स्वास्थ्य सचेतना जगाउंदै इंग्ल्याण्ड डोनकाष्टरका नेपाली युवा
लन्डन । इंग्ल्याण्डको साउथ योर्कसायरस्थित डोनकाष्टरका नेपाली युवा यतिखेर एउटा अभियानमा छन्- ‘आफू स्वस्थ्य रहौं, अरुलाई पनि स्वास्थ्य रहन प्रेरित गरौं ।’
डोनी फिटनेश फोरम स्थापना गरेर युवाहरु अहिले शारिरीक व्यायाम र सोसलाइज हुनतिर व्यस्त छन् ।
फोरमको संयोजक छन् निश्चल दाहाल र अन्य सदस्य संख्या १० छ अहिले । हरेक सोमबारदेखि शुक्रबारसम्म लन टेनिस खेल्ने उक्त फोरमको उद्देश्य हो हेल्थ अवेरनेस अनि आउटडोर एक्टिभिटिज गर्ने ।
डोनकाष्टरको उपनगर इन्टेकस्थित पार्कमा दुई नेटसहित व्यवस्थित फ्रि कोर्ट छ । एकपटकमा ८ जनासम्म खेल्न मिल्ने भएकाले युवाहरु त्यहीं खेल्छन् । अर्को ८ मिनेटको ड्राइभमा पुगिने हाइड पार्कमा पनि फ्रि कोर्ट छ ५ वटा नेट भएको । धेरै हुंदा युवाहरु त्यहीं खेल्ने गर्छन् । दिनमा एक डेढ घण्टा खेल्ने र इच्छा हुने सबैले खेल्न पाउने निश्चलले बताए ।
‘सोसलाइज र हेल्थ बेनिफिटका लागि हामीले यो ग्रुप स्थापना गरेका हौं’, मेक्सिकन खानासहित पिज्जा र वर्गर टेक वे चलाइरहेका व्यवसायी दाहाल भन्छन्, ‘चालिस कटेसी रमाउला भन्ने गीत त छ तर ४० पार गरेपछि रमाउन आफू स्वास्थ्य पनि त हुनुपरयो । हामी त्यही उमेर समूहका साथीहरु अहिले फिटनेश सचेतनातिर लागेका छौं ।’
एक्लै भए मानिस अल्छी गर्ने, झरी बादल र हिउंको बहाना गरेर नआउने हुन्छ । तर, ग्रुप हुंदा खेलौं खेलौं, भेटौं भन्ने माहोल बन्ने निश्चलले बताए । ति युवाको वाट्सएप ग्रुप छ, फूर्सद हुनेहरु शनिबार आइतबार पनि कोर्टमा जम्मा भइहाल्छन् ।
विगत १५ वर्षदेखि यूके बस्न थालेका दाहाल सन् २०१३ देखि कोशेली नेपाली सांस्कृतिक परिवार यूकेमा आवद्ध भएर सदस्य हुंदै सचिवसम्म भएका थिए । कोशेलीमा उनी गीत गाउने गर्थे ।
लन्डन हेजबाट डोनकास्टर सरेपछि निश्चलले त्यहां पनि समूह खडा गरेर स्वास्थ्य सचेतना जगाउंदैछन् । ‘पहिला क्रिकेट टिम बनाएका थिऔं तर त्यो खेल्न संख्या बढी चाहिने भएकाले टेनिसतिर लागेका हौं’, उनले भने ।
प्रशंसनीय अर्को काम पनि के छ भने यही ग्रुपले बेलायतमै जन्मिएका- हुर्किएका बालबालिकाका लागि नेपाली कक्षा समेत शुरु गरेको छ ।
हरेक शनिबार बिहान १० देखि साढे ११ बजेसम्म नेपाली कक्षा भइरहेको छ । यतिखेर कक्षामा १७ जना बालबालिका छन् ।
अन्य अभिभावकहरुले पनि आफ्ना सन्तानलाई कक्षामा पठाउन इच्छा देखाएको फोरमका पदाधिकारी बताउंछन् । डेढ वर्ष भयो नेपाली कक्षा शुरु भएको र राकेश जोशी यसको संयोजक छन् ।
अहिले सानो काउन्सिल हलमा कक्षा भइरहेपनि धेरै जना अट्ने लाइब्रेरी हल बुक गरेर नेपाली कक्षासंगै नृत्य, गीतसंगीत पनि सिकाउने योजना फोरमको छ ।
गत वर्ष नेपाली भाषा सिक्ने केटाकेटीले दुई दिन देउसी भैलो समेत खेलेका थिए ।
डोनकास्टरभरि करिब तीनसय घर र ‘इन्टेक’ उपनगरमा मात्र नेपालीका करिब सय घर रहेको निश्चलले बताए । यहां नेपालीको आगमन बढिरहंदा फोरमले गोर्खा नेपलिज कम्युनिटीसंग पनि सहकार्य गरेर काम अगाडि बढाइरहेको उनले जनाए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५