ब्रिटिश गोर्खामा नयाँ भर्ती खुल्यो



फाइल तस्विर: इन्टेक २०२४ मा भर्ती भएका गोर्खाहरुको पास आउट परेड।
लन्डन- बेलायतले ब्रिटिश गोर्खा र गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिस फोर्सका लागि नेपालबाट भर्ती आव्हान गरेको छ।
बेलायती सेनाले बुधबार एक सूचना जारी गर्दै ‘इन्टेक २०२५’ का लागि योग्य उम्मेदवारलाई छनोटमा सामेल हुन आव्हान गरेको हो ।
भर्ती हुन इच्छुक उम्मेदवारले अनलाइनमार्फत् नाम, थर, एनपीपी नम्बर र जिल्ला दर्ता गराउनुपर्नेछ । अनलाइन दर्ता प्रक्रिया यही फागुन १८ देखि चैत १६ सम्म (१ मार्चदेखि २९ मार्चसम्म) खुला रहनेछ।
गोर्खा भर्तीका लागि आवेदन गर्न उचाइ कम्तीमा १ सय ५८ सेन्टीमिटर, उमेर सन् २०२४, १ डिसेम्बरसम्म कम्तीमा १८ वर्ष पुगेर बढीमा २१ वर्ष ननाघेको हुनुपर्नेछ ।
त्यस्तै, शैक्षिक योग्यता कम्तीमा ‘एसइइ’ उत्तीर्ण वा सो सरह (कम्पार्ट पास भएपनि हुने) हुनुपर्नेछ र नयाँ एसइइ ग्रेडिङ प्रणालीमा न्यूनतम पाँच वटा ‘सी ग्रेडिङ’लाई मान्यता दिइनेछ ।
दुवै ब्रिटिश गोर्खा र सिंगापुर पुलिसमा भर्ती हुन अंग्रेजी र गणितमा ‘सी ग्रेडिङ’ अनिवार्य छ ।
पहिलो चरणको छनोट ब्रिटिश गोर्खा क्याम्प पोखरा र ब्रिटिश क्याम्प धरानमा विसं. २०८१ बैशाख १० देखि असार १४ (२२ अप्रिल- २८ जुन २०२४) सम्म र सुर्खेतमा विसं. २०८१ बैशाख १० देखि जेठ १८ (२२ अप्रिलदेखि ३१ मेसम्म) सञ्चालन गरिनेछ ।
छनोट प्रक्रिया निशुल्क, निष्पक्ष र पारदर्शी हुने जनाइएको छ। छनोट योग्यतामा आधारित र केबल उत्कृष्ट उम्मेदवारमात्र स्वीकार्य हुने जनाइएको छ ।
भर्ती गराइदिने वहानामा कसैले पैसा मागेमा नदिन र स्थानीय प्रहरीलाई खबर गर्न बेलायती सेनाले आव्हान गरेको छ ।
गोर्खा भर्तीबारे जानकारीका लागि सामुदायिक ब्रिफिङ फागुन १८ देखि चैत १६ (१ मार्चदेखि २९ मार्चसम्म) सम्म नेपालभर आयोजना गरिने जनाइएको छ ।
यसअघि ‘इन्टेक २०२४’ मा भर्ती भएका तीन सय ३७ गोर्खा सैनिकले हालै बेलायतमा आफ्नो ‘इन्फेन्ट्री तालिम’ शुरु गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५