लन्डन बिस्का जात्रा तयारी अन्तिम चरणमा (भिडियो)


लन्डन- नेपाली नयाँ वर्षकै दिन यही अप्रिल १३ तारिख शनिबार पासा पुचः गुथि यूकेको आयोजनामा हुन लागेको दोस्रो लन्डन बिस्का जात्रा तयारी यतिबेला अन्तिम चरणमा पुगेको छ।
जात्राका लागि बेलायतमै निर्माण भइरहेका रथहरु पनि अब करिब सम्पन्न हुने चरणमा पुगिसकेका छन्।
पासा पुचः गुथि यूकेको साउथ इष्ट शाखाले भैरवनाथ र लन्डन शाखाले भद्रकालीका रथ बनाइरहेका छन् भने अल्डरसट शाखाले योसिंद्यो निर्माण गर्दैछ ।
गुथिका सदस्यहरु विगत दुई सातादेखि दैनिक रुपमा रथ निर्माणमा खटिंदै आएका छन् ।
जात्राको दिन नजिकिंदै गर्दा अन्य तयारीहरु पनि अब लगभग पूरा हुने चरणमा छन्। जात्रामा बेलायतमै पहिलोपटक लाइभ ढाः बाजामा भैरव नृत्य गराइने तयारी छ भने पशुपतिनाथ मन्दिर प्लमस्टिडको टीमबाट भजनकिर्तन पनि हुनेछ।
त्यस्तै, नेपाली तथा नेवारी खानाका स्टलहरुका साथै नेवा कला, संस्कृति झल्काउने आर्ट एण्ड कल्चरल हेरिटेज फोटो प्रदर्शनी गरिने योजना छ।
आयोजकले शुरुमा अपेक्षा गरेभन्दा पनि झन बढी सहभागी हुने लक्षण देखिएपछि सोहिअनुसार व्यवस्थापन र तयारी झन् व्यापक बनाइएको छ।
लन्डन बिस्का जात्रामा आयोजक पासा पुचः गुथि यूकेले बेलायतवासी सबै नेपालीहरुको उत्साहजनक सहभागिता रहने अपेक्षा गरेको छ।
गुथिका पदाधिकारीहरुले आयोजक नेवा समुदाय रहेपनि जात्रा सबैको साझा रहेको भन्दै सहभागी हुन बेलायतस्थित सिंगो नेपाली समुदायलाई अपील गरेका छन्।
हेरौं भिडियो:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५