बेलायतका अग्रज अभियन्ता आङ कलजंग लामाको असामयिक निधन
लण्डन– बेलायतको नेपाली समुदायका एक अग्रज अभियन्ता आङ कलजंग लामाको असामयिक निधन भएको छ ।
प्रवासी नेपाली मञ्च (तत्कालिन नेपाली लोकतान्त्रिक मञ्च) यूकेका संस्थापक अध्यक्ष ५७ वर्षीय लामाको मंगलबार काठमाडौंमा निधन भएको हो ।
काठमाडौं बौद्धमा मर्निङ वाकमा निस्किएका बेला ढलेर बेहोस भएका लामालाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेको पारिवारिक स्रोतलाई उल्लेख गर्दै मञ्चका नेता भक्त गुरुङले नेपाली लिंकलाई बताए ।
आधिकारिक रिपोर्ट प्राप्त नभइसकेपनि लामालाई ह्दयघात भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।
एनआरएनए यूकेका पूर्व उपाध्यक्ष एवं संस्थापक सदस्य स्वर्गीय लामा प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटीको सल्लाहकार परिषदका वर्तमान सदस्य हुन् ।
केही समयदेखि नेपालमा रहेर प्रपर्टी व्यवसायमा सक्रिय उनी विगत तीन महिनादेखि नेपालमै थिए ।
स्वर्गीग लामा तीन दशकभन्दा अघि बेलायत आइसकेका यहाँको नेपाली समुदायका एक अग्रज हुन् । उनका श्रीमती र दुई छोरा बेलायतमै बस्दै आएका छन् ।
उनको असामयिक निधनले बेलायतको नेपाली समुदाय मर्माहत बनेको छ ।
प्रवासी नेपाली मञ्च यूके अध्यक्ष तुंगभद्र भुषालले संगठनका संस्थापक अध्यक्षको असामयिक निधनमा दुख व्यक्त गरेका छन् । उनले बेलायतमा संगठन निर्माणमा लामाले निर्वाह गरेको भूमिका सदैव स्मरणीय रहने उल्लेख गरे ।
त्यस्तै, मञ्चको अन्तरराष्ट्रिय कमिटीका निवर्तमान अध्यक्ष भक्त गुरुङले पनि लामालाई सबैसंग मिल्न सक्ने खुबी भएका मिलनसार र इमान्दार अभियन्ता भन्दै बेलायतको नेपाली समुदायमा उनले पुर्याएको योगदान प्रशंसनीय रहेको बताए ।
उनको अन्त्येष्टि काठमाडौँमै गरिने बताइएको छ। उनको अन्त्येष्टिमा भाग लिन उनकी श्रीमती तथा छोरा छोरी मंगलबार बेलुकी नेपाल जान लागेको उनका एकजना मित्रले बताए।
स्वर्गीय लामा एक मिलनसार, सहृदयी र समाजसेवी व्यक्तित्व भन्दै सामाजिक संजालमा श्रद्धान्जली दिने क्रम जारी छ।