बेलायत-नेपालबीच द्विपक्षीय सम्झौतामा बेलायत आएका नेपाली नर्सहरुलाई सम्मान


लन्डन-नेपाल तथा बेलायत सरकारबीच द्विपक्षीय सम्झौताअनुसार पहिलो लटमा बेलायत आएका नर्सहरुलाई सम्मान गरिएको छ।
दुई साताअघि बेलायत आइपुगेर ह्याम्पशायरको बेजिङस्टोक अस्पतालमा काम शुरु गरेका १२ जना नर्सलाई स्थानीय नेपालीहरुले सम्मान गरेका हुन्।
बेजिङस्टोक नेपाली समाजका तर्फबाट आइतबार स्थानीय मल्टीकल्चरल फोरम हाउसमा एक कार्यक्रमबीच नर्सहरुलाई सम्मान गरिएको हो ।
समाजका अध्यक्ष ओम गुरुङले नवआगन्तुक नर्सहरुलाई खादा ओढाएर सम्मान गरे। दुई सरकारबीचको सम्झौताअनुसार ऐतिहासिक पहिलो लटमा नेपाली नर्सहरु बेलायत आएको खुशीयाली केक काटेर मनाइयो।
समाजका अध्यक्ष ओम गुरुङले दुई देशबीच भएको सम्झौताबाट पहिलो लटमा नेपाली नर्सहरु बेलायत आइपुग्नु ऐतिहासिक अवसर रहेकाले समाजले उनीहरुलाई स्वागत र सम्मान गरेको बताए।
मातृभूमि छोडेर पहिलोपटक विदेशी कर्मभूमि आएका नर्सहरुलाई शुभकामनासंगै न्यानो स्वागत र आवश्यक साथको प्रत्याभूति गराउनु आफ्नो उद्धेश्य रहेको उनले बताए ।
सो अवसरमा नेप्लिज् नर्सिङ एशोसिएसन यूके अध्यक्ष सुनिता गौतम थापा, स्थानीय प्रतिनिधि उर्मिला श्रेष्ठ, बेजिङस्टोक अस्पताल इन्टरनेश्नल रिक्रुटमेन्ट टीमकी निकोला लापिन, आशा राईलगायतको पनि उपस्थिति थियो।
त्यस्तै, समाजका तर्फबाट कार्यसमितिका पदाधिकारी र सल्लाहकारहरु सहभागी थिए।
नेप्लिज् नर्सिङ एशोसिएसन यूके अध्यक्ष सुनिता गौतमले एशोसिएसन जीटुजी पाइलट परियोजनाको सह-साझेदार भएकाले ति नर्सहरूलाई हरेक कुरामा सहयोग गरिने बताइन् ।
एशोसिएसनले नयाँ आगन्तुक नर्सहरूसँग अन्तरक्रिया गरि यहाँको वस्तुस्थितिबारे अवगत पनि गराएको थियो ।
बेलायत र नेपालबीचको सम्झौताअनुसार बेलायतमा काम गर्न पहिलो चरणमा ४२ नेपाली नर्स छनोट भएका थिए। उनीहरुमध्ये पहिलो समूहमा १२ जना बेलायत आइसकेका हुन् भने बाँकी आगामी अप्रिल र मे महिनामा आइपुग्ने तालिका छ ।
पहिलो लटमा आउनेहरु बेजिङस्टोक र वीन्चेष्टर अस्पतालमा खटिनेछन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५