खड्का तेस्रो कार्यकालका लागि बेलायतको काउन्सिलर निर्वाचित


लन्डन – काउन्सिलर दिनेश खड्का इंगल्याण्डको मेडस्टोनबाट तेस्रो कार्यकालका लागि काउन्सिलर पदमा निर्वाचित भएका छन्।
बिहीबार भएको निर्वाचनमा उनी मेडस्टोन बरो काउन्सिलको हाइस्ट्रीट वार्डबाट तेश्रो पटक काउन्सिलर पदमा निर्वाचित भएका हुन्।
खड्का पछिल्लो पटक सन् २०२३ मा ४ वर्षको कार्यकालका लागि निर्वाचित भएका थिए, तर मेडस्टोन बरो काउन्सिलको सीमा परिवर्तनले गर्दा फेरि चुनाव गराइएको थियो।
पेशाले खाद्य वैज्ञानिक तथा खाद्य विज्ञानमा पीएचडी पुरा गर्ने अन्तिम चरणमा रहेका खड्काले सहरमा स्वच्छ पर्यावरण, सबैका लागि हरियाली, स्थानीय वासिन्दाका लागि गुणस्तरीय आवास र यातायात सेवामा सहज सार्वजनिक पहुँचलाई आफ्नो मुख्य एजेन्डा बनाएका थिए ।
विगत ६ वर्षदेखि लिबरल डेमोक्र्याटिक पार्टीबाट निर्वाचित काउन्सिलरको रुपमा कार्यरत खड्काले आफ्नो कार्यकालमा स्थानीय सडक मर्मतसम्भार, सार्वजनिक मार्ग पुन: निर्माण, फोहोरमैला व्यवस्थापन, पैदल यात्रु क्रसिङ, पार्क मर्मत, बत्ती जडान जस्ता कामहरु पुरा गरेको बताए। “सबैभन्दा महत्त्वपूर्ण कुरा स्थानीय कोलिस मिलेनियम ग्रीन ट्रस्टसंग समन्वय गरी लगभग ४०० बिरुवा रोप्नका लागि जमीन छुट्याउन सकेकोमा मलाई धेरै खुसी लागेको छ,” खड्काले भने।
केन्ट प्रहरीमा गएको १५ वर्षदेखि स्वयंसेवी सल्लाहकार साथै स्थानीय ट्रस्टको ट्रस्टीको रूपमा काम गरिसकेका खड्काले सन् २०१७ देखि स्थानीय बेलायती समाजसंग मिलेर होली पर्व मनाउन सुरु गरेका थिए ।
दाङ सतबरिया घर भएका खड्का राप्ती समाज यूके अध्यक्ष पनि हुन् । उनले आफूलाई तेश्रो पटक काउन्सिलर पदमा निर्वाचित हुन सघाउने सबैलाई हार्दिक धन्यवाद दिएका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५