लन्डन म्याराथनमा नेपाल र बेलायतका नेपाली धावक पनि दौड्ने



फाइल तस्विर
लन्डन । २१ अप्रिल आइतबार हुने विश्व चर्चित ‘लन्डन म्याराथन’ मा नेपाली धावकहरु पनि दौड्ने भएका छन् । नेपालका राष्ट्रिय खेलाडी र बेलायतमै रहेका नेपालीले सहभागिता जनाउने भएका हुन् ।
भोलि हुने विश्वविख्यात लन्डन म्याराथनमा यसपटक रेकर्ड ब्रेक ५० हजार बढीले २६ माइल लामो मार्ग दौड्नेछन्। म्याराथनमा रियालिटी टिभी शो सेलिब्रेटी, रेडियो डीजे, संगीतकार, पूर्व फुटबलर, अभिनेता, ओलम्पिक एथलीट र रेसिङ ड्राइभरहरुसमेत प्रतिस्पर्धा गर्दैछन्।
नेपाली समुदाय उत्साहित

कुशल दीक्षित
‘लण्डन म्याराथन दौड प्रतियोगिता’ मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित छनोट भएका छन् । दौडसँग सम्बन्धित विभिन्न प्रक्रिया र मापदण्ड पूरा गरेपछि भाग लिन पाउने सो म्याराथन प्रतियोगितामा नेपालकातर्फबाट २० वर्षीय धावक दीक्षित छनोट भएका हुन् ।
संयुक्तराज्य अमेरिकाको सिकागोमा स्नातक तहमा अध्ययनरत युवा धावक कुशल म्याराथन प्रतियोगितामा भाग लिने सिलसिलामा लण्डन आइपुगेका छन् ।
विश्वको खेलकुद इतिहासमा ‘लण्डन म्याराथन दौड प्रतियोगिता’ मा भाग लिन पाउनुलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिइन्छ ।
बच्चैदेखि शारीरिक व्यायम र दौडमा रुचि राख्ने कुशलले भारतको नयाँ दिल्लीमा स्कुल पढ्नेक्रममा स्थानीय विद्यालय साथै दिल्ली सरकारद्वारा आयोजित विभिन्न दौड प्रतियोगितामा कैयौँ पुरस्कार तथा पदक जितेका हजुरबुवा डा. सुन्दरमणि दीक्षितले जानकारी दिए ।

धावक गोपीचन्द्र पार्की (बायां) केही दिन अघि नै लन्डन आइसकेका छन्
उता, धावक गोपीचन्द्र पार्की पनि केही दिन अघि नै लन्डन आइसकेका छन्। नेपाल रन यूकेको निमण्त्रणा र व्यवस्थापनमा उनी यहाँ आएका हुन् ।
गोपीले १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगितामा ५००० मिटर दौडमा स्वर्ण पदक जितेका थिए भने गत नोभेम्बरमा सम्पन्न नेपालगन्ज म्याराथन २ घण्टा २१ मिनेट ३९ सेकेन्डमा समापन गरेका थिए ।
यसपटक आफ्नो क्लवका ५६ धावकले लन्डन म्याराथन दौडिने नेपाल रन यूकेका कोच सन्तोष राईले बताए। क्लव सदस्यहरुले विभिन्न च्यारिटी फन्डरेज पनि गरिरहेका छन्।
व्यक्तिगत रुपमा म्याराथनमा भाग लिने नेपालीको संख्या पनि उल्लेख्य रहेको जनाइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५