बिहीबार, पुष २५, २०८१
10:11 | १५:५६

नेपाली खाना युरोपमा चिनाउन बेल्जियममा फुड फेस्टिवल

नेपाली लिङ्क मे २३, २०२४

बेल्जियम––नेपाली व्यवसायी संघ बेल्जियमले यही मे २५ तारिख शनिबार नेपाली फुड फेस्टिवल गर्ने भएको छ ।

बेल्जियममा हरेक दुई वर्षमा हुने फुड फेस्टिवलको तेश्रो संस्करण लुभेन नगरपालिका प्रमुख मोहमद रुद्वानीले उद्घाटन गर्ने कार्यक्रम रहेको संयोजक एवम् नेबाबका उपाध्यक्ष कासी दनैले पत्रकार सम्मेलनमा जानकारी दिए ।

करिब १० हजार व्यक्ति सहभागी हुने अपेक्षा गरिएको यस नेपाली खाना महोत्सवमा स्थानीय नगरपालिका र नेपाली राजदूतावास बेल्जियमको विशेष सहयोग र सहभागिता हुनेछ ।

फेस्टिवलमा बेल्जियममा कार्यरत विभिन्न देशका 
करिब १५ राजदूत, युरोपियन युनियनका विशिष्ट पदाधिकारीहरु, युरोपियन पार्लियामेन्टका सांसदहरु, बेल्जियम सरकारका विशिष्ट व्यक्तिहरु, बेल्जियम नागरिक र नेपाललाई माया गर्ने युरोपियन नागरिकहरु सहभागी हुने आयोजकले बताएका छन् ।

विशिष्ट अतिथिहरुलाई नेपालको पहिचान झल्कने खालको मायाको चिनो प्रदान गरिनेछ । फेस्टिवलमा १४ वटा स्टलबाट हिमाल, पहाड र तराइमा खाइने १० थरी नेपाली खाना, दुईवटा नेपाली हस्तकलाका सामाग्री वितरण गरिनेछ भने ४ जना स्वयंसेवकले नेपाली खानाबारे पहुनाहरुलाई जानकारी गराउनेछन् । नेपाली खाना र स्वादको गुणस्तर नियन्त्रण गर्न स्वयंसेवक परिचालन गरिनेछ।

दिनभर सय भन्दा बढी नेपाली बालबालिकाले नेपाली नृत्य तथा गीत गीत प्रस्तुत गर्नेछन्। नेपाली कला संस्कृति झल्कने झांकी र नेपाली पोशाक प्रदर्शनी पनि हुनेछ । नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने उद्देश्यले एक जना बेल्जियम नागरिकलाई राफल ड्र मार्फत नेपालको होटेल बुकिंग र हवाई टिकट प्रदान गरिनेछ । नेपाली फुड फेस्टिबललाई बेल्जियमका स्थानीय पत्रपत्रिका, रेडियो, टेलिभिजन र सामाजिक 
सञ्जालबाट प्रचार प्रसार गरिएको छ ।

फेस्टिवल हुने स्थानमा डिजिटल पर्दामा नेपालको प्राकृतिक सुन्दरता झल्कने श्रव्य दृश्य सामाग्री देखाइनेछ । फुड फेस्टिवलका लागि करिब ३० हजार युरो अर्थात ४४ लाख नेपाली रुपैयां बजेट व्यवस्था गरिएको छ । कार्यक्रममार्फत गरिने विज्ञापन र प्रायोजन गर्ने कम्पनीले बजेटका लागि सहयोग गरेका छन् ।

नेपाली व्यवसायी संघ बेल्जियमले नेपाली खानालाई बेल्जियम र युरोपमा परिचित गराउंदै सोमार्फत नेपाललाई चिनाउने, नेपाली समुदाय र बेल्जियम नागरिकबीच भाइचारा अभिवृद्धि, नेपालमा पर्यटन प्रवर्धन र आर्थिक विकासमा योगदान पुरयाउने, यहाँ हुर्कदै गरेका दोश्रो पुस्ता नेपालीलाई सहभागी गराएर नेपालप्रतिको लगाव बढाउने, नेपाली व्यवसायीहरुलाई बेल्जियममा स्थापित गराउन मद्दत पुग्ने विश्वास छ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले यहां क्रियाशील नेपाली व्यवसायीहरु र नेबाब बेल्जियमले गरिरहेका गतिविधिबारे बताएका थिए । नेबाबका अध्यक्ष चिरन कुमार खवासले महोत्सवबारे पत्रकारहरुले राखेका जिज्ञासा मेटाएका थिए ।

उक्त कार्यक्रम सञ्चालन महासचिव जगदिश सापकोटाले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू