सोमबार, माघ २१, २०८१
01:00 | ०६:४५

निर्यातमूलक आइटी कम्पनीका लागि कर्पोरेट कर शून्य गर्न नास आइटीको माग

नेपाली लिङ्क मे २७, २०२४


काठमाडौँ- नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले  आगामी वर्षको बजेटबाट विश्वसँग प्रतिपर्धा गर्न १० वर्षका लागि शून्य प्रतिशत कर्पोरेट कर र ८ प्रतिशत निर्यात क्रेडिट सुविधाको व्यवस्था गर्न माग गरेको छ ।

राजधानीमा पत्रकार सम्मेलन गर्दै नास आइटीले नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्न आर्थिक वर्ष २०८१-८२ बजेटका लागि विभिन्न सुझाव दिएको हो ।

बजेटमार्फत सूचना प्रविधि स्टार्टअप र उद्यमीलाई वित्तीय पहुँच पुर्याउन कर्जाको व्यवस्था गर्न, आइटी कम्पनीका लागि बीमा पोलिसी ल्याएर ५ वर्षसम्म प्रिमियम लागतको ९० प्रतिशत अनुदान दिन, आइटी पार्क तथा आइटी हब सञ्चालन गर्न, सफ्टवेयर खरिद गर्दा स्थानीय कम्पनीलाई प्राथमिकता दिन, अन्तर्राष्ट्रिय आइटी प्रदर्शनी भाग लिन, विदेशमा शाखा कार्यालय स्थापन गर्न सक्ने तथा आईटी बोर्ड गठनको व्यवस्था गर्न नास आइटीले अनुरोध गरेको छ ।

यस बाहेक नेपाली आइटी कम्पनी, उत्पादन र उद्योगको प्रवर्द्धन गर्न विदेशस्थित नेपाली दूतावासहरुसँग सहकार्य गर्नुपर्ने, ठूला सफ्टवेयरलाई पूर्वाधार परियोजना सरह व्यवहार गर्नुपर्ने, पीपीपी मोडललाई प्रोत्साहन गर्नुपर्ने र खरिद प्रक्रिया सुधार गर्नुपर्ने संस्थाले जनाएको छ ।


सरकारले यी व्यवस्था गर्न सके आगामी १० वर्षमा नेपाली आइटी उद्योग निर्यात ७ खर्बको बनाउन सकिने र ग्लोबल टेक हबको रूपमा विकास गर्न सकिने नास आइटीले विश्वास व्यक्त गरेको छ ।

प्रविधिको विकास र प्रवर्धनका लागि स्थापना हुने आइटी बोर्ड स्वायत्त निकाय हुनुपर्ने र त्यसका लागि छुट्टै ऐन आउनुपर्ने उक्त संस्थाले सुझाव दिएको छ ।

नास आइटीले विभिन्न शहरमा १५ हजारदेखि ३० हजार वर्ग फुट भवनहरू भाडामा लिएर आइटी पार्कमा हुने सुविधाहरूको व्यवस्था गरी साना आइटी पार्क संचालन गर्न पनि सुझाव दिएको छ 

एक अध्ययन अनुसार नेपालको सूचना प्रविधि क्षेत्रले देशको कूल गार्हस्थ्य उत्पादनमा झन्डै २ प्रतिशत तथा कूल वैदेशिक मुद्रा संचितिमा ५.५ प्रतिशत योगदान गरेको छ । 


सन् २०२० मा नेपालको सूचना प्रविधि क्षेत्रले ३० करोड डलर भन्दा बढी आम्दानी गरेकोमा दुइ वर्षमै त्यस्तो आम्दानी बढेर ५१ करोड डलर नाघेको अनुमान गरिएको छ ।

नास आइटी नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने भिजनसहित स्थापना भएको आइटी कम्पनीहरूको गैरनाफामूलक छाता संस्था हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू