गोर्खाहरुले भूकम्प पीडितका लागि प्रधानमन्त्रीलाई बुझाए ५ लाख
लन्डन । ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समिति र गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रतिनिधिहरुले आकष्मिक प्रधानमन्त्री राहत कोषका लागि रु. पाँच लाखको चेक हस्तान्तरण गरेका छन् ।
२२ मार्चमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी भूकम्प पीडितहरुलाई राहत पुरयाउने उद्देश्यले संयुक्त रुपमा संकलित रकम हस्तान्तरण गरिएको हो ।
यसै क्रममा प्रधानमन्त्री दाहाललाई ब्रिटिश गोर्खाहरुको ‘वंशजको नेपाली नागरिकता निरन्तरता’ का लागि तत्काल नागरिकता ऐन संशोधन गरेर गोर्खा र गोर्खा सन्ततिहरुले बेलायती अंगीकृत नागरिकता लिनुपरे पनि वंशजको नेपाली नागरिकता यथास्थितिमै कायम रहने ब्यवस्था सुनिश्चित गरिदिन अनुरोध गर्दै पुनः एक ज्ञापन पत्र बुझाइएको छ ।
प्रत्युत्तरमा प्रधानमन्त्री दाहालले गोर्खाका नागरिकताबारे आफू पूर्णरूपमा जानकार र सकारात्मक रहेको प्रष्ट पार्दै मुख्य गरि नेपाली कांग्रेस र नेकपा एमालेलाई पनि यसरी नै भेटेर यो विषयमा ‘कन्भिन्स’ गराउने प्रयास गर्न सुझाव दिएका थिए । यो राष्ट्रिय मुद्दा भएकाले साझा सहमतिमा निर्णय हुन सके ऐन तथा संविधान संशोधन गर्न सहज हुने प्रधानमन्त्रीको धारणा थियो ।
ब्रिटिश गोर्खाहरुको ‘जीटुजी’ वार्ता निर्णायक बनाउनेबारे समय अभावका कारण छलफल हुन नसकेकाले मार्च २७ अगावै प्रधानमन्त्रीसंग पुनः भेटी गम्भीररुपमा छलफल गर्ने सहमति भएको छ ।
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान यूके/नेपालका संयोजक सुन बहादुर तामाङले नेतृत्व गरेको उक्त प्रतिनिधिमण्डलमा फुर्वा शेर्पा, भीम राई, निमा शेर्पा लगायत ब्रिटिश गोर्खा भूपू सैनिकहरूको सहभागिता थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५