बिहीबार, पुष २५, २०८१
10:27 | १६:१२

स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर

नेपाली लिङ्क मे १५, २०२४

लन्डन । युरोपेली मुलुक स्लोभाकियाका प्रधानमन्त्री रोबेर्टो फीट्सोमाथि गोली प्रहार भएको छ ।

ह्यान्डलोभा शहरस्थित एउटा सामुदायिक सांस्कृतिक केन्द्रअगाडि उपस्थित मानिसहरूलाई अभिवादन गर्दै गर्दा फीट्सोमाथि गोली प्रहार गरिएको बीबीसीले जनाएको छ ।

पेट, पाखुरा र खुट्टामा ५ वटा गोली लागेका ५९ वर्षीय प्रधानमन्त्रीको ‘गम्भीर अवस्था’ मा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गृहमन्त्री मातुस सुताज इस्टोकले घटना प्रजातन्त्र र राज्यमाथि नै आक्रमण भएको बताएका छन् । उनले आक्रमणकारीले पाँच पटक गोली हानेको र प्रधानमन्त्री ‘गम्भीर अवस्थामा’ रहेको जानकारी दिएका छन्।

एस्टोकले प्रारम्भिक अनुसन्धानपछि आक्रमण ‘राजनीतिबाट प्रेरित’ जस्तो देखिएको बताए । फीट्सो तेश्रो पटक गत सेप्टेम्बरमा प्रधानमन्त्री निर्वाचित भएका थिए ।

प्रधानमन्त्री फीट्सो उक्त सांस्कृतिक केन्द्रमा एउटा सरकारी बैठक सकेर निस्किएका थिए । ह्यान्डलोभा स्लोभाक राजधानीदेखि करिब १८० किलोमिटर उत्तर–पूर्वमा अवस्थित छ ।

प्रहरीले गोली प्रहार गर्ने ७१ वर्षीय एक आरोपित हमलाकारीलाई पक्राउ गरेको छ ।

घट्नाको विश्वभरबाट निन्दा भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू