फेरि विवादमा तानिए कीर्तिमानी पर्वतारोही पूर्जा, यौन दुर्व्यवहारको आरोप



निर्मल पूर्जा । तस्बिर एएफपी
लन्डन– ८ हजार मिटर उचाईंका विश्वका सबै १४ हिमाल ६ महिनामै चढेर विश्व कीर्तिमान राखेका पूर्व गोर्खा निर्मल पूर्जा ’निम्स’ (एमबीइ) फेरि विवादमा तानिएका छन् ।
उनी माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । दुई विदेशी महिलाले त्यस्तो आरोप लगाएको समाचार अहिले भाइरल छ ।
अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौं आएका बेला एक होटलमा पूर्जाले दुव्यर्वहार गरेको बताएको अनलाइन खवरले जनाएको छ ।
डिसेम्बरमा प्रकाशन भएको आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा पनि उनले एक जना चर्चित आरोहीसँग अप्रिय घटना भएको उल्लेख गरेकी थिइन् । पुस्तकमा उनले निम्सको नाम नलिइ आफ्नो सहमतिविना ती व्यक्तिले चुम्बन गरेको भनेकी थिइन् ।
शुक्रबार न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा ती व्यक्ति निम्स भएको खुलाउँदै उनले होटलको कोठाभित्र के–के भएको थियो भन्ने पनि खुलाएकी छन् । उनका अनुसार, पूर्जाले लबीमा कफी पिउनको साटो कोठासम्म लिएर गएका थिए ।
‘मैले इन्कार गर्दा गर्दै उसले मेरो कपडा खोल्न थालेपछि म जमे जस्तो भएको थिएँ, शरीरबाट बाहिर गएको जस्तो महसुस गरिरहेको थिएँ’, उनले भनेकी छन्, ‘मैले महिनावारी भएको छ भन्दा पनि उनी रोकिएनन्, एकपटक मेरो गोप्य अंगसम्म हात पुरयाए ।’
उनका अनुसार, निम्स त्यतिबेला यस्तो अवस्थामा थिए, जतिबेला ‘नो’ भन्नुको उनलाई कुनै अर्थ थिएन । ब्रिटिस सेनामा प्रशिक्षण लिएको र बलियो व्यक्ति भएकाले आफू एकदमै डराएको उनले उल्लेख गरेकी छन् ।
आफूले निरन्तर अस्वीकार गरिरहेपछि निम्स एकदमै रिसाएको उनले बताएकी छन् । पछि पूर्जा बाथरुममा प्रवेश गरेका बेला आफूले लुगा लगाएको उनले भनेकी छन् ।
न्यूयोर्क टाइम्सका अनुसार, यो आरोपमाथि निम्सले भने प्रतिक्रिया दिन चाहेनन् । यद्यपि, उनका वकिल फिलिप केलीले लिखित जवाफ दिँदै ‘आरोप झुठो र अपमानजनक भएको’ बताएको रिपोर्टमा उल्लेख छ ।
क्यालिफोर्नियाकी एक जना डा. अप्रिल लियोनार्दोले पनि पूर्जाले आफ्नो अनुमतिविना पटकपटक तानेर चुम्बन गरेको आरोप लगाएकी छन् ।
विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल चढ्ने बेला गाइड गरेका निम्सले दुर्व्यवहार गरेको उनले बताएकी हुन् । उनको आरोपको पनि निम्सका वकिलले खण्डन गरेका छन् ।
यो घटनापछि दुवैले महिलाले साथीभाइ र परिवारलाई यसबारे सुनाएको र ती म्यासेजहरू न्यूयोर्क टाइम्सले हेरेको रिपोर्टमा उल्लेख छ ।
सन् २००२ मा पहिलो अमेरिकी महिला सगरमाथा आरोही टोलीको नेतृत्व गरेकी एलिसन लेविन पनि आरोहणका बेला गाइडबाट मौखिक दुर्व्यवहार र धम्कीको सामना गर्नुपरेको जनाएकी छन् । त्यसबेला मौसमका कारण उनी नेतृत्वको टोली बीचबाटै फर्किनु परेको थियो ।
पछि २०२० मा उनी फेरि नेपाल आएर सगरमाथा आरोहरण गरेकी थिइन् । उनी भन्छिन्, ‘हिमालमा सबैभन्दा चुनौतिपूर्ण, डर र चिन्तालाग्दो अवस्था मान्छेबाटै पैदा हुन्थ्यो, पर्यावरणबाट होइन ।’
‘वातावरणमा धेरै जोखिम निहित हुने भइहाल्यो, तर जब तपाईं निजी सम्बन्धबाट पनि जोखिम थप्नुहुन्छ, त्यो झनै डरलाग्दो हुन्छ’, उनको भनाइ छ ।
निम्सले आफ्नो एलाइट हिमालयन एड्भेन्चरमार्फत आरोहीलाई हिमाल चढ्न सहयोग गर्छन् । समाजिक सञ्जालमा उनले महिलालाई हिमाल चढ्न प्रोत्साहित गर्दै स्ट्याटस पनि पोष्ट गर्छन् । उनले कतारको राजपरिवार सदस्य आश्मा थानीदेखि रसियन मोडल भिक्टोरिया बोन्यालाई समेत गाइड गरेका थिए ।
निम्स् प्रायः विवादमा परिरहेका छन् । कतिपयले उनलाई आफ्नो ‘नेम एण्ड फेम’ को घमण्ड बढेको भन्ने पनि टिप्पणी गर्छन् ।
यसअघि पूर्जा सञ्चालक रहेको कम्पनीको काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–११ मा अवस्थित कार्यालयमा आगलागी भएपछि उनी विवादमा तानिएका थिए ।
पूर्जाका साथै मिङ्मा ग्याबु शेर्पा (डेभिड) र मिङ्मा तेञ्जी शेर्पासहित तीन जनाद्वारा सञ्चालित इलाइट हिमालयन एड्भेन्चर प्रालिका सामग्री विष्फोट भएर आगलागी भएको बताइएको थियो । कम्पनीले घरधनीलाई एक करोड रुपैयाँ क्षतिपूर्ति गर्ने भनेपछि उक्त विवाद अहिले सतहमा छैन् ।
को हुन् पूर्जा ?
निर्मल पूर्जा ब्रिटिश आर्मीको जागिर छाडेर हिमाल आरोहणमा नयां विश्व कीर्तिमान राख्न नेपाल गएका थिए । उनी बेलायत आउजाउ गरिरहन्छन् ।
उनको आत्मकथा ‘वियोण्ड पोसिबल’ विश्वभर चर्चित छ भने निम्सबारे अनलाइन भिडियो स्ट्रिमिङ प्लेटफर्म नेटफ्ल्क्सिले पनि ‘डकुमेन्ट्री’ बनाएको थियो ।
उनले सन् २०१२ देखिमात्र आरोहण यात्रा प्रारम्भ गरेका हुन् । विश्व कीर्तिमान राख्नु अघि उनले सगरमाथा तीन पटक, ८ हजार मिटर माथिका ४ वटा हिमाल र ७ महादेशमध्ये ४ महादेशका अग्ला हिमाल चढिसकेका थिए ।
उनलाई धेरैले ‘निम्स’ भनेर चिन्छन् । उनी सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो सर्भिङ ब्रिटिश गोर्खा पनि हुन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५