गाजामा युद्धविराम गर्न वार्ता जारी



दक्षिणी गाजा पट्टीको राफाहमा इजरायली हमलामा क्षतिग्रस्त घरका अवशेषहरू । तस्विर रोयटर्स
दोहा, चैत १३ गते । युद्धरत पक्षहरूले प्रगतिको अभावमा दोषारोपण गरे पनि हमास र इजराइलबीच गाजा युद्धविराम र बन्धकहरूको आदान प्रदानमा वार्ता जारी रहेको मध्यस्थकर्ता कतारले मङ्गलबार बताएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले वार्ता ‘जारी’ रहेको उल्लेख गर्दै ‘कुनै पनि टोलीले वार्ताबाट बाहिरिएको भन्ने सोचको विकास नभएको’ बताउनुभयो ।
गाजामा युद्धविराम सुनिश्चित गर्न र इजराइली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा इजराइली बन्धकहरूको रिहाइका लागि धेरै सातादेखि पर्दा पछाडि रहेर अमेरिका र इजिप्टसँग मिलेर कतार वार्तामा संलग्न छ ।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सोमबार ‘तत्काल युद्धविराम’ को माग गर्दै एउटा प्रस्ताव ग्रहण गरेपछि हमास र इजराइलले कुनै पनि सम्झौता गर्न असफल भएको दोषारोपण लगाएका छन् ।
इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु र उहाँको मन्त्रिपरिषद ‘वार्ताको प्रयास असफल हुनु र अहिलेसम्म कुनै सम्झौता हुनबाट रोक्नका लागि पूर्णरूपमा जिम्मेबार रहेको’ हमासले बताएको छ ।
जवाफमा नेतान्याहु कार्यालयले सामाजिक सञ्जाल एक्समा सुरक्षा परिषद्को मतदानबाट उत्साहित भएकाले हमासलाई ‘वार्ता जारी राख्न कुनै रुचि नभएको’ आरोप लगाएको छ ।
प्रवक्ता अन्सारीले दोहा पत्रकार सम्मेलनमा सुरक्षा परिषद्को प्रस्तावको स्वागत गर्दै उक्त प्रस्तावले ‘वार्तामा कुनै प्रभाव नपार्ने’ बताउनुभयो । उहाँले दोहामा इजराइली प्राविधिक टोलीको उपस्थितिबारे विशेषरूपमा टिप्पणी गर्न नसक्ने बताउनुभयो ।
यद्यपि उहाँले भन्नुभयो, “यी टोलीहरूको आगमन र प्रस्थान हुँदै गर्दा पनि दोहामा बैठकहरू अहिले पनि जारी छन् र यी वार्ता गर्ने टोलीका केही हिस्सा हुन् भन्ने म पुष्टि गर्न सक्छु, अहिले मैले बोलिरहँदा पनि दोहामा वार्ता भइरहेको छ ।”
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५