बेलायतमा काम र कोठा नपाएर नेपाली विद्यार्थीले भोग्दैछन् सास्ती
लन्डन । तनहुं दमौलीकी १९ वर्षीया आशिका कार्की बेलायतस्थित कोभेन्ट्री विश्वविद्यालयमा ‘हेल्थ एण्ड सोसल केयर’ पढ्न १४ जनवरीमा लन्डन उत्रिइन् । विज्ञान विषयमा १२ पास गरेपछि उनलाई बेलायत आउने रहर जाग्यो ।
घरकी कान्छी छोरी । परिवारलाई केही गर्नुपर्ने जिम्मेवारी पनि भएकाले विकसित देशमा केही गर्न सकिएला भन्ने मनोवलसहित उनी यहां आएकी छन् ।
अढाइ वर्षको ब्याचलर्स पढ्न आशिकाले पहिलो वर्षको १६ हजार ८०० पाउण्ड फि मध्ये आधा ८ हजार पाउण्ड (करिब १३ लाख ६० हजार रुपैयां) तिरिसकिन्, ५ हजार विश्वविद्यालयले छात्रवृत्ति दिएको छ, बांकी ६ महिनाभित्र तिर्नु पर्छ ।
‘काम खोज्दैछु । पाउन धेरै गारहो रहेछ’, उनले दुःखेसो पोखिन्, ‘अकोमोडेसन जसोतसो पाएं । तर जागिर नहुंदा खर्च कसरी जुटाउने चिन्तित छु ।’
बेलायतको अवस्था गारहो छ भन्ने थाहा हुंदाहुंदै पनि आंटेर एजुकेशन लोनमा पढ्न आएको उनले सुनाइन् ।
‘नेपालमा मेडिकल फिल्डको पढाइ छ तर केयरको नभएर आएकी हुं’ उनी कारण खोल्छिन् ।
बुटबलका इन्द्रदेव चौधरी बकिंगहमसायर न्यू युनिभर्सिटी अक्सब्रीजमा एमएस्सी इन हस्पिटालिटी पढ्न लन्डन आएको महिना दिन भयो । १२ हजार ४ सय पाउण्ड (करिब २१ लाख रुपैयां) फि मध्ये उनले ८ हजार ७ सय तिरिसके, अब ३ हजार ७ सय पाउण्ड बांकी छ ।
उनले कोठा जेनतेन पाएका छन् तर जागिर पाउने छांटकांट छैन् । ‘बेलायतको कष्टकरपूर्ण अवस्था थाहा थियो, तर सुधार हुन्छ कि भनेर आयौं’, उनले सुनाए- ‘नेपालको परिस्थिति झन् राम्रो छैन् । संघर्ष त गर्छु हेरौं केही सुधार हुन्छ कि ।’
उता, अनुज चौधरी जनवरी १७ मा लन्डन टेके । योर्क सेन्टजोन युनीमा एमएस्सी ग्लोबल हेल्थ केयर म्यानेजमेन्ट पढ्न आएका उनले ९ हजार ७८५ पाउण्डमध्ये ६ हजार १६० पाउण्ड (करिब १० लाख रुपैयां) तिरिसके । अब ३ हजार ६२५ पाउण्ड फि बुझाउन बांकी छ ।
नोवेल कलेज काठमाडौं, सिनामंगलमा मेडिकल बायोकेमेष्ट्री सकेर उनीसहित एउटै कलेजका ५ जना बेलायत आएका छन् ।
अहिले पांचै जना आफन्त कहां मिलेर बसेका छन्, कोठा भेटिएको छैन् । ‘तत्काल काम पाउने सम्भावना छैन् । कामका लागि सबैतिर अप्लाइ गरेको काम भेटिएको छैन् । एक महिनालाई मात्र पुग्ने खर्च छ । काम भएन भने घरबाट मगाउनुपर्छ’, उनले पीडा पोखे ।
अनुजकै साथी सुदुरपश्चिम बझांगका २५ वर्षीय मीनबहादुर खड्का नेपालमा बस्ने, पढ्ने वातावरण नभएर बेलायत आएको बताउंछन् । ‘तर, यहां आएको काम त परै जाओस्, कोठा नै पाइएन’, उनले सुनाए, ‘काम खोज्न सबैतिर पुगिसक्यौं। हाम्रो त सिभीमा ‘रिफ्रेन्स’ लेखिदिने मान्छे पनि छैनन् कसरी काम पाउने खोई ?’
विद्यार्थीका माथि उल्लेखित समस्याले अरु हजारौं विद्यार्थीका समस्यालाई प्रतिनिधित्व गर्छ ।
अन्तर्राष्ट्रिय विद्यार्थी एकैचोटी ओइरिंदा अहिले ब्रिटेनमा न काम छ, न बस्ने कोठा । पढाइ चलिरहंदा काम पाएपनि कानूनतः साताको २० घण्टामात्र गर्न मिल्ने भएकाले विद्यार्थीले पढेर कमाउंछु भन्ने नसोचे पनि हुन्छ ।
नेपालमा शैक्षिक कन्सल्टेन्सीहरुको गलत जानकारी, विद्यार्थीको तयारी कम र पढाइभन्दा कमाइप्रति लोभ अनि नेपालको खस्कंदो अर्थतन्त्र आदि पनि विद्यार्थीले दुःख पाउनुको प्रमुख कारण मानिएको छ ।
कोठा पाइहाले पनि पहिला ४ सय पाउण्ड पर्ने डबल रुम अहिले ९ सय पाउण्डसम्म पुगेको छ । घरबेटीले सानो बक्स रुमकै ५ सय पाउण्डसम्म भन्न थालेका छन् । कतिपय नेपाली एजेण्टहरुले काम र कोठा खोज्ने बहानामै ठगिदिने गरेको पनि पाइएको छ ।
५/६ महिनासम्म काम नपाएर विचल्ली भएको गुनासो गर्दै विद्यार्थीहरुले सामाजिक सञ्जाल र साथीभाइसंग आफ्ना पीडा पोखिरहेका घट्ना अहिले सामान्य लाग्छ ।
लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल विद्यार्थीमा कोठा र काम नपाउने समस्या बढी सुनिएको बताउंछिन् । विविध समस्याका कारण कतिपय विद्यार्थी डिप्रेसनको शिकार भएको समेत उनले बताइन् ।
‘दूतावासले विश्वविद्यालयसंग सम्बन्धित पढाइ वा फिको किस्तामा समस्या आए सहयोग गर्ने गरेको छ । कोठा र काम खोज्न त हामीले पनि सक्ने कुरा भएन’, खनालले भनिन्, ‘विद्यार्थी आफैं सचेत हुनु पर्ने अवस्था छ । भिजा लाग्ने बित्तिकै आंखा चिम्लिएर नआउनुहोला । मानसिक, आर्थिक रुपमा तयारी नभइन्जेल बेलायत आउंदा धेरै दुःख छ । विश्वविद्यालयको पढाइ हुंदा काम गरेर कमाउने कल्पना पनि गर्न सकिन्न ।’
बेलायत अध्ययन गर्न आउने भए कम्तीमा ६ महिनालाई खान बस्न पुग्ने खर्च, फि तिर्ने जोहो गर्न पनि उनले सुझाव दिइन् ।
नेपाल राष्ट्र बैंकले विश्वविद्यालयको खातामा नेपालबाट सिधै पैसा हाल्न सक्ने भएकाले खर्चको पूर्व प्रवन्ध गरेर आउन उनको सुझाव छ ।
यकीन तथ्यांक नभएपनि गत सेप्टेम्बर इन्टेकमा मात्र झण्डै ८ हजार नेपाली विद्यार्थी बेलायत आएको कन्सल्टेन्सीले बताउने गरेका उनले जनाइन् ।
बेलायतको गृह मन्त्रालयले गत नोभेम्बर २३ मा जारी गरेको तथ्यांकअनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा नेपालबाट बेलायत अध्ययनका लागि आउने विद्यार्थीहरूको संख्या झण्डै दुई गुणा बढेको छ ।
तथ्यांकअनुसार सन् २०२२ को पहिलो त्रैमासिकदेखि तेस्रो त्रैमासिकसम्ममा ३ हजार ३६३ विद्यार्थीले बेलायतको भिसा पाएका थिए ।
सन् २०२३ को सोही अवधिमा बेलायतको भिसा पाउने नेपाली विद्यार्थीहरूको संख्या ६ हजार ५४७ पुगेको छ जुन सन् २०२२ को तुलनामा करिब ९८ प्रतिशतले बढी छ । यी दुई वर्षमा बेलायत आउने विद्यार्थीको संख्यामा सबैभन्दा वृद्धि हुने मुलुक नेपाल हो ।
अध्ययनका लागि बेलायत आएका नेपाली विद्यार्थीले हाल भोगिरहेका समस्याबारे गत आइतबार लन्डनमा एक अन्तरक्रिया समेत भयो । लन्डन साउथ हयारोस्थित हाम्रो चौतारी रेष्टुरेन्टका सञ्चालक सुवर्ण पांडेले आयोजना गरेको छलफलमा विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं व्यवसायीले समस्या समाधानका उपाय के के हुन सक्छन् भन्नेबारे वहस गरे ।
सहभागी वक्ताहरुले अध्ययन गर्न बेलायत आउनु अघिको तयारी, आइसकेपछि जागिर र कोठा खोज्ने तरिका एवं अन्य नियमसम्बन्धमा विभिन्न सुझाव दिए ।
विद्यार्थीले नेपालमा अध्ययन र जागिरको अवसर नभएपछि बेलायत आएको उल्लेख गर्दै यहां कोठा र जागिरकै अभाव हुंदा जीवन कष्टकर बनेको पीडा पोखेका थिए । विद्यार्थीले बेलायत आइसकेका विद्यार्थीलाई नै गल्ती देखाउने गरेकाप्रति गुनासो पनि गरे ।
कार्यक्रमका प्रमुख अतिथी एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले व्यक्तिगत सहयोगले भन्दा पनि सामूहिक प्रयासमामात्र विद्यार्थीका समस्या समाधान हुन सक्ने औंल्याए ।
कानूनविद एवं नेपाली जनसम्पर्क समिति बेलायतका सभापति महेशकुमार दाहालले विद्यार्थीका अभिभावकलाई पनि बेलायतको वास्तविकता बुझाइदिन आवश्यक भइसकेको बताए ।
एनआरएनए अभियन्ता एवं इन्जिनियर आर के त्रिपाठीले आफ्नो दुःख अरुलाई सेयर गरेर नेपालबाट आउन खोज्ने विद्यार्थीलाई रोकिदिन आग्रह गर्दै कन्सल्टेन्सीलाई पनि गलत आश्वासन नदिन अपिल गरे ।
‘हामी सबैले सामूहिक प्रयासमा बेलायतको अवस्था नेपालमा सुनाउनु पर्ने अवस्था आइसक्यो’, उनले भने, ‘बेलायत अर्को बिहार भइसकेको छ । काम पाउन सजिलो छैन् । त्यसैले आउनु अघि बुझेर आउनु तपाईं विद्यार्थीहरुको पनि दायित्व हो ।’
अन्तर्राष्ट्रिय विद्यार्थीलाई कडाइ
आप्रवासी संख्या बढेपछि बेलायतले यसको नियन्त्रणतर्फ कदम चालिसकेको छ ।
वर्क परमिट र पारिवारिक भिसामा बेलायत आउन वार्षिक तलव थ्रेसहोल्ड वृद्धि हुने घोषणा भएको छ भने विदेशी विद्यार्थी (पोष्ट ग्रयाजुएट रिसर्च कोर्सबाहेक) ले गत जनवरी १ देखि डिपेन्डेन्ट ल्याउन नपाउने नियम कार्यान्वयनमा आइसकेको छ । विद्यार्थी भिसामा हुनेहरुले आफ्नो अध्ययन पूरा नभएसम्म वर्क पर्मिट रुटमा जान पनि नमिल्ने नियम ल्याइएको छ ।
गत वर्ष विदेशी विद्यार्थी लगायत बेलायत आउने प्रवासीहरुको संख्या ७ लाख ४५ हजार पुगेको समाचार प्रकाशित भएपछि बेलायत सरकारले वर्क परमिट र अध्ययन भिजा नियन्त्रण गर्ने रणनीति तय गरेको हो ।
नयां नियमहरु लागू भएपछि काम गर्न वा पढ्न बेलायत आउने मानिसहरुको संख्या ३ लाख जतिले घट्न सक्ने अपेक्षा सरकारी अधिकारीहरुको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५