लन्डनमा तमु समाज यूकेको २५६८औं बुद्ध जयन्ती तथा स्वस्ति शान्ति पूजा


लन्डन । तमु समाज यूकेले २५६८औं बुद्ध जयन्ती तथा बुद्ध पूर्णिमाको पावन अवसरमा स्वस्ति शान्ति पूजा गरेको छ । गत १८ मे शनिबार लन्डन वेम्बली बरहाम पार्कस्थित समाजको आफ्नै घरमा कार्यक्रम भएको हो ।
आमा समूहको सहयोगमा धार्मिक तथा खाद्य सचिव हरिमान गुरुङको संयोजकत्व र अध्यक्ष शिव कुमार गुरुङको सभापतित्वमा सम्पन्न पूजा कार्यक्रम प्रमुख अतिथि तथा प्रमुख गुरु बुद्धिष्ट सेन्टर फार्नबोरोका मुल गुरु एवं ९ वर्ष छाम् अथवा गुफा बसिसकेका र बुद्ध धर्मबारे धेरै ज्ञान प्राप्त गरिसकेका सेतो गुम्बा नेपालका धर्म गुरु ड्रुब्ला लुङरिगा सङ्पो र लामा दावा नोर्बु लामा गुरुले सञ्चालन गरेका थिए ।
शुरुमा प्रमुख अतिथि तथा प्रमुख गुरु ड्रुब्ला लुङरिगा सङ्पो र लामा दावा नोर्बु लामा गुरुलाई कार्यक्रम स्थलमा भव्य स्वागत गरिएको थियो ।
त्यसपछि तमु समाज यूकेका अध्यक्ष शिव कुमार गुरुङ, आमा समूहकी अध्यक्ष श्रीमती उमा देवी गुरुङ, संस्थाका जेष्ठ नागरिक चन्द्र बहादुर गुरुङ र सल्लाहकार इ. काशीराज बोहराले संयुक्त रुपमा दीप प्रज्वलन गरि शुभारम्भ गरिएको पूजा कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङ, निवर्तमान अध्यक्ष तथा सल्लाहकार शिव चन्द्र गुरुङ, सल्लाहकार तथा काउन्सिलर कमल गुरुङ, आमा समूहकी पूर्व अध्यक्ष तथा सल्लाहकार श्रीमती माया गुरुङ, उपाध्यक्ष श्रीमती बिन्दु घले, युवा समूहका अध्यक्ष ओमकार गुरुङ लगायत अन्य सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारिहरु तथा सदस्यहरु, आमा समूहका आमा दिदीबहिनीहरु लगायत लन्डन वरपरका नेपाली जेष्ठ नागरिकहरु र श्रद्धालु भक्तजनहरुको उपस्थिति थियो ।
सन् २००७ सालमा स्थापना भई २०१२ मा बेलायतको च्यरिटी कमिसनमा औपचारिक रुपमा दर्ता भएको संस्था तमु समाज यूकेले स्थापनाकाल देखि निरन्तररुपमा बैशाख पूर्णिमा तथा बुद्ध जयन्तीको आवसरमा बुद्ध जयन्ती पूजा संचालन गर्दै आएको छ।
विगत वर्षहरु झैं यस वर्षको २५६८औ बुद्ध जयन्ती पूजा कार्यक्रम पनि आमा समूहको सकृयतामा भएको थियो । सो अवसरमा निशुल्क खानपिन ब्यवस्थापन तथा विभिन्न परिकार आमाहरु आफैंले बनाएका थिए ।
यसका निम्ति समूहका सबै आमा दिदीबहिनीहरु साथ मन, वचन र कर्मले कार्यक्रम आयोजनामा जुटेका थिए ।
पूजाका निम्ति थुप्रै दानवीरहरुले स्वस्फूर्त श्रद्धाभावले अर्थ, भोजन, पेय पदार्थ र अन्य आवश्यक पूजा सामग्रीहरु प्रायोजन तथा सहयोग उपलब्ध गराएका थिए ।
बिहान १०ः३० बजे आरम्भ गरिएको बुद्ध जयन्ती स्वस्ति शान्ति पूजापाठ कार्यक्रममा प्रमुख गुरु ड्रुब्ला लुङरिगा सङ्पोले पूजापाठ र बुद्ध दर्शनबारे उपस्थित सबैलाई संक्षिप्त जनकारी गराएका थिए।
कार्यक्रमको अन्तमा उपस्थित सबै भक्तजनहरुले प्रमुख अतिथि तथा प्रमुख गुरुबाट अभिषेक तथा श्रद्धेय दावा नोर्बु लामा गुरुबाट प्रसाद ग्रहण गरेपछि अपरान्ह ५ बजे कार्यक्रम समापन गरिएको थियो ।
तमु समाज यूकेका महासचिव धरमवल गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा अध्यक्ष शिव कुमार गुरुङले धन्यबाद मन्तव्य राख्दै पूजा सञ्चालन गर्ने लामा गुरुहरु, लामा गुरुहरुको ब्यवस्थापन गरिदिने बुद्धिष्ट सेन्टर फार्नबोरोका संयोजक रविन्द्र लोसाल, आर्थिक सहयोग गर्ने चन्दादाताहरु, विभिन्न परिकारका भोजन तथा पेय पदार्थ प्रायोजन गर्ने प्रायोजकहरु, आमा समूह, पूजा संयोजक हरिमान गुरुङ तथा परिवार र उपस्थित सबैलाई आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिएका थिए।
यस वर्षको पूजा कार्यक्रममा एन्डोभर देखि लन्डन वरपरका आजीवन सदस्यहरुको उत्साहजनक उपस्थिति थियो ।
कार्यक्रममा महासचिव धरमबल गुरुङले नै ‘हेल्थ एण्ड सेफ्टी’ बारे जानकारी दिएका थिए । उनले कार्यक्रममा विभिन्न प्रकारका सहयोग तथा दान गर्ने दाताहरुको नामावली धन्यवादसहित पढेर सुनाएका थिए ।
शिव कुमार गुरुङ
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५