लन्डनमा नेपाल झल्काउने कार्यक्रमसहित मनाइयो बुद्धजयन्ती
तस्विरहरु: शिव भण्डारी
लन्डन- २५६८औं बुद्धजयन्ती लन्डनमा एक विशेष कार्यक्रमसहित मनाइएको छ ।
बुद्ध फाउण्डेसन यूकेको आयोजनामा आइतबार वुल्लीचको जनरल गोर्डन स्क्वायरमा सम्पन्न कार्यक्रममा बेलायतभरका झण्डै सात सय नेपाली सहभागी थिए।
भगवान गौतम बुद्धको शान्ति सन्देश र नेपाली कला, संस्कृति एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिसंगै बुद्धको सन्देश र पर्यटन प्रवद्धर्नात्मक सामग्रीहरु प्रदर्शनी गरिएको थियो ।
नेपालबाट ल्याइएका साढे तीन फिट अग्लो बुद्ध मूर्ति र बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति ह्दय रत्न बज्राचार्य एवं प्राध्यापक कर्ण महर्जनले तयार पारेको बुद्धको जन्मदेखि मृत्युसम्मका विवरणयुक्त ‘क्यानभास’ कार्यक्रममा आकर्षण बनेका थिए ।
हजारौं मानिसहरुको ओहोरदोहोर रहने लन्डन वुल्लीच गोर्डन स्क्वायरको कार्यक्रमले सयौं गैरनेपालीको पनि ध्यान आकर्षित गरिरहेको थियो ।
ध्वजापतका, बुद्धका मूर्तिहरु, बौद्ध दर्शनसम्बन्धी चित्रकलादेखि नेपालको पर्यटन प्रवर्द्धनका लागि राखिएका कयौं सामग्रीले कार्यक्रमस्थल सजिएको थियो । त्यसमाथि मौलिक नेपाली पहिरनमा सयौं नेपालीको उपस्थितिले माहोल नेपालमय बनाएको थियो ।
बालबालिकालाई बुद्ध दर्शनसम्बन्धि जानकारी दिने उद्धेश्यले पुस्तक र नेपाल पोष्टर समेत प्रदर्शन गरिएको थियो । सोहि अवसरमा बालबालिकामाझ बुद्ध र लुम्बिनी झल्काउने चित्रकला प्रतिष्पर्धा गराएर पुरस्कृत गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा विश्व शान्तिको कामना गर्दै सबै अतिथि एवम् सहभागीहरुबाट सामूहिक दीप प्रज्ववलन गराइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गौतम बुद्धको शान्ति सन्देश प्रचारप्रसारका लागि बुद्ध फाउन्डेसनले गर्दै आएका पहलको प्रशंसा गरे।
उनले विश्वसम्पदा सूचीमा समेत समावेश लुम्बिनीको पर्यटन प्रवर्द्धनमा कार्यक्रमले सघाउ पुर्याउने विश्वास व्यक्त गरे। कार्यक्रमका प्रस्तुतिहरुले नेपालको सामाजिक एवम् सांस्कृतिक विविधता झल्काएको राजदूत आचार्यले उल्लेख गरे।
कार्यक्रमका विशेष अतिथि स्थानीय रोयल बरो अफ ग्रीनवीचका नवनिर्वाचित मेयर काउन्सिलर जीत रानाभाटले कार्यक्रमले बेलायतको नेपाली समुदायलाई यहाँका अन्य समुदायसँग अन्तरघुलन गराउन र बेलायतमा नेपाली समुदायको पहिचान स्थापित गर्न सहयोग पुर्याउने आशा व्यक्त गरे ।
समुदायभित्रको सांस्कृतिक विविधताको प्रोत्साहन गर्नु स्थानीय बरोको प्राथमिकता रहने भन्दै उनले यस्ता कार्यक्रमहरुलाई सधैँ सहयोग रहने बताए।
कार्यक्रममा बौद्ध लामा गुरु खेम्पो कर्मा छुल्ठिमले बौद्ध दर्शनसम्बन्धि प्रवचन दिएका थिए। ११ वर्षीया बालिका आर्या श्रेष्ठले बुद्धसम्बन्धि मन्तव्य दिएकी थिइन्।
आयोजक बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दीपक श्रेष्ठले कार्यक्रम सफल पार्न योगदान गर्ने सबै सहभागी तथा सहयोगीलाई धन्यवाद दिए।
अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम संयोजक एवम् उपाध्यक्ष प्रसुना कंडेलले सञ्चालन गरेकी थिइन्।
सो अवसरमा नेपालबाट आएका गायक सुरेश लामा र गायिका अनु चौधरीसंगै शर्मिला बर्देवा, दीपक थापालगायतले गायन प्रस्तुत गरेका थिए।
निर्देशक सनमकुमार वैरागको कन्सेप्ट र निर्देशनमा अमृता पाण्डे र शुभाशिष श्रेष्ठले बुद्धको जन्मस्थल लुम्बिनी र उनले विश्वलाई दिएको शान्ति सन्देशबारे नाटक प्रस्तुत गरे।
त्यस्तै, पासा पुच: यूकेद्वारा धिमे बाजा र लाखे नाच देखाइएको थियो। ससाना बालबालिकाले विभिन्न जातीय भेषभूषाको आकर्षक प्रदर्शनी गरेका थिए ।
लन्डनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्ड समेतको सहयोगमा लन्डनमा वर्षेनी हुंदै आएको बुद्धजयन्ती कार्यक्रमको यसपटक छैठौं संस्करण थियो ।
कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष अर्जुन कटुवालले स्वागत मन्तव्य दिएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५