शनिबार, पुष १३, २०८१
16:32 | २२:१७

बीसीसी यूकेले गुम्बामा गर्‍यो साधारणसभा

नेपाली लिङ्क फ्रेब्रवरी २६, २०२४

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको साधारणसभा सम्पन्न भएको छ । गत २४ फेब्रुअरी शनिबार अल्डरसटस्थित बीसीसी गुम्बामा साधारणसभा भएको हो । 

बीसीसी यूकेका धर्मगुरु खेन्पो कर्म छुल्त्रिम, बीसीसी यूके अध्यक्ष हर्क बहादुर गुरुङ र आमा प्रमुख उर्मिला गुरुङले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी शुरु भएको उक्त साधारणसभामा बीसीसी यूकेका महासचिव मेजर हितमान गुरुङले गत १ बर्षमा गुम्बाले गरेका विभिन्न महत्वपूर्ण कार्यक्रमबारे छोटकरीमा जानकारी गराएका थिए ।

उनले बुद्ध जयन्ती, छ्योखर दुच्येन्, च्यारिटी डिनर नाइट, चिल्ड्रेन समर क्याम्प, न्युङ्नी ब्रत, कंग्यूर तथा तेंग्यूर पाठ, मेडिटेशन कक्षा, ङोन्दो कक्षा, साम्बोटा लिपी कक्षा, स्थानीय विद्यार्थी, स्काउट लगायतले गरेको गुम्बा भ्रमणबारे जानकारी दिए । 

त्यस्तै, उनले विभिन्न धर्मगुरुले दिएको प्रवचनलगायत विभिन्न व्यक्तिलाई गरिएको स्वागत तथा सम्मानलगायत गुम्बा संचालनसंग सम्बन्धित बिषयहरु समेटिएको कार्यसमितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

कोषाध्यक्ष मेजर शंकर गुरुङले बीसीसी यूकेले वर्षभर विभिन्न शीर्षकमा गरेको आम्दानी तथा खर्च विवरणसहित ‘पावर पोइन्ट’ प्रस्तुत गर्दै आर्थिक प्रतिवेदन पेश गरे । 

बेलायतका विभिन्न ठाउँबाट आएका बीसीसी यूके ट्रष्टी मेम्बर्स, सल्लाहकार र आमाहरुको उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा बीसीसी यूके आमा सचिव शारदा गुरुङले बीसीसी यूकेले दैनिक रुपमा गर्ने पूजापाठ, ब्रत, कर्मकाण्डसहित आमाहरुले गरेका विभिन्न गतिविधि समेटिएको प्रतिवदेन प्रस्तुत गरेकी थिइन् । 

सो अवसरमा आमा सचिव शारदा गुरुङले विशेष गरी गुम्बाका गुरुहरु, आमाहरु, गुम्बा स्टाफ, विभिन्न संघसंस्था र मिडियाबाट पाएको साथ, सहयोग, सल्लाह, सुझाव र सहभागिताका लागि धन्यवाद दिइन् । उनीहरुले प्रस्तुत गरेको प्रतिवेदनमाथि व्यापक छलफल भई सर्वसम्मत पारित भएको थियो । 

कार्यक्रममा बीसीसी यूके अध्यक्ष हर्कबहादुर गुरुङले आफ्नो कार्यकालको पहिलो वर्ष भएका महत्वपूर्ण कार्यक्रम तथा परियोजनाबारे जानकारी गराए । उनले हालै सम्पन्न भएको नयाँ बत्ती घर, शुर घर, १०० तोला सुनको बत्ती आउने बुद्ध जयन्तीका दिन उद्घाटन गर्ने बताउंदै उक्त परियोजनामा सहयोग गर्ने सबै सहयोगदातालाई हृदयदेखिनै धन्यवाद दिए । 

उनले आगामी २३ मे का दिन हिज होलिनेश दिल्गो याङ्सी रिन्पोछेको विशेष उपस्थितिमा बीसीसी यूकेले बुद्ध जयन्ती मनाउने जानकारी दिए । उनले बीसीसी यूके लण्डन ब्रान्चले २५ मे र बुद्ध फाउण्डेशनले २ जुनका दिन मनाउन लागेको जानकारी दिए । अध्यक्ष गुरुङले हरेक कार्यक्रमहरुमा पाएको सबैको साथ, सहयोग, सल्लाह, सुझाव र सहभागिताका लागि धन्यवाद दिए । 

बीसीसी यूकेका वरिष्ठ उपाध्यक्ष आङ्गदावा शेर्पाले गुम्बाको चालु तथा तत्काल संचालन हुन लागेको परियोजनाहरुबारे छोटकारीमा जानकारी गराएका थिए । 

विशेष गरी उनले करिब ६० हजार पाउण्डको लागतमा निर्माण भएको बत्ती घर, शुर घर, अगाडि बन्न लागेको छतनको बारेमा जानकारी गराउदै सहयोगदाताहरुको नाम प्रस्तुत गर्दै धन्यवाद दिए । साथै, बीसीसी लण्डन ब्रान्चका अध्यक्ष गोपाल तामाङ्गले लण्डन ब्रान्चको गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गरे । 

कार्यक्रममा बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पाले जुममार्फत शुभकामना मन्तब्य दिएका थिए । त्यस्तै, बोर्ड अफ ट्रष्टी मेम्वर्स मेजर खिम गौचनले कार पार्किङ्गबारे अफडेट गराए । 

बीसीसी यूके अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा उपाध्यक्ष रोविन गुरुङले स्वागत र उपाध्यक्ष क्याप्टेन देव घलेले धन्यवाद मन्तब्य ज्ञापन गरेका थिए भने महासचिव मेजर हितमान गुरुङले औपचारिक कार्यक्रम संचालन गरेका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू