बेलायतमा तीन तामाङ संस्था मिलेर ऐतिहासिक बनाए सोनाम ल्होसार
लन्डन । बेलायतमा नेपाली संघसंस्था विभाजनको श्रृंखला बढिरहंदा यहांका तामाङ समुदायले संयुक्त रुपमा ल्होछार ऐतिहासिक मनाएका छन् ।
तामाङ समाज यूके, म्हेन्दो माया परिवार यूके र तामाङ घेदुङ यूके पहिलोपटक एकै ठाउंमा आएर शनिबार अल्डरसटमा संयुक्त रुपमा २८६० औं सोनाम डुक (मु पुख्री) ल्होसार मनाएका हुन् ।
यसअघि ति संस्थाले फरक फरक ल्होछार मनाउने गरेका थिए । अल्डरसटस्थित एम्पायर हलमा आयोजित उक्त ल्होछारमा मानिसहरुको भीड छिचोलिनसक्नु थियो । शुरुमा करिब ५ सय उपस्थिति अनुमान गरिएकामा पछि हलमा झण्डै ९ सय जना पुगेर बस्ने ठाउं समेत नपुगेको आयोजकले जनाएका छन् ।
म्हेन्दोमाया परिवार यूके अध्यक्ष तथा कार्यक्रम संयोजक हरिसिंह वाइवाको अध्यक्षतामा भएको उक्त कार्यक्रम प्रमुख अतिथी काउन्सिलर विष्णु गुरुङ, तामाङ समाज यूके अध्यक्ष कुमार स्याङतान, तामाङ घेदुङ यूके अध्यक्ष राजेन योन्जन र म्हेन्दोमाया परिवार यूके अध्यक्ष वाइवाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
प्रमुख अतिथी र तीन संस्थाका अध्यक्षले मन्तव्यका क्रममा ल्होछार शुभकामना दिंदै फुटेर होइन एकजुट भएर आफ्नो कला संस्कृति, धर्म, चाडपर्व र रितिरिवाजको जगेर्ना गर्न सुझाव दिए ।
तामाङ समाज यूके म्हेन्दो माया परिवार यूकेका सल्लाहकार धनबहादुर तामाङले बेलायतमा नेपाली संस्थाहरु फुटेर गइरहेको अवस्थामा तामाङ समुदाय एकवद्ध भएको उदाहरण प्रस्तुत गर्न संयुक्त ल्होछार मनाइएको जनाए ।
पहिलो चरणको औपचारिक कार्यक्रम म्हेन्दो माया परिवार यूकेका महासचिव बम ब्लेन्थेनले सञ्चालन गरेका थिए । कार्यक्रममा सल्लाहकार उदय घिसिङले स्वागत मन्तव्य दिए ।
दोश्रो चरणको सांस्कृतिक कार्यक्रम सञ्चालनको जिम्मा मिलन गोम्जा, कृष्ण पाख्रिन र सिमरन स्याङबोले लिएका थिए ।
उक्त अवसरमा नेपालबाट आएका चर्चित सेलो गायक, सर्जक तथा संगीतकार विश्व दोङ, मेनुका राई तामाङ र सानु वाइवासहित स्थानीय कलाकारहरुले गायन तथा नाच प्रस्तुत गरे । कार्यक्रम अवधिभर नाचगानमा रमाएका सहभागीहरु अबेरसम्म हल छाड्न मानेका थिएनन् ।
अमेरिकाबाट चर्चित डान्सर तथा मोडल रस्मी तामाङ पनि अतिथीका रुपमा सहभागी थिइन् ।
कार्यक्रमका अध्यक्ष एवं संयोजक हरिसिंह वाइवाले प्रायोजक, कलाकार, पत्रकार, अतिथी लगायत सबै सहयोगीप्रति आभार व्यक्त गरे ।
तस्विर- शिव भण्डारी
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५