बुधबार, फागुन १४, २०८१
12:06 | १७:५१

बीसीसी यूकेको दुई महिने कंग्यूर तथा तेंग्यूर पुस्तक वाचन

नेपाली लिङ्क जनवरी ३०, २०२४


लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको २ महिने कंग्यूर तथा तेंग्यूर पुस्तक वाचन सम्पन्न भएको छ । बौद्ध धर्ममा अत्यन्त महत्वपूर्ण मानिने उक्त बुद्ध वचन तथा बौद्ध शास्त्र गत २७ नोभेम्बर २०२३ पूर्णिमाको दिन शुरु भई गत शनिबार २७ जनवरीमा सम्पन्न भएको हो ।

विविध धार्मिक कार्यक्रमका साथ सम्पन्न सो पुस्तक समापनका दिन मानव जातिको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायू र सम्वृद्धिका लागि आयू तथा नाम्गेल टोन छो पूजा गरिएको थियो । जसमा १ हजार दीप प्रज्ज्वलन, १ हजार फूल अर्पण, १ हजार बिस्कुट, १ हजार गिलास पानी र १ हजार धुप प्रज्ज्वन गरिएको थियो ।

घ्योतो गुम्बा धरमशाला भारतका ३ जना घेसे गुरु, ३ जना लामा गुरुहरुले गत २ महिनादेखि १०८ ठेली कंग्यूर र २२५ ठेली तेंग्यूर वाचन गरेका थिए । 

त्यस्तै, बीसीसी यूकेका धर्म गुरु खेन्पो कर्म छुल्त्रिम, खैबा कर्म, बौद्ध अर्धौं सदन पोखराका लामा हर्क जंग घले, लामा प्रदिप गुरुङ, लामा पुरनले समेत सो वाचनमा साथ दिएका थिए । उक्त पुस्तक वाचनलाई बीसीसी यूकेका सल्लाहकार जंगबहादुर गुरुङले संयोजन गरेका थिए ।  


कार्यक्रमको दोस्रो चरणमा बीसीसी यूके अध्यक्ष हर्कबहादुर गुरुङले गुरुहरु, पुस्तक वाचनमा स्पोन्सर गर्ने भक्तजन, भोजनदाता, दानबीरलगायत भक्तजनहरुलाई स्वागत गरेका थिए । उनले उक्त कंग्यूर तथा तेंग्यूर वाचनको महत्वबारे जानकारी गराउँदै धर्म गुरुहरुलगायत सबै दानबीर, आमाहरु, कार्यसमिति र भक्तजनहरुलाई धन्यवाद दिए।

बीसीसी यूकेका उपाध्यक्ष रोविन गुरुङको संयोजकत्वमा सम्पन्न सो समापन कार्यक्रममा बीसीसी यूके अध्यक्ष हर्कबहादुर गुरुङ र आमा प्रमुख उर्मिला गुरुङको नेतृत्वमा बीसीसी यूकेको तर्फबाट प्रवचनका लागि श्रद्धेय घेसे गुरुलाई मण्डला अर्पण गरिएको थियो । 

उक्त कार्यक्रममा घेसे थुप्देन सेरपले कंग्यूर तथा तेंग्यूर र लङ लाइफ इम्पावरमेन्टबारे प्रवचन दिएका थिए । सो प्रवचन खेन्पो कर्म छुल्त्रिमले नेपालीमा अनुवाद गरेका थिए । त्यस्तै, कंग्यूर तथा तेंग्यूर वाचनमा सहयोग पुरयाउने सबै दाताको नाममा ङोवा गराइएको थियो । 

कार्यक्रममा अध्यक्ष गुरुङले भारतको धर्मशालास्थित हिज होलिनेश दलाई लामाको गुम्बामा निर्माणाधिन कक्षा कोठा निर्माण सहयोगार्थ घेसे गुरुमार्फत भक्तजनबाट प्राप्त भएको सहयोग रकममध्येबाट पाँचलाख भारतीय रुपैया सहयोग रकम र मायाको चिनो प्रदान गरे ।  

सो अवसरमा धरशालाका ६ जना गुरु र पोखरा बौद्ध अघौं सदनका २ जना गुरुलाई विदाई समेत गरिएको थियो । त्यस्तै, उक्त बुद्ध वचनलाई वाचनका लागि दिएको समयप्रति धन्यवाद दिंदै सबै गुरुहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । 

बीसीसी यूके अध्यक्ष गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष क्याप्टेन देव घलेले धन्यवाद ज्ञापन र उपाध्यक्ष रोविन गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू