आइतबार, पुष १४, २०८१
02:30 | ०८:१५

भूतपूर्व गोर्खा सूर्य नेम्वाङ ठगीको आरोपमा पक्राउ

नेपाली लिङ्क जनवरी ३०, २०२४

काठमाडौं । भूतपूर्व गोर्खाका परिवारलाई बेलायत लगिदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले पूर्व गोर्खा सूर्यकुमार नेम्वाङलाई पक्राउ गरेको छ ।

पीडितले दिएको जाहेरीका आधारमा पाँचथर स्थायी घर भएका नेम्वाङलाई सोमबार पाँचथरमा पक्राउ गरि काठमाडौं ल्याइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीको भनाइ उधृत गर्दै अनलाइनखबरले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) कुमोद ढुंगेलले नेम्वाङलाई प्रहरीले ठगी सम्बन्धि कसुरमा हिरासतमा राखेर छानविन गर्न जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको बताएका छन् ।

लन्डन अक्सब्रीज बस्ने नेम्वाङ आफ्नो बाबुको काजक्रिया गर्न नेपाल आएका बेला पक्राउ परेका श्रोतले जनाएको छ । नेम्वाङविरुद्ध पांचथरकै एक ३२ वर्षीया महिलाले जाहेरी दिएकी थिइन् ।

जाहेरी अनुसार, नेम्वाङले भूपू गोर्खा सैनिकका दुई छोरीसंग आवासीय भिसा मिलाइदिने भन्दै प्रति व्यक्ति २ लाख ३८ हजार रुपैयाँका दरले ४ लाख ७६ हजार रुपैयां लिएर पनि काम नगरिदिएको आरोप छ । काममा आलटाल गरेपछि पीडितले पैसा फिर्ता माग्दा उनले उल्टै धम्क्याउने गरेको पीडितको भनाइ छ ।

शुरुमा नेम्वाङले दुई दिदीबहिनीलाई बेलायत लैजाने र त्यहाँ रोजगारीका लागि सहजीकरण गरिदिने आश्वासन दिएको जाहेरी दरखास्तमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंमा पेश भएको जाहेरी दरखास्तमा मुलुकी फौजदारी संहिता २०७४ को दफा २४९ (१) र (२) उल्लंघन गरि ठगी सम्बन्धि कसुर गरेको उल्लेख छ ।

आफ्ना पिताको मृत्यु भइसकेको अवस्थामा आमालाई बेलायत पुरयाएको र उनको खातामा बेलायत सरकारले जम्मा गरिदिने रकम नेम्वाङले आफ्नो नियन्त्रणमा लिएको जाहेरीमा उल्लेख छ ।

विगत ४ वर्षदेखि जाहेरवालाको आमालाई प्राप्त हुने रकम नेम्वाङले खर्च गरेको र माग्दा तिमीहरुलाई बेलायत ल्याउन खर्च लाग्छ भन्दै टार्ने गरेको जाहेरवालाको दाबी छ । त्यस्तो रकम २४ हजार पाउन्ड (करिब ४० लाख ६० हजार रुपैयां) ठगेको नेम्वाङविरुद्ध आरोप छ ।

बेलायतको बोन्ड आडम्स् एलएलपी सोलिसिटर्स फर्ममा भूतपूर्व गोर्खा परिवारका केस लैजाने नेम्वाङले बेलायतमा समेत भूतपूर्व गोर्खा सैनिकसँग हजारौं पाउण्ड ठगी गरेको आरोप लाग्दै आएको थियो ।

उनले बेलायतमा नेम्वाङ लिमिटेड र नेपालमा दि एड्भाइजर गार्डियनमार्फत अध्यागमन सम्बन्धि काम गर्दै आएका छन् ।

उनी कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति बेलायत र यती नेपाली एसोसिएसन यूकेमा समेत आवद्ध छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू