मंगलबार, पुष ९, २०८१
01:20 | ०७:०५

अधिवेशनमा होमियो नर्सिङ एशोसिएसन यूके, प्रसुनाको संयोजकत्वमा निर्वाचन समिति

नेपाली लिङ्क जुन १३, २०२४

नयाँ कार्यसमिति निर्वाचनका लागि एशोसिएसनकी पूर्व अध्यक्ष प्रसुना कंडेलको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ

लन्डन- बेलायतमा कार्यरत नेपाली नर्सहरुको संस्था नेप्लिज नर्सिङ एशोसिएसन यूके अधिवेशनमा होमिएको छ ।

यही जुन २९ तारिख शनिबार लन्डन साउथ ह्यारोको गोल्डेनसीप रेष्टुरेन्टमा तय आठौं अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

अधिवेशनमार्फत नयाँ कार्यसमिति निर्वाचनका लागि एशोसिएसनकी पूर्व अध्यक्ष प्रसुना कंडेलको संयोजकत्वमा एक निर्वाचन समिति समेत गठन भइसकेको छ ।

पाँच सदस्यीय निर्वाचन समितिमा संस्थापक अध्यक्ष अजिता सिम्खडा, निवर्तमान अध्यक्ष विनोदविकास सिम्खडा, सुमन श्रेष्ठ र डा. राधा अधिकारी सदस्य छन्।

निर्वाचन समिति संयोजक कंडेलका अनुसार निर्वाचन कार्यक्रमको तालिका समेत तयार भइसकेको छ । जसअनुसार यही जुन १४ तारिख मध्यरातभित्र एशोसिएसनको वेबसाइटमार्फत् सदस्यता नवीकरण तथा आवेदन गर्न सकिनेछ ।

उक्त समयसीमापछि दर्ता हुनेहरुलाई यसपटकको अधिवेशनमा मत दिने अवसर मिल्ने छैन ।

नयाँ उम्मेदवारीका लागि जुन १७ तारिखको मध्यरातसम्म समयसीमा छ । उम्मेदवारी दर्ता निर्वाचन समितिलाई यो ठेगाना [email protected] मा इमेल पठाएर गर्न सकिनेछ ।

त्यसलगत्तै उम्मेदवारहरुको प्रारम्भिक सूची प्रकाशित गरिनेछ भने उक्त सूचीमा दाबी विरोध गर्ने समय जुन १९ देखि २१ तारिखसम्म राखिएको छ ।

जुन २५ तारिखमा उम्मेदवारको अन्तिम सूची प्रकाशित हुनेछ । मतदान जुन २९ मा अधिवेशनकै दिन मध्यान्ह १२ देखि ४ बजेसम्म गराइनेछ ।

निर्वाचन समिति संयोजक कंडेलले सकेसम्म सहमतिमै कार्यसमिति चुनियोस् भन्ने चाहना रहेको तर कुनै पदमा बहु उम्मेदवारी परेको अवस्थाका लागि भने निर्वाचन गराउन आवश्यक सम्पूर्ण प्राविधिक तयारी गरिने जानकारी दिइन् ।

एशोसिएसनको डेढ दशकभन्दा लामो जीवनमा विगतमा एक पटक मात्रै अध्यक्ष पदमा निर्वाचन भएको थियो ।

बेलायतमा कार्यरत नेपाली नर्सहरुको प्रतिनिधि संस्थाका रुपमा एशोसिएसन सन् २००८ मा स्थापना भएको थियो ।

संस्थाले बेलायतमा रहेका नेपाली नर्सहरुलाई आवश्यक सहायता उपलब्ध गराउने र यहाँको नेपाली समुदायमा स्वास्थ्य सचेतना बढाउनेदेखि च्यारिटीमार्फत् नेपालका विकट जिल्लाहरुमा पुगेर स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याउंदै आएको छ ।

हाल संस्थाको अध्यक्ष सुनिता गौतम थापा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू