लन्डन टेक वीकमा सहभागी नेपाली उद्यमीहरुसँग दूतावासमा अन्तरक्रिया
लन्डन – नेपाली सूचना प्रविधि उद्यमीहरुले नेपाल सरकारले उपयुक्त नीति बनाएमा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गरेर नेपालले अरबौं डलर कमाउन सक्ने बताएका छन्।
‘लन्डन टेक विक २०२४’ मा भाग लिन बेलायत आएका नेपाली सूचना प्रविधि उद्यमीहरुको सम्मानमा नेपाली दूतावासद्वारा बुधबार आयोजित एक समारोहमा बोल्दै नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीज (नास आइटी) का अध्यक्ष रिचन श्रेष्ठले सन् २०३५ सम्ममा आइटीसेवाजन्य निर्यातबाट नेपालले झन्डै दुई अर्ब अमेरिकी डलरसम्म आम्दानी गर्नसक्ने सम्भावना रहेको बताए।
नेपालमा वर्षेनी १० हजार आइटी स्नातकहरु उत्पादन भइरहेको उनले बताए। उनले नेपालमा अहिले दुई हजार भन्दा बढी आइटी कम्पनीमा ७० हजार बढी जनशक्ति कार्यरत रहेको जानकारी दिए ।
उनले नेपालको कूल विदेशी मुद्रा आर्जन मध्ये साढे चार प्रतिशत आइटी क्षेत्रबाट प्राप्त भइरहेको र आइटी क्षेत्रबाट हुने निर्यात मध्ये झन्डै ६० प्रतिशत अमेरिकामा निर्यात भइरहेको बताए।
उनले उपयुक्त नीतिगत वातावरण बनाएर सहयोग गर्न नेपाल सरकारलाई आग्रह पनि गरे।
यूकेमा मुख्यालय रहेको आइटी परामर्शदाता कम्पनी जेनेस सोलुशनका संस्थापक तथा मुख्य कार्यकारी अञ्जनी फुयाँलले नेपाली सूचना प्रविधि उद्यमीहरुका सफलताका थुप्रै कथा रहेका तर तिनलाई नेपाल सरकारले उपयुक्त नीति नियम बनाएर सघाउनुपर्ने बताए।
उनले गुगल, माइक्रोसफ्ट, अमेजनजस्ता ठूला प्रविधि कम्पनीहरुले नेपालका शैक्षिक संस्थालाई सघाइरहेको बताए।
उनले कतिपय विषय ब्रिटिश विश्वविद्यालयहरुमा पढाइ नहुने कतिपय विषय अहिले नेपालमा पढाइ भइरहेको पनि जनाए। “नेपाली प्रविधि क्षेत्रका लागि अहिले निकै आशाप्रद समय हो र यो अवसरलाई प्रतिफलमा बदल्न नेपाल सरकार, प्राज्ञिक क्षेत्र तथा सूचना प्रविधि उद्यमीहरुले अरु निकट सहकार्य गर्नुपर्छ,” उनले भने।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाललाई सूचना प्रविधिको केन्द्र बनाउन नेपाल सरकारले यो वर्षको बजेटमा थुप्रै घोषणा गरेको स्मरण गरे।
उनले नेपाली प्रविधि कम्पनीहरुलाई बेलायतको स्वास्थ्य, आतिथ्य तथा सरकारी क्षेत्रमा पनि आइटी सम्बद्ध सेवा निर्यात गर्न सक्ने ठूलो सम्भावना रहेको र त्यसमा सघाउन नेपाली दूतावास तयार रहेको पनि बताए।
नेपाल सरकारले हालै आउँदो दशकलाई सूचना प्रविधि दशकको रुपमा मनाउने घोषणा गर्नुका साथै आउँदो १० वर्षमा आइटी निर्यातबाट ३० खर्ब रुपैंया आम्दानी गर्ने लक्ष सार्वजनिक गरेको थियो।
कार्यक्रममा लन्डन टेक वीकमा सहभागी हुन हाल बेलायत आएका उद्यमीहरु तथा बेलायतमा कार्यरत उद्यमीहरुको सहभागिता थियो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५