लन्डनका दुई पत्रकारले लेखेको प्राध्यापक सुवेदीको ‘बायोग्राफी’ शनिबार लोकार्पण हुँदै


लन्डन – बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्य सुवेदीको जीवनीमा आधारित पुस्तक यही शनिबार लोकार्पण हुने भएको छ ।
‘प्रा. सूर्य सुवेदी: महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’ नामक उक्त बायोग्राफी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ ले लोकार्पण गर्ने बुक हिल प्रकाशनले जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे पुस्तक सार्वजनिकीकरण कार्यक्रम तय भएको छ ।
लन्डनमा रहेका बीबीसी नेपाली सेवाका पूर्व पत्रकार भगिरथ योगी र कान्तिपुरका लागि बेलायतस्थित संवाददाता नवीन पोखरेलको लेखन/सम्पादन रहेको उक्त बायोग्राफीमा प्राध्यापक सुवेदीको जीवनका अनेक उतारचढाव र नेपालमा विभिन्न कालखन्डमा उनले गरेको योगदान समावेश गरिएको लेखकद्वयले जनाएका छन् ।
लमजुङको एक सामान्य परिवारमा जन्मिएका सुवेदीले लमजुङदेखि बेलायतसम्मको जीवनयात्रामा कयौं उपलब्धि हासिल गरेका छन् ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् उनी । अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि हासिल गर्ने व्यक्ति पनि उनी पहिलो हुन् ।
प्राज्ञिक र कानूनी दुवै क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने उनी बेलायतकै शीर्षस्थ व्यक्तित्वभित्र पर्छन् । उनले लिड्स, लन्डन र अक्सफोर्ड विश्वविद्यालयसहित संसारका विभिन्न विश्वविद्यालयहरुमा प्राध्यापन गरेका छन्।
उनले बेलायतमा रहेर पनि मातृभूमि नेपालको लागि महत्वपूर्ण योगदान दिंदै आएका छन् ।
भारतीय नाकाबन्दीका बेला कूटनीतिक समाधान पहिल्याउन होस् वा अमेरिकी परियोजना एमसीसी पारित गर्न सकस परिरहेका बेला होस्, अप्ठेरो परिस्थितिमा नेपालका शीर्ष नेताहरुलाई सुझाव सल्लाह दिइ संकटको गांठो फुकाउंदै आएका सुवेदी बेलायतको परराष्ट्रमन्त्रीका सल्लाहकार समेत भइसकेका छन् ।
सुवेदीले नेपालमा गरेको योगदानवापत तत्कालिन राजा र राष्ट्रपतिबाट विभिन्न मानपदवी तथा उपाधि पाएका छन्।
उनका अन्तरराष्ट्रिय कानूनका प्रायः सबै आयाममा १२ वटा ग्रन्थ र ६० भन्दा बढी अनुसन्धानात्मक लेख संसारका ख्यातिप्राप्त जर्नलहरुमा प्रकाशित छन् भने नेपाल र बेलायत लगायत चीन, द नेदरल्यान्ड्स, भियतनाम, इन्डोनेसिया, लाओस, कतार लगायत विभिन्न देशलाई उनले कानूनी सल्लाह दिएका छन्।
मानव अधिकार र अन्तर्राष्ट्रिय कानूनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै बेलायतकी महारानीले उनलाई मानार्थ ओबीई र मानार्थ क्विन्स काउन्सेलजस्ता उच्च उपाधि प्रदान गरेकी थिइन्।
प्रा सुवेदीको विद्वत्ताको कदर गर्दै अक्सफोर्ड विश्वविद्यालय र बेलायतको रोयल एसियाटिक सोसाइटीले उनको नाममा वार्षिक पुरस्कार स्थापना गरेका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५