शुक्रबार, पुष २६, २०८१
04:36 | १०:२१

मस्कोमा भएको आतंकवादी हमलाप्रति सरकारको निन्दा

रासस मार्च २३, २०२४

काठमाडौँ । नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । ‘नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतङ्कवादको निन्दा र भर्त्सना गर्दछ, आतङ्कवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले मस्कोमा आतङ्कवादी हमलामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त जघन्य कार्यमा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याउनुपर्ने विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या ९३ पुगेको छ भने १४० बढी घाइते भएका अधिकारीहरूले शनिबार बताएका छन् ।

शुक्रबार मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा संलग्न रहेको आरोपमा ११ जना पक्राउ परेकामध्ये चार जना प्रत्यक्ष संलग्न रहेका रसियाका सुरक्षा प्रमुखले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू