीको खोजी भएको र आफैंभित्रको यात्राबाट मात्रै त्यो सम्भव भएको बताए । उनले भने, ‘त्यही यात्राको खोजका निम्ति सप्तमको मनोविज्ञानलाई चित्रांकन गर्दै सरस्वतीजीले सुन्दर उपन्यास सृजना गर्नुभएको छ । बौद्ध–दर्शनको मार्गमा पात्रको मनस्थितिलाई विभिन्न तहहरूमा बुन्दै यति सुन्दर उपन्यास लेख्नु जीवनभित्रको दर्शन पनि हो । जीवनको फराकिलो फलकमा लेखिएको एक सुन्दर कृति नेपाली पाठकले पाएका छन् ।’

सात वर्षको समयावधिमा उपन्यास लेखिसकेको र आफ्नो अध्ययन, अनुभव र ज्ञानलाई उपन्यासमा चित्रण गर्ने कोसिस गरेको लेखक सरस्वती प्रतीक्षाले बताइन् । ‘यसमा समाज छ, दर्शन छ र चिन्तन पनि छ । शिल्पमा स्वेरकल्पनाको प्रयोग गरेकी छु’-उनले भनिन् ।

सात वर्षअघि प्रकाशित ’नथिया’ उपन्यासबाट पाठक र समीक्षकको राम्रो प्रतिक्रिया पाएकी सरस्वती प्रतीक्षाको यो दोस्रो उपन्यास हो । बुकहिल पब्लिकेसनले प्रकाशन गरेको २९६ पृष्ठको ‘स्व’ को मूल्य ५९९ रुपैयाँ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू