बिहीबार, मंसिर ६, २०८१
10:15 | १६:००

ब्रिटिश लाहुरे हुन नसकेका धन अहिले विश्वकै सेलिब्रेटी बारिस्टा

नवीन पोखरेल फ्रेब्रवरी १, २०२४

लन्डन—बेलायती सेनामा भर्ती हुने सपना पूरा नभएपछि धन तामाङलाई देशमा बस्नै मन लागेन । सन् २००५ को कुरा हो, २० वर्ष मात्रै टेकेका थिए उनले । जसरी हुन्छ विदेश जाने भूत सवार भएपछि म्यानपावर कम्पनी खोजे । खाडी मुलुक कुवेत जान कम्पनीलाई दुई लाख रुपैयाँ बुझाए । 

मेनपावर कम्पनीले २० हजार तलब हुने आशा देखाएपछि २००६ मा कुवेत गए तामाङ । सुरुमा दुई महिना त उनले काम नै पाएनन् । कारण, बिदेसिनुअघिको अन्तर्वार्तामा उनले कफी बनाउन आउँछ भनेर ढाँटेका थिए । कफीको धुलो दूध र पानीमा घोलेर बनाउने होला भन्ने थियो उनलाई ।

तर कुवेत पुगेपछि मात्र उनलाई कफिका प्रकारबारे थाहा भयो । लाट्टे, क्यापाचिनो, अमेरिकानो जस्ता नाम उतै सुनेको उनले स्मरण गरे । त्यसपछि भने उनको कफी यात्रा सुरु भयो कुवेतबाट । अमेरिकी कफी चेन यूएस ग्रीन बिन्सको आउटलेट थियो । ७० केडी (करिब १७ हजार रुपैयाँ) तलबमा दुई वर्ष काम गरेपछि भने उनले धेरै सिके । तर खाडी मुलुकमा कामको चाप र गर्मीमा उनी लामो समयसम्म भने टिक्न सकेनन् ।

दुईवर्षको कन्ट्र्याक्ट सकिएपछि २००८ मेमा नेपाल फर्किए तामाङ । नेपाल फर्कंदा ह्यान्ड बुकहरू लिएर गएका थिए । नेपालमा आफैंले कफी बनाउन सिकाउन थाले, काम पनि गरे । पछि आफ्नै ह्यान्ड बुक निकाले । गेट कलेज धुम्बाराही र ठमेलको द फ्याक्ट्रीमा सिकाउन पनि थाले । राति बार टेन्डरको काम पनि गर्थे ।

काभ्रे तिमालमा जन्मिएर त्यहीं हुर्किएका हुन् तामाङ । एसएलसी सकेर २०५८ सालमा काठमाडौं गएपछि चार वर्षजति त्यहाँ बसेर पढाइ, काम गर्न थाले । ठहिंटीको हिरालाल क्याम्पसमा पढाइ थियो, काम ठमेलको एउटा कार्गोमा । त्यतिखेर मासिक तलब आउँथ्यो करिब दुई हजार पाँच सय रुपैयाँ ।

सन् २०१० फेब्रुअरीमा विद्यार्थीको डिपेन्डेन्टमा बेलायत आए उनी । लन्डन उत्रिएपछि जिन्दगीको अर्को च्याप्टर सुरु भयो, जिरोबाट । बेलायतमा काम गरेपछि कुवेत, नेपालभन्दा त बढी पैसा आउँथ्यो तर विद्यार्थी जीवन धेरै संघर्षपूर्ण थियो । नेपालबाट आउँदा लिएको २० लाख रुपैयाँ ऋण तिर्नुपर्ने थियो ।

गाउँको सरकारी विद्यालयमा पढेकाले अंग्रेजी भाषामा समस्या हुने नै भयो । अंग्रेजी सिक्न अंग्रेजी मुभी हेर्न थाले, लाइब्रेरीमा गएर अंग्रेजीका किताब पढ्न थाले । काम र अवसरको खोजीमा उनले बेलायतका हेस्टिङ, वुलबिच, प्लमस्टिड र हन्स्लो वेस्ट चहारे । काम चाहिँ आएदेखि नै कफी सपमा गर्ने धोको थियो ।

सुरुमा गेल्स् बेकरीमा काम थालेको डेढ वर्षमै असिस्टेन्ट म्यानेजर बने । यही सिलसिलामा सन् २०११ को सुरुतिर हन्स्लो वेस्ट रेल स्टेसन छेउमा नेपलिज मःम बनाएर बिक्री गर्न पनि थाले । दिनमा करिब एकसय प्लेट मःम बिक्थ्यो । ८ महिनाजति मःम बेचेर पैसा राम्रै कमाइ भयो । तर, मुख्य भिजा समस्या छँदै थियो ।

भिजा सकिन लागेको चिन्ता थियो । अवसरको खोजीमा भौंतारिरहँदा सन् २०११ नोभेम्बरमा विनचेस्टर सरे । लन्डनमा बसेर अंग्रेजी पनि नसिकिने देखेपछि उनले इंग्ल्यान्डको विनचेस्टर जाने सोच बनाएका थिए । यही बेला क्याराकोली कफी हाउसले राम्रो जागिरको अफर गरयो, वर्क परमिट (टियर टु भिजा) पनि दिन्छु भन्यो । बस्ने प्ल्याट पनि । हाइ स्ट्रिटमा तल पसल थियो, माथिल्लो तलामा बस्ने आवासगृह ।


उक्त कफीले दोस्रो पसल खोल्दै थियो उनले मौका पाइहाले । जागिर पनि हेड बारिस्टाका रूपमा थियो । सन् २०१३ मा ब्रान्च म्यानेजर भए । त्यही वर्ष लन्डन कफी फेस्टिबलमा यूके लाट्टे आर्ट च्याम्पियनसिप भएको थियो, उनी च्याम्पियन बने । उक्त टाइटिल हरेक बारिस्टाले देख्ने सपनामध्ये एक थियो । यो उनको लाइफको ‘यू टर्न’ पनि बन्यो । कुनै बेला लन्डन कफी फेस्टिबलमा सेलिब्रेटी हेर्न जान्थे उनी । जितेपछि त अरू आएर उनको फोटो खिच्न थाले ।

बीबीसीदेखि कयौं म्यागेजिन, लोकल रेडियो पत्रपत्रिकामा अन्तर्वार्ता छापिए, प्रसारण भए । काममा तलब पनि बढ्यो । त्यसपछि फ्रान्समा भएको वर्ल्ड लाट्टे आर्ट च्याम्पियनसिपमा भाग लिन गए धन । त्यो पनि अरूले नै सबै खर्च बेहोरिदिएर । उक्त प्रतियोगितामा उनी विश्वभरका बारिस्टासँग प्रतिस्पर्धा गर्नु परेको थियो, २४ औं परे । सन् २०१६ मा चीनको सांघाईमा भएको विश्व च्याम्पियनमा उनी ४ नम्बरमा पर्न सफल भएका थिए । यूकेबाट पहिलो पटक उनी नै त्यो स्थानमा पुग्न सफल भएका थिए ।

उनले ‘यूके लाट्टे आर्ट च्याम्पियनसिप’ मा लगातार ६ वर्ष टाइटिल जिते । यसपछि उनी कहिल्यै पछाडि फर्केर हेर्नु परेन । सन् २०१६ मार्चमा आफैंले सानो कफी सप कफी ल्याब यूके खोले विनचेस्टरमा । आफैंले सप खोल्नुको प्रेरणा पछाडि रोचक प्रसंग रहेछ । सन् २०१५ मा स्वीडेनमा वर्ल्ड लाट्टे आर्ट च्याम्पियनसीपमा जांदा उनी त्यतैबाट कोपेनहेगन घुम्न गए । एउटा कफी सपमा छिरेपछि सामान्य लगानी र ठाउँमा कफी सप राम्रोसँग चलेको देखे । उनलाई लाग्यो कफी सप खोल्न लाखौं पाउन्ड मात्र चाहिने रहेनछ । आँट, सीप भए त हुने रहेछ । अब जसरी पनि खोल्छु भनेर बेलायत फिर्ता भएका उनले विजनेरु सुरु गरेको पहिलो वर्ष नै ५ वटा कफी सप खोले विनचेस्टर, साउथ ह्याम्पटन लगायत सहरमा ।

कोभिड अगाडि उनका १३ वटा कफी सप, एउटा बेकरी र एउटा डिटी कफी रोस्ट्री थियो । तर, कोभिड महामारी अरू जस्तै उनको व्यवसायका लागि अभिसाप बन्यो । लकडाउनमा ती पसल सबै बन्द गर्नुपर्‍यो । लकडाउन पछि फेरि व्यवसाय खोल्न थप चुनौती भयो । विगत जस्तो निरन्तरता दिन सकेनन् र ९ वटा सप बन्द गरे । धन कोभिड महामारीका कारण आफ्नो झन्डै दुई मिलियन पाउन्ड बढी घाटा भएको स्मरण गर्छन् ।


व्यवसायमा चुनौती त हुन्छ नै । तर उनले हरेस खाएनन् । सन् २०२१ मा ठूलो लगानीमा विनचेस्टर र इप्सबीचमा दुईवटा कफी सप कफी ल्याब यूके नाममा खोले । एकपछि अर्को संकट थोपरिँदै गएपछि गत वर्ष कफी ल्याब यूकेको सिइओबाट राजीनामा दिएर उनले आफ्नो सबै सेयर बेच्ने निधो गरे । त्यसरी सेयर बेचेर राजीनामा दिएपछि बेलायती कानुनअनुसार एक वर्ष नयाँ व्यवसाय खोल्न मिल्दैन । २०२२ देखि २०२३ को दुई वर्ष अवधिमा उनले विश्वका हरेक कफी महोत्सवको यात्रा गरे । कफी फेस्टिबलकै लागि झन्डै ५० वटा देश पुगेको बताउँछन् उनी ।

तामाङ अहिले पनि ५ वटा कम्पनीमा ग्लोबल ब्रान्ड एम्बास्डर भएर काम गरिरहेका छन् । कोन्टी नामक फ्रेन्च कफी मेसिन उत्पादक कम्पनी, फ्रेन्चकै १८८३ सिरप कम्पनी, ब्यारी क्यालिबाउ, रुड हेल्थ र लाट्टे आर्ट फ्याक्ट्रीका ब्रान्ड एम्बास्डर हुन् उनी । कोस्टा, प्रेट अ म्यान्जर, डंकिन डोनोट आदि फ्रेन्चाइजमा कन्सल्टिङको काम पनि गर्छन् धन । मेकालेन ह्वीस्की, स्नाप च्याटसँग पनि कोलाब्रेसन गरेको अनुभव छ उनीसँग । उनले कफी बनाउने तरिका सिकाउनेमात्र होइन, रेसिपी, बिजनेस प्लान पनि गर्ने गरेको सुनाए ।

यही वर्ष विनचेस्टरमा ६ हजार स्क्वायर फिट क्षेत्रफलमा भवन बनाएर उनले खोल्नेछन् नयाँ व्यवसाय । उक्त कफी सप साउथ इंग्ल्यान्डकै ठूलो हुने दाबी उनको छ । कभी सप तीन तलाको हुनेछ । तल कफी बार, दोस्रो र तेस्रो तलामा कफी बनाउन सिकाउने स्कुल रहने उनले सुनाए । उक्त बिजनेस नेपालीमूलका काउन्सिलर धनबहादुर सार्कीसँगको पार्टनरसिपमा खुल्न लागेको हो ।

बेलायतमा जुन कुनामा पनि अवसर देख्छन् उनी, यत्ति हो लगाव र सीप चाहिन्छ । उनी आफूलाई कति सफल मान्छन् ? ‘मानिसलाई पैसा जति भए पनि पुग्दैन । पैसा र नामले मात्र पनि सफल हुने होइन्, खुसी पनि सफलता हो’, उनले भने, ‘टाइटिल, बिजनेस त एउटा जीवनको जर्नी हो । गन्तव्यमा पुग्न हिँडिरहनुपर्छ ।’

धनले सन् २०१७ मा ‘कफी आर्ट’ नामक किताब निकाले जुन संसारभर पुगेको छ । १० पाउन्ड पर्ने उक्त किताब ७ वटा भाषामा उपलब्ध छ । अंग्रेजी, फ्रेन्च, डच, जर्मन, हंगेरीयन, चाइनिज र इन्डोनेसियन भाषामा प्रकाशित किताब अमेजनमा कफी र बेभरेज सेक्सनमा वेष्ट सेलर छ । विश्वभर करिब दुई लाख प्रति बिकेको उनले सुनाए ।

कफी आर्ट र कन्सेप्टमा केन्द्रित छ उक्त किताब । ‘कफी आर्ट कोर्ने मात्र होइन, टेकनिक पनि हो,’ उनले भने, ‘नौलो कन्सेप्ट भएकाले किताब पपुलर भयो । यसबाट कफी लभर, बारिस्टाहरूले धेरै सिक्न पाएका छन् ।’


धनको ‘कफी आर्ट मास्टर क्लास’ भन्ने अर्को पुस्तक हालै प्रकाशनमा आएको छ । पुस्तक अक्टोपस पब्लिसिङ ग्रुपले बजारमा ल्याएको हो । बेलायतमा कफी पिउने संस्कार बढी भएको र यो बिजनेस एक दशकयता नेपालमा पनि निकै छिटो बढेको उनको बुझाइ छ ।

गत जुलाईमा नेपाल कफी प्रोड्युसर एसोसिएसनले पहिलो पटक आयोजना गरेको नेपाल बारिस्टा च्यापियनसिप र नेपाल लाट्टे आर्ट च्यापियनसिपमा उनी चिफ जज बनेर गएका थिए । नेपालमा पनि कफी कल्चर बढिरहेको उनले सुनाए । ३७ वर्षीय धन श्रीमती कमला लामा र ४ वर्षीय छोरा केल्साङका साथ विनचेस्टरमा बस्छन् ।

धन आफ्नो नयाँ व्यवसायिक साझेदार काउन्सिलर धनबहादुर सार्कीका साथ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू