मंगलबार, पुष ९, २०८१
02:02 | ०७:४७

बेलायतमा एनआरएनए अभियन्ता गौरी जोशीसँग अन्तरक्रिया

नेपाली लिङ्क जुन १५, २०२४


लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता एवम् अन्तरराष्ट्रिय समन्वय परिषदमा दुई कार्यकालका महासचिव गौरी जोशीको सम्मानमा शुक्रवार यूकेमा स्वागत तथा सम्मान गरिएको छ ।

शुक्रबार साँझ गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नबरोमा जोशीको सम्मानमा एक कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै जोशीले गैरआवासीय नेपाली संघलाई विगतमा जस्तै एकजुट भएर अघि बढेको देख्न चाहेको बताए । ‘अदालतको निर्णय र फैसलाको पूर्ण पाठ नआइसकेकाले संघ अहिले अन्योल र निस्क्रिय छ, फैसलाको पूर्ण पाठ अध्ययन गरेर संघलाई सबै मिलेर जीवन्तता दिनुपर्छ’- जोशीले भने ।

नेपाल र विदेशमा बस्ने नेपालीहरुलाई जोड्ने महत्वपूर्ण संस्थाको रुपमा रहेको एनआरएनएलाई अघि बढाउन नयाँ नेतृत्व, नयाँ सोच र नयाँ पुस्तालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनको धारणा छ । ‘विगतमा गल्ती सबैबाट भएको छ, गल्ती सबैले स्वीकार्नुपर्छ, गल्ती, कमी कमजोरी र विगतका अनुभवबाट पाठ सिक्नुपर्छ तर गल्ती बारम्बार दोहोरिनुहुन्न’ उनको धारणा थियो ।

एनआरएनएले देशका लागि धेरै काम गरेको र अझै गर्नुपर्ने बताउंदै उनले कोभिडका बेला  ग्लोबल फण्डका लागि बेलायतको भूमिकाको स्मरण गरे ।

आफ्नो नेतृत्वमा ब्लड बस बैंकको संचालन गरेर ५ वटा प्रदेशमा राहत पुर्‍याएको उल्लेख गर्दै जोशीले यस्ता कार्य गर्न गैर आवासीय नेपाली संघ र नेपालबीचको सम्बन्धलाई निरन्तरता दिनुपर्ने बताए ।

एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङले संघ अन्योलपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै अब यसलाई एक ढिक्का बनाएर लैजान जोड दिए ।

आफूहरु केही गर्ने उद्देश्यले आएपनि सिमित व्यक्तिको स्वार्थका कारण संस्था नै धरापमा परेको बताउंदै केही गर्ने वातावरण मिलाउन जोशीलाई आग्रह गरे । 

एनआरएनए यूकेका पूर्व अध्यक्ष एवम् समाजसेवी सूर्य गुरुङले गैर आवासीय नेपाली संघको वर्तमान अवस्थाबारे चिन्ता व्यक्त गर्दै संघलाई सबै मिलेर अघि बढाउनुपर्ने र त्यसका लागि पहल गर्न जोशीलाई आग्रह गरे ।

अर्का अभियान्ता शेर सुनारले पनि पूरानो कुरा बिर्सिएर संस्थालाई अघि बढाउन आग्रह गरे 


शिव कल्चरल एण्ड कम्यूनिटी सेन्टरका अध्यक्ष विक्रम भट्टराईले पनि एनआरएनए ‘माउ बिनाको चल्ला’ जस्तो भएकाले यसलाई अभिवाकत्व दिएर अघि बढाउन सुझाव दिए ।

नेपाल पत्रकार महासंघ यूकेका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार परियारले जोशीको योगदानबारे उल्लेख गर्दै एनआरएनएलाई सही ढंगले अघि बढाउन सुझाव दिए ।

एनआरएनए यूके आइसीसी सदस्य दिलराज गुरुङले संचालन गरेको उक्त कार्यक्रममा एनआरएनए अभियन्ता योगेन क्षेत्री, हेम गुरुङ, प्रसुना कंडेल, कमल कोने गुरुङ, बीरेन खड्का लगायतको उपस्थिति थियो ।  

गत साता परिवारसहित यहाँ आएका जोशी लिभरपुल, स्कटल्यान्डलगायत विभिन्न स्थानको भ्रमण र केही अनौपचारिक भेटघाटमासमेत व्यस्त रहे । उनी आज शनिबार अमेरिका प्रस्थान गर्दैछन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू