बिहीबार, पुष ११, २०८१
18:09 | २३:५४

रोचक छन् प्रा. सुवेदीको अक्सफोर्ड अनुभव

नेपाली लिङ्क अप्रिल ११, २०२४

ज्ञानको प्राचीन शहरबाट प्रभावित

बेलायतबाट कानूनमा स्नातकोत्तर सकी उनी नेपाल फर्केर प्रधानन्यायाधीशको अनुसन्धान अधिकृत र राजा वीरेन्द्रको कानूनी सल्लाहकार जस्ता महङ्खवपूर्ण भूमिकामा राष्ट्रसेवा गरेको एक वर्षपछि सुवेदी अक्टोबर १९८९ मा आफ्नी गर्भवती श्रीमतीका साथ विद्यावारिधिको अध्ययन शुरु गर्न नेपालबाट अक्सफोर्ड आइपुगे । नयाँ शैक्षिक सत्रको पठनपाठन तुरुन्त शुरु हुन लागेको र श्रीमतीसहित परिवारको पनि घरजम गर्नुपर्ने दुवै जिम्मेवारी उनको काँधमा आइपुगेको थियो । उनले पाएको छात्रवृत्ति एकल थियो ।

अरु कमनवेल्थ मुलुकबाट आउने सहपाठीहरुले पारिवारिक भत्ता पनि पाउँथे तर कहिल्यै बेलायती उपनिवेश नभएको नेपालको नागरिक सुवेदीको छात्रवृत्ति फरक थियो । अक्सफोर्डमा उनले अध्ययन शुरु गरेपछि पहिलो वर्ष मास्टर अफ लेटर्स भन्ने डिग्रीका लागि पढ्नुपथ्र्यो । त्यो डिग्रीमा सफल भइसकेपछि मात्रै विद्यावारिधिका लागि अध्ययन शुरु हुन्थ्यो ।

अक्सफोर्डको विद्यावारिधि

अक्सफोर्डको प्राज्ञिक वातावरण उत्कृष्ट थियो । त्यहाँका प्राध्यापकहरु धेरै सहयोगी र उत्साह भर्ने किसिमका थिए । त्यसका साथै अक्सफोर्डले संसारभरिका ठूलठूला विद्वान्हरुलाई आगन्तुक प्राध्यापकका रुपमा प्रवचन दिन बोलाइरहन्थ्यो । सुवेदीका प्राध्यापकद्वय इयान ब्राउन्ली र आडम रोबर्टस्ले संयुक्त रुपमा सञ्चालन गर्ने प्रवचन धेरै ज्ञानवर्धक हुन्थे ।

प्राध्यापक सुवेदीका आफ्नै सुपरिवेक्षक प्राध्यापक क्रिश्चिन ग्रेले सुवेदीलाई आफ्नो थेसिस विस्तार गर्न मनग्गे स्वतन्त्रता दिइन् र सुवेदीले लेखेका अध्यायहरुमाथि धेरै गहिरा टिप्पणी गर्थिन् । यी तीनजना प्राध्यापकहरुसँग सुवेदीको गहिरो सामीप्य थियो र एक किसिमले तीनैजनाको प्रियपात्र भएका थिए । उनले आफ्नो अध्ययन सकेपछि तयार पारेको शोधग्रन्थको मौखिक परीक्षा अक्सफोर्डको कलेज अल सोल्स्को भव्य कक्षमा भएको थियो तर मौखिक परीक्षामा जानुअघि अघिल्लो रात उक्त परीक्षाको तयारी गर्ने क्रममा आफ्नो शोधपत्र (थेसिस) अध्ययन गर्दै जाँदा सुवेदीले चारवटा सामान्य टाइपिङ गल्ती देखे ।

झण्डै एक लाख शब्दको र तीन सय पेजको यस्तो शोधग्रन्थमा चारवटा सामान्य टाइपिङ गल्ती हुनु ठूलो कुरा त थिएन तर सुवेदीलाई ती गल्तीले रातभरि निद्रा लागेन । कतै ती सामान्य गल्तीकै कारण पिएचडी फेल भइने हो कि भन्ने डरले उनलाई रातभरि पिरोलिरह्यो । तर भोलिपल्टको मौखिक परीक्षा भने धेरै चाखलाग्दो र सौहाद्र्रपूर्ण तवरले सम्पन्न भयो र कुनै पनि प्राध्यापकले ती चारवटा सामान्य गल्तीको प्रसंग समेत उठाएनन् । उनीहरु सुवेदीका शोधपत्रमा उल्लेख भएका विचारमा छलफल गर्न केन्द्रित थिए ।

मौखिक परीक्षा सकिएपछि दुवै प्राध्यापकहरुले सुवेदीलाई मौखिक परीक्षामा सफल भएकामा बधाई दिए र उनीहरुले सुवेदीको शोध ग्रन्थ धेरै मौलिक भएकाले अक्सफोर्ड विश्वविद्यालय प्रेसबाट किताबको रुपमा रुपान्तरण गरी छाप्नका लागि प्रस्ताव पेश गर्न पनि सल्लाह दिए । मौखिक परीक्षा सकिएपछि प्राध्यापक इयान ब्राउन्लीले उनलाई निजी अध्ययन कक्षमा लगेर आफूले जिन्दगीभर संकलन गरेका ग्रन्थहरु र ऐतिहासिक रुपका महङ्खवपूर्ण दस्तावेजहरुको संग्रह देखाएका थिए ।

पछि कालान्तरमा गएर प्राध्यापक इयान ब्राउन्लीका संग्रहमध्ये बेलायतले भारतमा शासन गर्दा तयार पारेको भारतको नक्सा भएको किताब सुवेदीका लागि धेरै महङ्खवपूर्ण बन्न पुग्यो । किनभने सन् २०२० मा आएर नेपालले भारतसँगको सीमा विवाद उठेपछि संविधान संशोधन गरी लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको राजनीतिक नक्सामा समावेश गरी प्रकाशन गर्ने क्रममा नेपालले सीमा विज्ञहरुको एउटा समूह गठन गरी प्राध्यापक सुवेदीलाई सदस्य नियुक्त गरेको थियो ।

नेपालको भारतसँगको यथार्थ सीमा के हो भन्ने प्रमाण जुटाउने, त्यसको निक्र्योल गर्ने र नेपाल सरकारलाई आवश्यक सुझाव दिने उक्त विज्ञ समितिको कार्यभार थियो । यसरी प्रमाण संकलन गर्ने क्रममा सुवेदीलाई प्राध्यापक इयान ब्राउन्लीको संग्रहमा भएको उक्त किताबले धेरै मद्दत गरेको थियो । किनभने उक्त किताबमा तत्कालीन भारत सरकार आफैंले प्रकाशन गरेका नक्साहरुमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भागमा पर्ने गरी देखाइएको थियो ।

सुवेदीको अक्सफोर्ड बसाइको पहिलो ६ महिनामै पहिलो सन्तान प्राप्ति भएको थियो । सुवेदी दम्पतीको नेपालमा गुमाएको पहिलो सन्ततिपछि प्राप्त भएको नयाँ सन्ततिले उनीहरुमा हर्ष र उत्साह थपेको थियो । पहिलो सन्तान जन्मिएको दुई वर्षभित्रै सुवेदी दम्पतीलाई दोस्रो सन्तान पनि मिलेको थियो । यसरी अक्सफोर्डको अध्ययन समाप्त गर्दा सुवेदीलाई उनको हातमा महाविद्यावारिधिको उपाधि र दुईवटा सन्तानसहित तीनवटा उपलब्धि मिलेको थियो । अक्सफोर्डको अध्ययन र बसाइ भने एक किसिमले संघर्षपूर्ण नै थियो ।

नयाँ ठाउँको बसाइ, अक्सफोर्डको अध्ययनको माग र परिवारलाई दिनुपर्ने समय तीनवटै कुरालाई सन्तुलन मिलाउनु चुनौतीपूर्ण थियो । एकल छात्रवृत्तिमा अक्सफोर्ड आएका सुवेदीलाई चारजनाको परिवार धान्नु थियो । खर्चले समय समयमा अभावको अनुभूति पनि दिन्थ्यो तर सुवेदीको कलेजका प्रिन्सिपल धेरै दयालु रहेछन् र एकपटक नेपाल भ्रमण गरिसकेको हुनाले नेपाल र नेपालीलाई माया गर्ने खालका पनि रहेछन् ।

त्यसैले होला सुवेदीलाई उनको कलेजका प्रिन्सिपलले अतिरिक्त सुविधा उपलब्ध गराएका थिए । त्यसका साथसाथै सुवेदी परिवारले अक्सफोर्डको लोकल काउन्सिलबाट सानो जग्गा पनि आफ्नो सागपात आफैंले उमार्ने गरी भाडामा पनि पाएका थिए । सुवेदी आफ्नो सप्ताहन्तमा उक्त जग्गामा काम गर्न जाँदा छिमेकीहरुले उत्साहका साथ सहयोग गर्थे र आफूले उत्पादन गरेका सागसब्जी सुवेदीलाई उपहारका रुपमा दिन्थे । त्यसरी सुवेदी परिवारको खर्च धान्न यसले मद्दत गरेको थियो ।

सुवेदीको शोधपत्रको विषयवस्तु

सुवेदीको शोधपत्रको विषयवस्तु संसारमा निःशस्त्रीकरण कसरी गर्न सकिन्छ, तत्कालको शीतयुद्धले जन्माएको दुई महाशक्तिबीचको होडबाट साना राष्ट्रहरुलाई कसरी सुरक्षित राख्न सकिन्छ र अन्तरराष्ट्रिय कानूनले त्यसमा के भूमिका खेल्न सक्छ भन्नेमा केन्द्रित थियो । नेपालका राजा वीरेन्द्रले गरेको नेपाललाई शान्तिक्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव र संसारका अन्य ७ वटा स्थलगत, सामुद्रिक र भौगोलिक क्षेत्रलाई शान्तिक्षेत्र घोषणा गर्न गरिएका प्रस्तावहरुको अन्तरराष्ट्रिय कानूनमा कस्तो स्थान रहन्छ भन्नेमा केन्द्रित थियो । यो शोधग्रन्थ तयार गर्ने क्रममा सुवेदीले जेनेभा र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको सङ्ग्रहालयमा राखिएका अभिलेखहरु अध्ययन गर्न जाने मौका पनि पाएका थिए ।

यसरी ऐतिहासिक अभिलेखहरुको समेत मूल्यांकन गरी अन्तरराष्ट्रिय कानूनमा शान्तिक्षेत्रको अवधारणा विकसित गर्ने श्रेय सुवेदीले पाएका थिए । त्यही योगदानको मूल्यांकन गर्दै अक्सफोर्ड विश्वविद्यालयले सुवेदीलाई सन् १९९३ को ‘दास्तुर जादा पाभ्री मेमोरियल पुरस्कार’ प्रदान गरेको थियो । यसबाट उत्साहित भएर सुवेदीले आफ्नो शोधग्रन्थलाई आवश्यक परिमार्जनसहित प्रकाशनार्थ अक्सफोर्ड विश्वविद्यालय प्रेसमा प्रस्तुत गरे र सन् १९९७ मा त्यो ग्रन्थ प्रकाशित भयो । सुवेदीले अक्सफोर्डमा अध्ययन समापन गरेको झण्डै २० वर्षपछि सन् २०१६ मा अक्सफोर्डमा प्रत्येक वर्ष आगन्तुक प्राध्यापकको रुपमा काम गर्न निमन्त्रणा दियो । त्यस क्रमलाई सुवेदीले अहिलेसम्म निरन्तरता दिइरहेका छन् ।

प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि – अक्सफोर्डको महाविद्यावारिधि

अक्सफोर्डबाट विद्यावारिधि गरेपछि सुवेदीले बेलायत, अमेरिका, नेदरल्याण्ड्स र स्वीडेन लगायत देशका सातवटा विश्वविद्यालयमा प्राध्यापन गरेपछि र अन्तरराष्ट्रिय कानूनका विभिन्न विधामा १० वटा ग्रन्थ र झण्डै ६० वटा अनुसन्धनात्मक लेख प्रकाशन गरिसकेपछि उनलाई अक्सफोर्डको महाविद्यावारिधिका लागि प्रतिस्पर्धामा भाग लिने विचार आयो ।

अक्सफोर्डको महाविद्यावारिधि प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि मानिन्छ । त्यो उपाधि प्राप्त गर्न धेरै उच्च तहका प्रावधान पूरा गर्नुपर्छ । जसमध्ये सम्बन्धित व्यक्तिले प्रकाशन गरेका ग्रन्थहरु मौलिक हुनुपर्ने, ती ग्रन्थहरु संसारभरि पढिएको हुनुपर्ने, ती ग्रन्थले नीति निर्माणमा महङ्खवपूर्ण भूमिका खेलेको हुनुपर्ने र ती ग्रन्थले सम्बन्धित विधाको विभिन्न क्षेत्र समेटेको हुनुपर्ने र प्रकाशनहरु उच्चकोटी र यथेष्ट संख्यामा हुनुपर्ने अक्सफोर्ड विश्वविद्यालयको नियम छ ।

सुवेदीले आफूले प्रकाशित गरेका सबै ग्रन्थहरु र ती ग्रन्थले अक्सफोर्डका प्रावधान कसरी पूरा गर्छन् भन्ने विस्तृत व्याख्यासहितको दस्तावेज प्रस्तुत गरेका थिए । उनका ग्रन्थहरुलाई मूल्यांकन गर्न अक्सफोर्ड विश्वविद्यालयले एक उच्चस्तरीय समिति गठन गरेको थियो । त्यो समितिले झण्डै एक वर्ष लगाएर सुवेदीका ग्रन्थहरु अध्ययन गरेपछि सुवेदी अक्सफोर्डको महाविद्यावारिधिका लागि योग्य व्यक्ति हुन् भन्ने निर्णयमा समिति पुग्यो । त्यस समितिले दिएको प्रतिवेदन आफैंमा एउटा लामो दस्तावेज थियो । जसमा सुवेदीका ग्रन्थहरुको समीक्षा गरिएको थियो । यसरी अक्सफोर्डबाट महाविद्यावारिधि पाउने बिरलै व्यक्तित्वभित्र सुवेदी समावेश हुन पुगे ।

अक्सफोर्ड विश्वविद्यालयले उनलाई महाविद्यावारिधिको घोषणा गर्दा सुवेदी आफ्नो लण्डनको घरमा आफ्ना मातापिताको सम्मान र सम्झनामा श्रीमद् भागवत लगाइरहेका थिए । त्यो खबरले यज्ञमा उपस्थित सबैमा खुशी सञ्चार भएको थियो । यसैगरी नेपाल, अक्सफोर्डमा सुवेदीले प्राध्यापन गर्ने विश्वविद्यालय र उनले कानूनी पेशा गर्ने लण्डनको ब्यारिस्टरको संस्थामा प्रमुख खबरको रुपमा स्थान पाएको थियो ।

फागुन १, २०७७ शनिबारको गोरखापत्रमा प्रकाशित एक लेखमा प्रा. सुवेदीले यस्तो उपाधि पाउँदा गरेको अनुभूति यसरी व्यक्त गरेका थिए। यसलाई हामीले जस्ताको तस्तै उद्धरण गरेका छौं ।

म ज्ञानको खोजी, ज्ञानको सिर्जना, ज्ञानको विस्तार र आर्जन गरेको ज्ञान ‘सर्वजन हिताय र सर्वजन सुखाय’का लागि उपयोगमा ल्याउने क्रममा जहाँ पुगेको छु, त्यो यात्रा तय गरेको नेपाली माटोको प्रेरणाकै आधारमा हो । ज्ञानको पहाड चढेर कहिल्यै सकिन्न । ज्ञानको भण्डार भनेको नेपालको पहाडी शृङ्खलाजस्तै हो । एउटा पहाड चढ्यो अनि चढिसकेपछि अर्को ठूलो पहाड देखिन्छ र त्यो पनि चढ्न मन लाग्छ । यसरी ज्ञानको यात्रा सुखमय र अनन्त बन्छ । मैले अक्सफोर्ड विश्वविद्यालयबाट उत्कृष्ट शोधपत्रबापतको पुरस्कारसहित विद्यावारिधिको उपाधि लिँदा मलाई खड्किएको कुरा यो थियो कि मैले जान्नुपर्ने र सिक्नुपर्ने कुरा अझै धेरै रहेछन् र विद्यावारिधि गर्ने भनेको त्यो यात्राको प्रस्थानबिन्दु मात्र रहेछ ।

मैले गरेको ज्ञानको सिर्जना र विस्तारलाई कदर गर्दै विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले मलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गर्ने निर्णय गरयो । यस्तो उपाधि अक्सफोर्डले बिरलै र आफ्ना प्रकाशित कृतिद्वारा असाधारण प्रकृतिको योगदान दिने प्राध्यापक वा स्रष्टालाई मात्र प्रदान गर्छ । नेपालबाट उठेर ज्ञानको खोजीमा झण्डै ३० वर्षअघि पाश्चात्य मुलुकतर्फ कदम चालेको एउटा नेपालीले यस्तो उपाधि पाउँदा हर्षित र गौरवान्वित हुनु स्वाभाविकै थियो ।

हुन पनि राजनीतिमा लागेकाहरुका लागि मन्त्री वा प्रधानमन्त्री हुनु सफलताको उत्कर्ष र कूटनीतिक सेवामा काम गर्नेका लागि राजदूत हुनु ठूलो उपलब्धि मानिन्छ । त्यसैगरी प्राज्ञिक क्षेत्रमा लागेका हामीजस्ता व्यक्तिलाई प्रतिष्ठित विश्वविद्यालयमा पूर्ण प्राध्यापक बन्नु सफलता हो र महाविद्यावारिधिजस्तो उपाधि पाउनु सफलताको उत्कर्ष हो ।

अक्सफोर्डले कसैलाई यस्तो उपाधि प्रदान गर्नुअघि त्यो व्यक्तिले संसारको ज्ञान भण्डारलाई विस्तार गर्न कति ठूलो योगदान गरेको छ भन्ने मूल्यांकन गर्छ । त्यस्तो मूल्यांकनको क्रममा मैले आफ्नो ४६ पृष्ठको बायोडाटा (व्यक्तिगत विवरण), १२ पृष्ठ लामो आफ्नो प्रकाशनको सूची र आफ्ना राष्ट्रिय र अन्तरराष्ट्रियस्तरका प्रकाशन गृहले प्रकाशित गरेका ग्रन्थ र उच्चस्तरका जर्नलमा प्रकाशित कृतिको दुई बाकस पेश गरेको थिएँ ।

वरिष्ठ प्राध्यापकहरु समावेश हुने मूल्यांकन समितिले निकै समय लगाएर मेरा कृतिहरु अध्ययन गरी मैले अन्तरराष्ट्रिय कानूनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको हुनाले महाविद्यावारिधि प्रदान गर्न योग्य व्यक्ति भनी विश्वविद्यालयलाई सिफारिस गरयो । त्यसपछि अक्सफोर्डको उच्चस्तरीय समितिले ती सिफारिसउपर विचार–विमर्श गरी मलाई उक्त उपाधि प्रदान गर्ने निर्णय गरयो ।

सुखद संयोग यस्तो परयो कि त्यो खबर आउँदा म मेरा स्वर्गीय पिताजीको शतवार्षिकीको सन्दर्भमा मातापिताको सम्मान र स्मृतिमा लण्डनको मेरो घरमा श्रीमद् भागवत महापुराणको यज्ञ गर्दै थिएँ । मेरो यो उपाधिले मातापिताका लागि एउटा सच्चा श्रद्धासुमन अर्पण गर्ने प्रतीकका रुपमा काम गरयो । आफ्नो जिन्दगी धर्म र संस्कृतिको संरक्षण र शिक्षाको ज्योति बाल्न समर्पण गर्नुभएका मेरा पिताजीका लागि मेरो यो उपाधि एउटा उपयुक्त श्रद्धाञ्जलि थियो । मेरो घर नर्दन हाइट्स भनेर चिनिने लण्डनको सबैभन्दा अग्लो ठाउँ हाइ बार्नेटमा छ ।

लण्डनको यस्तो डाँडाको टुप्पाबाट प्रत्येक दिन शंखनाद र गाना बजान गरेर सप्ताह गरियो र कोसौं परका छिमेकीले शंखनाद सुने होलान् । कसैले कतै गुनासो गर्छन् कि भन्ने लागेको थियो तर बेलायतजस्तो सहिष्णु समाजमा त्यस्तो केही भएन । बरु केही छिमेकी सहभागी हुन आए र अरु केहीले पछि भेट हुँदा तिमीहरुको घरबाट आठ दिनसम्म अनौठो तर मीठो आवाज आएको थियो, त्यो के थियो ? भनेर सोधे । मैले हिन्दू धार्मिक यज्ञको आवाज हो भनें । एउटा लब्धप्रतिष्ठित पण्डितको छोरो भए पनि मैले राम्रो पण्डितबाट एकाग्र भएर श्रीमद् भागवत श्रवण गरेको थिइनँ र त्यो गर्ने धेरै रहर थियो ।

त्यसैले होला, पूर्वाङ्गको एक दिन र सप्ताहका सात दिन बितेको पत्तै भएन । भगवान्को स्तुतिका श्रीमद् भागवतका सुन्दर गाथा अत्यन्तै मनमोहक रहेछन् । म आफैं र दाजुहरु पनि संस्कृतमा पाठ गर्न सक्ने भएकाले वाचक र उपवाचक पण्डितहरु सँगसँगै कतिपय सुन्दर गाथाहरु वाचन गरेको हुनाले मेरो घर र लण्डनको छरछिमेक नै गुञ्जायमान भएको थियो । त्यतिमात्र नभएर, सप्ताह सकिएको एक महिनासम्म भगवान्का स्तुतिका श्लोक मेरो दिमागमा गुञ्जिरहे ।

श्रीमद् भागवतको एकपटक राम्रोसँग रसास्वादन गरेपछि फेरि–फेरि गर्न मन लाग्ने रहेछ । मिठासपूर्ण र छन्दोबद्ध तरिकाले महर्षि वेदव्यासले रचना गरेको श्रीमद् भागवत महापुराण भक्ति, ज्ञान र वैराग्यले भरिपूर्ण ग्रन्थ रहेछ । श्रीमद् भागवत श्रवणले अहंकार, कुण्ठा र राग टाढा जाने रहेछन् र यही पृथ्वीमै स्वर्गको अनुभूति हुने रहेछ । त्यसैले होला, मेरा पिताजीले जिन्दगीको प्रत्येक दिन बिहान श्रीमद् भागवतको कम्तीमा एउटा अध्याय पाठ गरेर दिनचर्या शुरु गर्नुहुन्थ्यो र उहाँ सन्त बन्नुभएको थियो । श्रीमद् भागवत श्रवण गरिसकेपछि मानिस शान्त र सात्विक बन्ने रहेछ र एक किसिमको निर्वाण प्राप्त हुने रहेछ ।

सप्ताहकै क्रममा अक्सफोर्डबाट महाविद्यावारिधि गरेको खबर आएपछि सबैमा यसले थप खुशी सञ्चार गराएको थियो । बेलायत विद्याको खानी हो, यहाँ विद्वत्ताको कदर हुन्छ । प्राज्ञिक र शैक्षिक क्षेत्रमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन । राजनीतिक भागबण्डाको त कुरै पर छाडौं । बेलायत प्राध्यापकलाई सम्मान गर्ने र प्रतिभाको कदर गर्ने मुलुक हो । त्यसो भएर नै म एउटा नेपालीलाई बेलायतका परराष्ट्रमन्त्रीले सल्लाहकार नियुक्त गरेका थिए । यहाँ प्राज्ञिक क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा हुन्छ । त्यसो भएर नै म एउटा नेपालीले संयुक्त अधिराज्य (बेलायत) की महारानीबाट ओबीई र क्यूसीजस्ता प्रतिष्ठित मानसम्मान आर्जन गर्न सकें र अहिले अक्सफोर्डले महाविद्यावारिधिबाट सम्मान गरयो ।

खुशीको कुरा, अक्सफोर्डले मलाई महाविद्यावारिधि प्रदान प्रदान गरेको खबर सञ्चारमाध्यममा आएपछि मलाई बधाई सन्देश पठाउनेमध्ये धेरै आफ्नो देशलाई केही गरौं भन्ने सोच बोकेका नेपाली युवायुवती थिए । उनीहरुले मलाई तपाईंले संसारमा जुन उचाइ लिनुभएको छ, त्यसले हामीलाई प्रेरणा र उत्साहको ऊर्जा मिलेको छ भनेका थिए । त्यसले मलाई मेरो महाविद्यावारिधिबाट थप सन्तोषको अनुभूति प्रदान गरयो । ‘वसुधैव कुटुम्बकम्’ र ‘पण्डिताः समदर्शिन’मा विश्वास गर्ने व्यक्ति भएकाले मलाई संसार नै आफ्नै हो जस्तो लाग्छ । हुन पनि विद्या आर्जनका लागि मेरा छात्रछात्रा संसारभरिबाट आएका हुन्छन् । मेरो शरीर नेपाली हो भने आत्मा ग्लोबल (विश्व) हो र मेरो काम संसारको भलो हुनेगरी कलम चलाउनु हो ।

मैले मेरो जिन्दगीको आधा समय पाश्चात्य मुलुकको प्राज्ञिक क्षेत्रमा बिताएको छु । त्यसो भनेर मैले आफ्नो ज्ञान नेपालमा लगानी नगरेको भन्ने होइन । ज्ञान सिर्जना गर्ने र त्यसको विस्तार गर्ने भनेको सबै मानव जातिका लागि हो । विधिको शासन, मानवअधिकारको सम्मान, सुशासन, न्याय र शान्तिका लागि मैले जे कृति प्रकाशन गरेको छु, त्यसबाट संसारका सबै लाभान्वित भएका छन् भन्ने लागेको छ । उदाहरणका लागि मेरो एउटा ग्रन्थ चिनियाँ भाषामा अनूदित भई चीनका धेरै विश्वविद्यालयको पाठ्यसामग्रीमा समावेश छ । सम्भवतः चिनियाँ भाषामा प्रकाशित मेरो कृतिका कारणले होला विश्वमा उदीयमान शक्ति राष्ट्र चीनले मलाई अन्य राष्ट्रसँगको अन्तरराष्ट्रिय व्यापार र लगानी कानूनसम्बन्धी विवाद हेर्ने मध्यस्थता आयोगको सदस्य नियुक्त गरेको छ ।

राष्ट्रिय कानून होस् वा अन्तरराष्ट्रिय कानून, ती सामान्यतया शक्तिशाली वा धनी वा सक्षम व्यक्तिहरु र राष्ट्रहरुले आफ्नो हितमा र अरुलाई नियमन गर्न बनाइएका हुन्छन् । त्यसैले कानून आफैंमा न्यायपूर्ण छ वा छैन भनेर हेर्नुपर्ने हुन्छ र त्यो काम प्राज्ञहरुको हो । मैले अन्तरराष्ट्रियस्तरमा उपयोगी हुने कृतिका साथसाथै नेपालको अन्तरराष्ट्रिय जगत् र खासगरी परराष्ट्र मामलाका प्रायः सबै विषयका अन्तरराष्ट्रिय कानूनी पक्षमा अध्ययन अनुसन्धान गरी विश्वस्तरका कृति प्रकाशित गरेको छु ।

त्यसको साथै अन्तरराष्ट्रिय निकायमा नेपालजस्ता अल्पविकसित मुलुकको हितमा अन्तरराष्ट्रिय कानून कसरी उपयोगमा ल्याउन सकिन्छ भनेर प्रयास गरेको छु । अन्तरराष्ट्रिय कानून निर्माणमा प्रभावशाली भूमिका राख्ने एक उच्चस्तरीय अन्तरराष्ट्रिय कानूनी संस्थाको आजीवन सदस्यका रुपमा निर्वाचित भएपछि मैले आफ्नो प्रयास त्यो निकायमार्फत पनि जारी राखेको छु ।

अक्सफोर्डको भव्य समारोहमा महाविद्यावारिधि ग्रहण गर्दाको अनुभव

कोभिड महामारीका कारण तीन वर्षसम्म दीक्षान्त समारोह स्थगित भएका कारणले प्रा. सुवेदीको महाविद्यावारिधि ग्रहण गर्ने पालो ३ वर्षपछि मात्र आयो। अक्सफोर्ड विश्वविद्यालय अंग्रेजी भाषी देशमा रहेमध्ये सबैभन्दा पुरानो विश्वविद्यालय हो । यसको झण्डै ८ सय वर्ष पुरानो इतिहास छ । बेलायतका सबैभन्दा बढी प्रधानमन्त्री उत्पादन गरेको विश्वविद्यालय पनि हो यो । यस विश्वविद्यालयमा अध्ययन गरेका थुप्रै मानिस राष्ट्रप्रमुख र सरकार प्रमुख भएका छन् ।

अहिले पनि अक्सफोर्ड विश्वविद्यालय संसारकै सर्वोत्कृष्ट शैक्षिक संस्थामा पंक्तिबद्ध छ । यो सबैभन्दा ठूलो विश्वविद्यालय नभए पनि ऐतिहासिक र शैक्षिक गुणस्तरको हिसाबले सर्वोत्कृष्ट मानिन्छ । यसका प्रमुख कारणमध्ये एउटा त शैक्षिक वातावरण, दोस्रो ट्यूटोरियल सिस्टम (अधिकांश वान टु वान ट्यूटोरियल), आगन्तुक प्राध्यापकहरुको स्तर, पुस्तकालय र अन्य शैक्षिक सामग्रीको पर्याप्त उपलब्धता आदि हुन् ।

प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले पनि आफ्नो विद्यावारिधिको अन्तिम वर्ष वान टु वान ट्यूटोरियल प्रशिक्षण गरेका थिए । कुनै पनि विद्यार्थीले एउटा प्रोफेसरको एक घण्टा लामो समय आफ्ना लागि मात्र पाउनु असाधारण हो । त्यसैले अक्सफोर्डमा जाने विद्यार्थीहरुले आफूलाई चिन्तकको रुपमा विकास गर्ने अवसर पाउँछन् । त्यसका साथै अक्सफोर्डले संसारभरिबाट विशिष्ट विद्वान्हरुलाई आगन्तुक प्राध्यापकको रुपमा प्रवचन दिन बोलाइरहन्छ ।

यसै कारणले अक्सफोर्डका विद्यार्थीहरुले संसारका उत्कृष्ट प्राध्यापकहरुसँग अन्तरसंवाद गर्ने मौका पाउँछन् । अक्सफोर्डमा भर्ना हुनकै लागि विद्यार्थीहरुको उच्चतम ग्रेड हुनुपर्छ र भर्ना भइसकेपछि उच्च कोटीको शिक्षा पाउने हुनाले अक्सफोर्डका विद्यार्थीहरु विभिन्न क्षेत्रमा सफल हुन पुग्छन् । त्यो सबैको समष्टिगत प्रभावका कारण अक्सफोर्डले आफ्नो श्रेष्ठता कायम राख्दै आएको छ।

अक्सफोर्ड विश्वविद्यालय संघीय प्रणालीमा आधारित शिक्षण संस्था हो जसमा झण्डै ४० वटा कलेज आबद्ध छन् । अक्सफोर्डको प्रत्येक विद्यार्थी एउटा कलेजको सदस्य हुन्छ र त्यो कलेजले ट्यूटोरियल व्यवस्था गरेको हुन्छ । कलेजले प्रदान गर्ने ट्यूटोरियलको शिक्षा र विश्वविद्यालयले प्रदान गर्ने लेक्चरका कारणले विद्यार्थीहरुले धेरै सिक्ने मौका पाउँछन् ।

यही विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले सन् २०२२ को सेप्टेम्बर दोस्रो साता अन्तरराष्ट्रिय कानूनका ज्ञाता प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गरयो । त्यो भव्य दीक्षान्त समारोह प्राचीन शेल्दोनिअन थिएटरमा भएको थियो । यस्तो दीक्षान्त समारोह गर्ने परम्परा १२ औं शताब्दीदेखि चल्दै आएको छ र अझै पनि उही प्राचीन परम्परामा दीक्षान्त समारोह सञ्चालन गरिन्छ । दीक्षान्त समारोह प्राचीन ल्याटिन भाषामा गर्ने प्रचलन छ।

शेल्दोनिअन थिएटर पनि झण्डै ६ सय वर्ष पुरानो भवन हो । त्यही थिएटरमा ३५० वर्षदेखि दीक्षान्त समारोह हुँदै आएको छ । यो थिएटर बेलायतका प्रसिद्ध कलाकार क्रिष्टोफर रेनले बनाएका थिए जो आफैं विश्वविद्यालयमा खगोल शास्त्रका प्राध्यापक थिए । उक्त ऐतिहासिक थिएटरमा आयोजित एक भव्य दीक्षान्त समारोहमा अक्सफोर्डको कानून संकायकी डीन प्राध्यापक आन डेभिसले सुवेदीलाई प्रस्तुत गरेकी थिइन् भने अक्सफोर्डकी उपकुलपतिले महाविद्यावारिधिको उपाधि प्रदान गरेकी थिइन् । महाविद्यावारिधि बिरलै प्रदान गरिने अक्सफोर्डको उपाधि हो र आफ्नो साधनाको क्षेत्रमा असाधारण योगदान गरेको व्यक्तिलाई मात्र यो उपाधि प्रदान गरिन्छ । ५, ७ वर्षमा एकाध व्यक्तिलाई मात्र यस्तो उपाधि प्रदान गरिंदै आएको छ ।

दीक्षान्त समारोहमा दीक्षित हुने व्यक्तिले हल प्रवेश गर्दा आफूले पहिला पाएको शैक्षिक उपाधिको गाउन लगाएर प्रवेश गर्नुपर्छ र दीक्षान्त समारोहमा नयाँ उपाधि लिएपछि थिएटर बाहिर निस्किएर अक्सफोर्डको डिभिनिटी स्कूलमा गएर आफ्नो नयाँ योग्यता बमोजिमको गाउन लगाई फेरि थिएटरमा प्रवेश गर्नुपर्छ । त्यसरी प्रवेश गर्दा महाविद्यावारिधि प्राप्त व्यक्तिलाई थिएटरका सम्पूर्ण व्यक्तिले करतल ध्वननिका साथ स्वागत गर्दै बधाई दिन्छन् । त्यो नै समारोहको सबैभन्दा मनमोहक र गर्व गर्न लायक क्षण हो ।

यसकारण प्राध्यापक सुवेदीले थिएटरमा पहिलोपटक प्रवेश गर्दा आफ्नो साविकको विद्यावारिधिको गाउन लगाएर प्रवेश गरे र महाविद्यावारिधिको उपाधि प्राप्त गरिसकेपछि डिभिनिटी स्कूल पुगी महाविद्यावारिधिको गाउन धारण गरी पुनः थिएटरमा प्रवेश गरेका थिए । थिएटर प्रवेश गर्ने क्रममा उनले नेपाली माटो र आफ्ना मातापितालाई सम्झिएको र अनुगृहीत भएको बताए । अन्तरराष्ट्रिय स्तरमा १२ वटा ग्रन्थ र पाँच दर्जन बढी अनुसन्धानात्मक प्राज्ञिक लेख संसारका विशिष्ट जर्नलहरुमा प्रकाशित गरेका सुवेदीले आफ्नो योगदानलाई अक्सफोर्डले सम्मान गरेकोमा गौरवान्वित भएको बताए ।

झण्डै डेढ घण्टाको शेल्डोनियन थिएटरको समारोह सकिएपछि प्राध्यापक सुवेदी त्यो दिनको दोस्रो कार्यक्रम हुने स्थल आफ्नो कलेज एक्सेटरमा प्रवेश गरे जहाँ उनलाई कलेजका प्राचार्य सर रिक ट्रेनरले स्वागत गरे । कलेजभित्र प्रवेश गरेपछि कलेजका प्राचार्यले समारोहमा सहभागीहरुलाई सम्बोधन गर्दै प्रा. सुवेदीले अन्तरराष्ट्रिय कानून र मानवअधिकारको क्षेत्रमा दिएको असाधारण योगदानको चर्चा गरे । त्यस क्रममा उनले प्राध्यापक सुवेदीका प्रकाशित ग्रन्थहरु र अन्य विभिन्न रुपमा संसारलाई दिएको योगदानको प्रशंसा गरे ।

त्यसपछि प्रा. सुवेदीले प्रत्युत्तर सम्बोधनका क्रममा आफू अक्सफोर्ड विश्वविद्यालय र एक्सेटर कलेजप्रति आभारी भएको बताए । प्रा. सुवेदीले मन्तव्यका क्रममा उनले सधैं संसारमा कानून बमोजिमको शासन कसरी प्रवर्धन गर्न सकिन्छ, मानवअधिकार र लोकतन्त्रको अझ बढी संस्थागत विकास कसरी गर्न सकिन्छ र संसारका मुलुकहरुबीचको सम्बन्ध कसरी न्यायपूर्ण रुपले विकास गर्न सकिन्छ भन्ने विषयमा आफूले जिन्दगीभर कलम चलाएको र त्यस्तो योगदानको कदर गर्दै अक्सफोर्डले महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि प्रदान गरेकोमा आफू गौरवान्वित र हर्षित भएको बताए । उक्त अवसरमा प्राचार्य ट्रेनरले प्राध्यापक सुवेदीको सम्मानमा दिवाभोज पनि आयोजना गरेका थिए ।

प्राध्यापक सुवेदीले अध्ययन गरेको एक्सेटर कलेज अक्सफोर्डका कलेजहरुमध्ये चौथो पुरानो हो, जुन १४ औं शताब्दीमा स्थापना भएको थियो । त्यही कलेजको एउटा कक्षमा प्राध्यापक सुवेदीको दीक्षान्त समारोहको दोस्रो भाग सम्पन्न भएको थियो । त्यस अवसरमा प्रा. सुवेदीको परिवार, उनका केही सहपाठी, बेलायतको कूटनीतिक क्षेत्रका व्यक्तित्व, संयुक्त राष्ट्रसंघको कानून आयोगका सदस्य लगायत निकट मित्रहरुको उपस्थिति थियो ।

रोचक प्रसंग के भयो भने प्रा. सुवेदीलाई अध्यापन गरेका ८० वर्ष काटिसकेका बेलायतका वरिष्ठ प्राध्यापकको रुपमा चिनिने सर आदम रोबर्टस् झुलुक्क आइपुगे । उनको आगमनपछि प्रा. सुवेदीले उनलाई गर्वका साथ स्वागत गरे र आफ्नो कृतज्ञता व्यक्त गरे । एक्सेटर कलेजको समारोह पनि स्मरणीय घटना बन्न पुगेको सुवेदी बताउँछन् ।

लमजुङको विकट गाउँमा जन्मिएर पनि संसारको सर्वोत्कृष्ट विश्वविद्यालयको सर्वोच्च प्राज्ञिक उपाधि प्राप्त गर्ने प्राध्यापक सुवेदी राणा प्रधानमन्त्री चन्द्र समशेरपछिका पहिलो नेपाली हुन् । राणा प्रधानमन्त्री चन्द्र समशेरलाई झण्डै ११४ वर्षअघि सन् १९०८ मा उनको बेलायतको राजकीय भ्रमणको समयमा नेपाल र बेलायतको सम्बन्ध विस्तार गर्न दिएको योगदानको कदर गर्दै अक्सफोर्डले मानार्थ महाविद्यावारिधि प्रदान गरेको थियो । एक चतुर राणा प्रधानमन्त्रीका रुपमा परिचित चन्द्रशमशेरले महाविद्यावारिधि उपाधि प्राप्त गर्नुलाई बेलायतको आफ्नो राजकीय भ्रमणको प्रमुख उपलब्धि मानेका थिए । उनले औपनिवेशिक भारतमा भाइ सराय भइसकेर पछि अक्सफोर्डको कुलपति हुन पुगेका लर्ड कर्जनको हातबाट उक्त उपाधि लिएका थिए ।

प्राध्यापक सुवेदीले अक्सफोर्डबाट महाविद्यावारिधि पाएको खबर नेपालका विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका थिए । उक्त समाचार दुई लाखभन्दा बढी मानिसले शेयर गरेको तथ्यांक देखेर प्राध्यापक सुवेदीले प्रसन्नता व्यक्त गरे । किनकि सामाजिक सञ्जालमा समाचार लिंक शेयर गर्ने प्रायः अहिलेका युवायुवती हुन् भन्ने उनको विश्वास छ । नेपाली नयाँ पुस्तालाई ऊर्जा र हौसला मिलोस् भन्ने प्राध्यापक सुवेदीको जिन्दगीभरको अथक मेहनत सार्थक भएकोमा दंग छन् उनी ।

अक्सफोर्डमा प्रा. सुवेदीको नाममा पुरस्कार स्थापना

प्राध्यापक सुवेदीका लागि अर्को गर्वको विषय उनलाई महाविद्यावारिधि उपाधि प्रदान गर्ने घोषणा गरेको दुई वर्षपछि अक्सफोर्ड विश्वविद्यालयले प्रा. सुवेदीको नाममा प्रत्येक वर्ष कानूनमा विद्यावारिधिको उत्कृष्ट शोधग्रन्थ प्रस्तुत गर्ने मेधावी विद्यार्थीलाई प्रदान गरिने वार्षिक पुरस्कार पनि स्थापना गरेको थियो । उनको व्यक्तित्व र योगदानको कदर गर्दै अक्सफोर्ड विश्वविद्यालयले सन् २०२० मा सुवेदीको नाममा एउटा प्रतिष्ठित पुरस्कार स्थापना गरेको हो ।

अक्सफोर्डमा भारतका पूर्व राष्ट्रपति, बंगलादेशका पूर्व प्रधानमन्त्री, पाकिस्तानका पूर्व प्रधानमन्त्री जस्ता अक्सफोर्डबाट दीक्षित र शिक्षित व्यक्तिहरुको नाममा पुरस्कार र छात्रवृत्ति स्थापना गरिए पनि नेपालीको नाममा अक्सफोर्डमा पुरस्कार स्थापना गरिएको यो पहिलो अवसर थियो । यो खबरले बेलायत र नेपाल दुवै देशमा खुशीको सञ्चार ल्याएको थियो ।

यसैले महाविद्यावारिधि र पुरस्कारको स्थापना दुवै प्राध्यापक सुवेदीका लागि मात्र नभई नेपालकै लागि एक अविस्मरणीय ऐतिहासिक घटना थिए । प्राध्यापक सुवेदीलाई अक्सफोर्डले एक किसिमको बौद्धिक अमरत्व प्रदान गरेको छ । किनकि उनको नाममा स्थापित पुरस्कार सुवेदी यो लोकबाट बिदा भएपछि पनि अक्सफोर्डले प्रत्येक वर्ष प्रदान गरिरहनेछ । अहिलेसम्म दुई मेधावीले उक्त पुरस्कार प्राप्त गरिसकेका छन् ।

सुवेदी परिवारमा अक्सफोर्डको प्रभाव

सुवेदीले अक्सफोर्डमा अध्ययन गर्दा संसार धेरै राजनीतिक उथलपुथलबाट गुज्रिरहेको थियो । त्यही समयमा पूर्व सोभियत संघ विलय भएको थियो र बर्लिन पर्खाल भत्किएको थियो । यूरोपमा कम्युनिजमको अन्त्य र पहिलो खाडी युद्ध भएको थियो । यस्ता प्रत्येक घटना सुवेदी जस्ता अन्तरराष्ट्रिय कानूनका विद्यार्थीका लागि रोचक र महत्वपूर्ण थिए। यी सबै घटनाक्रमले अन्तरराष्ट्रिय कानून र अन्तरराष्ट्रिय सम्बन्धलाई कसरी असर पर्छ भन्ने सम्बन्धमा अक्सफोर्डमा धेरै प्रकारका सभा समारोह र छलफल हुन्थे र ती सबैमा सुवेदी सक्रिय रुपमा सहभागी हुने गर्थे ।

यसैले अक्सफोर्डको अध्ययन समाप्त गर्दा सूर्य एउटा आत्मविश्वासका साथ संसारलाई आफ्नो योगदान दिन अग्रसर व्यक्तिका रुपमा उदाएका थिए । अक्सफोर्डले उनको जिन्दगीमा मात्र नभएर उनको परिवारमै ठूलो छाप छोडेको छ । उनका दुवै सन्तान अक्सफोर्डमै जन्मिएका थिए र उनकी छोरी अनिताले पछि गएर कानून अध्ययन गर्न अक्सफोर्डमै जाने मौका पाएकी थिइन् ।

उनका छोरा प्रणयले अक्सफोर्डको यस्तै प्रेरणाले अहिले सफल लगानी विज्ञका रुपमा अमेरिकाको एउटा ठूलो अन्तरराष्ट्रिय कम्पनीमा काम गर्दै छन् । अक्सफोर्डले बसाएको यही जगको आधारमा सुवेदीले नेपाल, बेलायत, कम्बोडिया र संसारलाई नै ठूलो बौद्धिक योगदान दिन सकेका छन् ।

(‘प्रा. सूर्य सुवेदी: महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’ नामक बायोग्राफीको अध्याय ३ बाट लिइएको अंश । लन्डनमा रहेका पत्रकारद्वय भगीरथ योगी र नवीन पोखरेलको लेखन/सम्पादन रहेको उक्त बायोग्राफी हालै बजारमा आएको छ)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू