नेपाली ओपन कन्सर्ट जुन १५ मा केन्टमा, राजु लामा प्रमुख आकर्षण
![](https://www.nepalilink.com/wp-content/uploads/2024/02/horizontal.gif)
![](https://www.nepalilink.com/wp-content/uploads/2020/04/anugraha_810.gif)
लन्डन- बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै ठूलो इभेन्टमध्ये एक ‘नेपाली ओपन कन्सर्ट’ यस वर्ष आगामी जुन १५ मा हुने भएको छ ।
आयोजक मगर संघ यूकेले आइतबार एक भर्चुअल पत्रकार सम्मेलन गर्दै केन्टको मेडिस्टोनस्थित ‘केन्ट इभेन्ट गार्डन’ को शो ग्राउन्डमा कन्सर्ट आयोजना हुने जानकारी गरायो।
‘म्यूजिक फर युनिटी’ भन्ने नारासहित आयोजना हुने कन्सर्टमा सहभागी हुन आयोजक संघले बेलायतस्थित सबै नेपालीहरुलाई आव्हान गरेको छ।
‘यो कन्सर्टलाई बेलायतवासी हामी सबै नेपालीलाई एक ठाउँमा ल्याउने र एकताको सूत्रमा बाँध्ने अवसर बनाउने हाम्रो लक्ष्य छ’, पत्रकार सम्मेलनमा संघ अध्यक्ष सीता पुन मगरले भनिन्, ‘आशा छ, बेलायतमा सबै नेपाली आउनुहुनेछ र साथ दिनुहुनेछ ।’
यस वर्षको नेपाली कन्सर्टको प्रमुख आकर्षण चर्चित ‘मंगोलियन हार्ट’ ब्यान्डका गायक राजु लामा रहने भएका छन्।
त्यस्तै, कन्सर्टमा बेलायतस्थित सिक्का ब्यान्ड र केही लोकदोहोरी कलाकारसमेतको प्रस्तुति रहने कन्सर्ट प्रमुख संयोजक एवम् संघका उपाध्यक्ष होम रोकाले जानकारी दिए।
लाइभ ब्यान्डको प्रस्तुतिमा गायक लामाले प्रस्तुति गर्नेछन्।
कन्सर्टस्थलमा नेपाली खाना र सामग्रीहरुलगायत विभिन्न व्यापारिकसमेत ४० बढी स्टल रहनेछन्।
संघले यस वर्ष कन्सर्टमा ४ हजार बढी दर्शक अपेक्षा गरेको छ। तीन सय भन्दा बढी अतिथिहरु निम्त्याइएको छ। मध्यान्ह १२ बजे शुरु हुने कन्सर्ट राती ११ बजेसम सञ्चालन हुनेछ।
पत्रकार सम्मेलनकै क्रममा संघकी अध्यक्ष सीता पुन मगरले कन्सर्टको अनलाइन टिकट विक्री शुभारम्भ गरेकी थिइन्।
अनलाइनमा अग्रिम खरिद गर्दा कन्सर्टको टिकट शुल्क ३० पाउन्ड छ। ६५ वर्ष माथि र १२ देखि १७ वर्ष उमेरलाई भने २५ पाउण्ड छ। अनलाइनमा बिक्री हुने पहिलो १ हजार टिकट भने १० प्रतिशत छुटसहित २७ पाउन्डमा उपलब्ध गराइएको छ। कन्सर्टस्थलमा लिनेहरुलाई ४० पाउन्ड लाग्नेछ।
संघ अध्यक्ष सीता पुन मगरको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन महासचिव गुमानसिंह थापाले सञ्चालन गरेका थिए ।
त्यस अवसरमा कन्सर्ट प्रमुख संयोजक एवम् संघका उपाध्यक्ष होम रोकाले कार्यक्रमको हालसम्मको तयारीबारे अपडेट गराएका थिए ।
पत्रकारहरुको जिज्ञासामा अध्यक्ष, उपाध्यक्ष र महासचिवका साथै संघका सचिव गोमान पुन, मिडिया सेक्रेटरी किशोर राना, सांस्कृतिक सेक्रेटरी सरु राना, केन्ट शाखा अध्यक्ष नानीनाबु मगरलगायतले जवाफ दिंदै कार्यक्रमका विविध पक्षबारे जानकारी गराएका थिए।
मगर संघ यूकेले सन् २००७ देखि नै वर्षेनी नेपालबाट कलाकार झिकाएर बेलायतमा ओपन कन्सर्ट गर्दै आएको छ। विगतका वर्षमा बेजिङस्टोकमा हुँदै आएको कार्यक्रम यो वर्ष पहिलोपटक केन्टमा हुन लागेको हो ।
अनलाइनबाट कन्सर्टको टिकट लिन यो लिंकमा क्लिक गर्नुहोस्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५