हेल्प नेपाल बालगृह सहयोगार्थ वुलवीचमा सांगीतिक कार्यक्रम हुँदै


लन्डन – धुलिखेलमा संचालन भइरहेको हेल्प नेपाल बाल गृहको सहयोगार्थ आउँदो शनिबार, ६ अप्रिलमा वुलवीच, लन्डनमा रमाइलो सांगीतिक कार्यक्रम हुने भएको छ।
दि ट्रामसेड थियटर, वुलवीचमा आयोजना गरिने “आर्को मुखर्जी रिटर्नस” सांगीतिक साँझमा चर्चित भारतीय गायक आर्को मुखर्जीले थुप्रै पुराना नेपाली लोक–आधुनिक गीतहरु सुनाउने छन् ।
“नयाँ वर्ष २०८१ को अवसरमा हामीले नेपाललाई अत्यन्तै माया गर्ने प्रतिभाशाली गायक आर्को मुखर्जी र उनको टिमलाई पुन: निम्त्याएका छौं। यो रमाइलो सांझमा उपस्थित भइदिनु हुन हामी सबै मित्रहरुलाई आग्रह गर्दछौँ,” हेल्प नेपाल नेटवर्क युकेका अध्यक्ष सचिन श्रेष्ठले भने।
कार्यक्रमको खर्च काटेर बचेको सम्पूर्ण रकम धुलिखेलमा संचालन भइरहेको हेल्प नेपाल बाल गृहको सहयोगार्थ पठाइने पनि उनले बताए।
सन् २०१४ देखि धुलिखेलमा सञ्चालित उक्त बाल गृहमा अहिले २३ जना असहाय बालिका बसेर पठनपाठन गरिरहेका छन्।
“मातृभूमिका लागि महिनामा एक पाउण्ड” भन्ने नारा सहित सन् १९९९ मा बेलायतबाट हेल्पनेपाल नेटवर्क (www.helpnepal.net) स्थापना गरिएको थियो।
नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपत्कालीन मानवीय सहायता लगायत क्षेत्रमा सहयोग पुराउँदै आएको छ। नेटवर्कले नेपालका एक सय बढी स्कुलमा कक्षा कोठा निर्माण, लाइब्रेरी तथा इ-लाइब्रेरी स्थापना गर्नुका साथै सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लाहरुमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरुको पुनर्निर्माणमा पनि सघाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५