गोर्खा आन्दोलन हांक्न अब दोश्रो पुस्तामाथि गहन दायित्व


लन्डन । वीर गोर्खाका दोश्रो पुस्तालाई अब आफ्नो बाबु, बाजेमाथि दशौं पुस्ता अघिबाट बेलायती साम्राज्यद्वारा गरिएको अपमानजनक, असमानता र अमानवीय विभेदविरुद्धको निर्णायक आन्दोलन गन्तब्यमा पुरयाउने गहन जिम्मेवारी आएको छ ।
करिब साढे तीन दशक अघिबाट आरम्भ भएको सशक्त आन्दोलनले आंशिक उपलब्धिहरु मात्र प्राप्त गरेको छ, त्यसमध्ये एक महत्वपूर्ण उपलब्धि भनेको गोर्खाका छोरा–छोरी (दोस्रो पुस्ता) लाई ठूलो संख्यामा यही बेलायती भूमिमा ल्याएर यसै देशको शैक्षिक प्रणाली अन्तर्गतका विभिन्न विषयमा विज्ञता हासिल गराउन सफल हुनु हो ।
अब यिनै शिक्षित गोरखा सन्तति (भान्जाभान्जी) हरुले यही देशमा आर्जित विज्ञता र क्षमतालाई सदुपयोग गर्दै आफ्ना पिता पुर्खामाथि २०९ वर्षदेखि हुंदै आएको अमानवीय विभेद, अन्याय अत्याचारको एकाएक हिसाव चुक्ता गर्नुपर्दछ । यहि सिलसिलामा तत्काललाई गोर्खा सत्याग्रहद्वारा संचालित निर्णायक आन्दोलन सशक्त ढंगले अघि बढाउन आर्थिक, नैतिक एवं भौतिक रुपमा योगदान गर्नु गोर्खा सन्ततिको नाताले सम्पूर्ण बेलायतवासी भान्जा भान्जीहरुको कर्तब्य हुन आउंछ । यो ऐतिहासिक एवं निर्णायक आन्दोलनका लागि स्वैच्छिक रुपमा यथासक्दो आर्थिक सहयोग गरेर आफ्नो सहभागिता उल्लेख गराउनु भान्जा भान्जीका लागि एक ऐतिहासिक अवसर पनि हो ।
पीडित गोर्खाहरु अर्थात बाबु पुस्ताहरु नेपाल मै पनि राम्रो शिक्षादीक्षा लिनबाट वन्चित भएका र जीवनको उर्जाशील अवस्थामा बेलायती सैन्य कानूनले बन्दी सरहको जीवन जीएकाहरुमा गोर्खा आन्दोलनलाई सहि ढंगले हांक्ने विचार, बौद्धिकता र भाषिक क्षमताको अवश्य अभाव भएकै हो । यद्यपि, दृढ संकल्पका कारण केही विज्ञहरु हार– गुहार गरेर भएपनि आन्दोलनलाई यहाँसम्म ल्याउनु एक अकल्पनीय एवं ऐतिहासिक उपलब्धि नै मान्नुपर्दछ ।

सन्तोष थलङ
ज्ञानराज राई जस्ता साहसी गोर्खाको २-२ पटक र धन गुरुङ र पुष्पा राणा घलेको १ पटकको करिब ३ साता लामो आमरण अनसन साथै दर्जनौं गोर्खा दाजुभाई, दिदी बहिनीहरुको रिले अनसन अनि कृष्ण बहादुर राई, मेजर जुद बहादुर गुरुङ लगायत गोर्खा अभियन्ताहरुका त्याग र समर्पणले आज तपाईँ हामी यहाँ र यो अवस्थामा आइपुगेका छौं ।
त्यसैले, बेलायतमा रहेका भान्जा भान्जीहरुले यो आन्दोलनलाई निष्कर्षमा पुरयाउन स्वतस्फूर्तरुपमा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति र ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानलाई आर्थिक, नैतिक एवं भौतिक रुपमा सहयोग गरी यो निर्णायक आन्दोलन सफल पार्नै पर्दछ।
यो आन्दोलन सफल गर्नु भनेको बेलायतमा गोर्खा समुदायको हैसियत कायम गरि बेलायतमा रहने भावी गोर्खा सन्ततिहरुलाई कानूनी एवं सामाजिक रुपमा अधिकार सम्पन्न बनाई सम्मानित जिवन यापन गर्न पाउने वातावरण बनाउनु साथै बेलायत आउन संघर्षरत नेपालका पीडित भान्जा भान्जीहरुलाई सहज ढंगले आउन पाउने ब्यवस्था सुनिश्चित गर्नका लागि पनि हो ।
त्यसैगरी “नेपाली नागरिकता निरन्तरताको“ अभियान भनेको भावी ब्रिटिश गोर्खा सन्ततिहरुका नेपाली राष्ट्रियता र पहिचान बचाउने गम्भीर विषय भएकाले यि दुवै मुद्दामा विशेषगरि बेलायतमा रहेका ब्रिटिश गोर्खाका दोश्रो पुस्ताका भान्जाभान्जीहरुको सशक्त भूमिका हुन अत्यावश्यक छ । जय गोर्खा
– सन्तोष थलङ, १२ मे २०२४ लन्डन
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५