मंगलबार, फागुन १३, २०८१
11:24 | १७:०९

इंग्ल्यान्डसंग ऐतिहासिक फुटबल खेल्न नेपाली राष्ट्रिय टोली लन्डनमा

नेपाली लिङ्क मे २, २०२४

लन्डन । इंग्ल्यान्ड र नेपालबीच हुन लागेको पहिलो ऐतिहासिक फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली लन्डन उत्रिएको छ ।

मे ६ तारिख सोमबार अल्डरसट टाउन फुटबल क्लब स्टेडियममा हुने मैत्रीपूर्ण खेलमा भाग लिन खेलाडी, प्राविधिक र एन्फा पदाधिकारीसमेत लन्डन आइपुगेका हुन् ।

नेपाली राष्ट्रिय फुटबल टीमका कप्तान किरणकुमार लिम्बूसहित १२ खेलाडी विहिबार दिउँसो लन्डन उत्रिएका छन् । टीमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेजी र म्यानेजर उत्तम राजभण्डारीसहित चार खेलाडी बिहानै उत्रिइसकेका छन् । बाँकी केही खेलाडी र व्यवस्थापकीय टीम सदस्य बेलुकासम्म लन्डन आइपुग्दैछन् ।

खेलाडी, प्रशिक्षक र व्यवस्थापकीय टीमसहित नेपालबाट जम्मा ३० जनाको टोली बेलायत आएको छ ।

लन्डन हिथ्रो विमानस्थलमा उत्रिएका नेपाली खेलाडीहरुलाई लन्डनस्थित नेपाली दूतावासका पदाधिकारी र स्थानीय नेपाली समुदायका अभियन्ताहरुले स्वागत गरेका छन्।

लन्डन दूतावासका सेकेन्ड सेक्रेटरी रामबाबु नेपाल, समाजसेवी व्यवसायी रविन्द्रजंग लामिछाने, एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ, इंग्ल्यान्डसंगको खेलका लागि नेपाली समुदायका तर्फबाट संयोजक कमल कोने गुरुङ, टिकट संयोजक दिलरास गुरुङलगायतले विमानस्थल पुगेर खेलाडीलाई स्वागत गरेका थिए ।

लन्डन उत्रिएपछि नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले इंग्ल्यान्डसंग खेल्न पाउनु ऐतिहासिक अवसर भएको उल्लेख गर्दै आफूहरुले यसको सदुपयोग गर्ने बताए । 

उनले इंग्ल्यान्डबाट नयाँ अनुभव र केही सिक्ने आशा पनि व्यक्त गरे । ‘हामीहरु निकै उत्साहित छौं । नेपाली समुदायले पनि खेलमा आएर हौसला दिनु होला’- उनले भने । 

टीमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेजीले नेपाली खेलाडी पूर्ण तयारीमा रहेको र यसले ठुलो आत्मविश्वास प्रदान गर्ने जनाए ।  

टीम म्यानेजर उत्तम राजभण्डारीले बेलायतमा नेपाली टिमले पहिलोपटक ऐतिहासिक खेलका लागि अवसर पाएकामा आयोजकप्रति आभार व्यक्त गरे ।  

नेपाली टोलीले सोमबार अपरान्ह अल्डरसट टाउन फुटबल क्लबको इबीबी स्टेडियममा इंग्ल्याण्ड सीसंग ऐतिहासिक खेल खेल्दैछ । उक्त खेल हेर्न बेलायतवासी ५ हजार बढी नेपाली उतार्ने तयारी भइरहेको छ ।

त्यसअघि शुक्रबार ब्रिगेड अफ गोर्खाजको टीमसंग पनि नेपालले मैत्रीपूर्ण फुटबल खेल्नेछ । नेपाली टोली यही मे ७ तारिख नेपाल फर्किने कार्यक्रम छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू