प्राध्यापक सुवेदीको जीवनी लन्डनमा पनि लोकार्पण


लन्डन–कान्तिपुर पब्लिकेशन्सका बेलायत संवाददाता नवीन पोखरेल तथा बीबीसीका पूर्व पत्रकार भगीरथ योगीले लेखेको अन्तरराष्ट्रिय कानूनविद् प्रा डा. सूर्यप्रसाद सुवेदीको जीवनी लन्डनमा विमोचन गरिएको छ।
बेलायतस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख श्रीमती रोशन खनाल तथा एनआरएनएका पूर्व सल्लाहकार कुल आचार्यले ‘प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण गरेका हुन्।
उक्त पुस्तक नेपालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही समयअघि लोकार्पण गरेका थिए ।
साउथ एसिया टाइम अनलाइनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रीमती खनालले नेपालमा संविधान निर्माणदेखि नेपाल सरकारविरुद्ध एनसेलको मुद्दामा महत्वपूर्ण सुझाव र सल्लाह दिएर प्रा सुवेदीले मुलुकलाई गुन लगाएको बताइन् । उनले सुवेदी जस्ता विज्ञहरुको विद्वता नेपालको हितमा उपयोग गर्नुपर्नेमा जोड दिइन्।
गैर आवासीय नेपाली संघका पूर्व सल्लाहकार कुल आचार्यले नेपालमा एमसीसी विवाद चर्किरहेका बेला प्रा सुवेदीले व्याख्यात्मक टिप्पणी राख्न सुझाव दिएर विवाद सुल्झाउन योगदान गरेको सम्झना गरे ।
उनले नेपाल–भारत सीमा विवाद लगायतका विवाद समाधान गर्न प्रा सुवेदीले दिएको सुझाव नेपालका लागि निकै उपयोगी भएको बताए । उनले पुस्तकका लेखक पत्रकारद्वय भगीरथ योगी तथा नवीन पोखरेललाई धन्यवाद पनि दिए ।
उक्त पुस्तकको बारेमा बोल्दै अक्सफोर्ड विश्वविद्यालयसंग आवद्ध अनुसन्धानकर्ता डा कृष्ण अधिकारीले लमजुङ्गदेखि बेलायतसम्म प्रा सुवेदीको जीवन यात्रा रोचक र प्रेरणादायी रहेको बताए। उनले प्रा सुवेदीको जीवनी पढ्दा आफूलाई बझांगी राजा जयपृथ्वी बहादुर सिंहको सम्झना आएको बताए।
उनले राजा जयपृथ्वी बहादुर सिंहजस्तै प्रा सुवेदी पनि अन्तरराष्ट्रियतावादी, मानवतावादी तथा कानूनी राज्यको पक्षधर भएको बताए। उनले सुवेदीलाई आफ्ना अनुभवहरु समेटेर अर्को पुस्तक लेख्न पनि सुझाव दिए।
‘बेलायतको प्रगतिको साझेदारको रुपमा दक्षिण एसियाली डायष्पोराको भूमिका’ विषयमा बोल्दै प्रा सुवेदीले ब्रिटेनका हरेक जसो क्षेत्रमा दक्षिण एसियाली समुदायले राम्रो प्रगति गरेको बताए। उनले अन्य दक्षिण एसियाली समुदायभन्दा ढिलो बेलायतमा स्थायी बसोबास गर्न लागेको भए पनि नेपाली आप्रवासी समुदायले व्यापार व्यवसाय, सेवा र प्राज्ञिक क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको जनाए।
कार्यक्रममा सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका ‘डबल अबभ नी एम्पुटी’ भूतपूर्व गोर्खा हरि बुढामगर, बार्नेट काउन्सिलका पूर्व डेपुटी मेयर लक्ष गुरुङ, कन्सलट्यान्ट नर्स सुमन श्रेष्ठ एमबीइ, डा कपिल रिजाल, उद्यमी योगेन क्षेत्री, उद्यमी उत्तम नेपाल, समाजसेवी रविन्द्र जंग लामिछाने, फेशन डिजाइनर संयुक्ता श्रेष्ठ, गायिका सितु खरेल, गोर्खा अभियानकर्ता ज्ञानराज राई, एनआरएन अभियन्ता दयानिधि सापकोटा, कलाकार गोविन्द साह ‘आजाद’, द मेक्सवर्थ फाउन्डेशनका संस्थापक सञ्जय शाह लगायत समाजका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्व र प्रायोजकहरुलाई सम्मान गरिएको थियो ।
साहित्यकार डा. संगीता स्वेच्छाले सञ्चालन गरेको कार्यक्रममा साउथ एसिया टाइम अनलाइनका प्रधान सम्पादक भगीरथ योगीले सबैलाई स्वागत गरे भने सम्पादक डा. जगन कार्कीले धन्यवाद दिए ।
तस्बिर- दिनेश परियार
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५