शनिबार, पुष १३, २०८१
00:56 | ०६:४१

बेलायती उपसभामुख र सांसदहरुसंग भरतपुर मेयर दाहालको भेटवार्ता

नेपाली लिङ्क मार्च ७, २०२४

लन्डन । एउटा अन्तर्राष्ट्रिय मेयर अवार्ड ग्रहण गर्न लन्डन आइपुगेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले बुधबार बेलायती उपसभामुख एवं सांसदहरुसंग भेटवार्ता गरेकी छन् ।

मेयर दाहालले बेलायती संसद हाउस अफ कमन्सका उपसभामुख नाइजेल इभान्स् तथा सत्तारुढ कन्जरभेटिभ सांसद एवं पूर्व मन्त्री डिन रसेल र प्रमुख प्रतिपक्षी दल लेबरका सांसद वीरेन्द्र शर्मासंग पार्लियामेन्टमा भेटेकी हुन् ।

उक्त भेटवार्तामा बेलायत नेपाल जनस्तरको सम्बन्ध, बेलायती सहयोग, द्विपक्षीय भ्रमण आदानप्रदान, भूतपूर्व गोर्खा मुद्दा लगायत समसामयिक विषयमा छलफल भएको मेयर दाहालले जनाइन् ।

दाहालले उपसभामुख इभान्ससहित सांसदहरुलाई भरतपुर घुम्न विशेष निम्तो समेत दिएकी थिइन् । गत सातामात्रै ‘भरतपुर भ्रमण वर्ष २०२४’ उद्घाटन गरिएको हो । 

दाहालले उपसभामुख र सांसदहरुलाई ढाकाको टोपी र बुद्धको मूर्ति उपहार दिएकी थिइन् ।

बेलायती उपसभामुख इभान्सले बेलायत नेपाल ऐतिहासिक सम्बन्धको चर्चा गर्दै गोर्खाहरुको योगदानबारे पनि स्मरण गरेका जनाइएको छ । 

भेटमा दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र दाहालका श्रीमान् अर्जुन पाठक पनि सहभागी थिए । 

भेटघाटपछि मेयर सहितको प्रतिनिधिमन्डलले संसद भवन अवलोकन र संसदीय अभ्यासबारे जानकारी लिएको थियो ।

आज अन्तर्राष्ट्रिय मेयर अवार्ड थाप्न लागेकी मेयर दाहाल, उनका श्रीमान् अर्जुन पाठक र छोरी-ज्वाईं १० मार्च बेल्जियम हुंदै केही युरोपेली देश घुमेर १९ मार्चमा नेपाल फर्कने कार्यक्रम छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू