बेलायतमा नेपाली विद्यार्थीका समस्याबारे वहस
लन्डन । अध्ययनका लागि बेलायत आएका नेपाली विद्यार्थीले हाल भोगिरहेको समस्याबारे अन्तरक्रिया भएको छ । लन्डन साउथ हयारोस्थित हाम्रो चौतारी रेष्टुरेन्टका सञ्चालक सुवर्ण पांडेले आइतबार आफ्नै रेष्टुरेन्टमा आयोजना गरेको छलफलमा विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं व्यवसायीले समस्या समाधानका उपाय के के हुन सक्छन् भन्नेबारे वहस गरे ।
सहभागी वक्ताहरुले अध्ययन गर्न बेलायत आउनु अघिको तयारी, आइसकेपछि जागिर र कोठा खोज्ने तरिका एवं अन्य नियमसम्बन्धमा विभिन्न सुझाव दिए । कार्यक्रममा सहभागी विद्यार्थीले नेपालमा अध्ययन र जागिरको अवसर नभएपछि बेलायत आएको उल्लेख गर्दै यहां कोठा र जागिरकै अभाव हुंदा जीवन कष्टकर बनेको पीडा पोखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले व्यक्तिगत सहयोगले भन्दा पनि सामूहिक प्रयासमा विद्यार्थीका समस्या समाधान हुन सक्ने औंल्याए ।
उनले खान, बस्न निकै समस्या भएको भए आफ्नो अफिसमै बेड बिस्तारा राखेर पनि राहत दिने आश्वासन दिएका थिए । विद्यार्थी समस्या समाधानमा नेपाल सरकार (दूतावास) ले सहयोग नगरेको आरोप उनको थियो । नेपालका शैक्षिक कन्सल्टेन्सीहरुले विकसित देश बेलायतमा समेत दास बनाएको जिकिर गर्दै विद्यार्थीमाथि श्रम शोषण भएको भए एनआरएनए यूकेले त्यसविरुद्ध कानूनी लडाईं गर्ने गाहामगरले बताए ।
कानूनविद एवं नेपाली जनसम्पर्क समिति बेलायतका सभापति महेशकुमार दाहालले विद्यार्थीका रुपमा प्रवासको जीवन सहज नहुने बताउंदै विद्यार्थीले सांच्चिकै पढ्न आउने उद्देश्य हो वा कामका लागि हो, त्यसमा दृढ संकल्प लिनुपर्ने दाहालले बताए । दाहालले विद्यार्थीका अभिभावकलाई पनि बेलायतको वास्तविकता बुझाइदिन आवश्यक रहेको बताए ।
‘पढाइ पुरा गरेपछि नेपाल फर्किएर पनि केही गर्न सकिन्छ तर आफ्नो पढाइमा दत्तचित्त हुनुस्’, उनको सुझाव थियो ।
एनआरएनए अभियन्ता एवं इन्जिनियर आर के त्रिपाठीले अध्ययन सकेपछि बेलायतमा अवसर पनि भएको बताए । आफ्नो दुःख अरुलाई सेयर गरेर नेपालबाट आउन खोज्ने विद्यार्थीलाई सहयोग गर्न आग्रह गर्दै त्रिपाठीले कन्सल्टेन्सीलाई पनि गलत आश्वासन नदिन अपिल गरे ।
‘हामी सबैले सामूहिक प्रयासमा बेलायतको अवस्था नेपालमा सुनाउनु पर्ने अवस्था आइसक्यो’, उनले भने, ‘बेलायत अर्को बिहार भइसकेको छ । काम पाउन सजिलो छैन् । त्यसैले आउनु अघि बुझेर आउनु तपाईं विद्यार्थीहरुको पनि दायित्व छ ।’ जसरी पनि बेलायत आउनुपर्छ भन्ने प्रवृत्ति बढ्दा समस्या झन् बल्झिएको उनको धारणा थियो ।
युवा व्यवसायी मनोज मेहताले धैर्य गर्न, नकारात्मक नसोच्न सुझाव दिंदै नेपाली विद्यार्थीलाई कम्तीमा खान बस्न सकिने काम दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
उच्च शिक्षा अध्ययनका लागि हालै लन्डन उत्रिएका सुदुरपश्चिम बझांगका २५ वर्षीय मीनबहादुर खड्काले बेलायत आइसकेका विद्यार्थीलाई नै गल्ती देखाउने गरिएको भन्दै गुनासो गरे ।
‘नेपालमा बस्ने, पढ्ने वातावरण नै छैन् । सुन्दर भविष्य खोज्दै यहां आएका झन् कष्टकर भयो । काम खोज्न सबैतिर पुगिसक्यौं। हाम्रो त सिभीमा रिफ्रेन्स लेखिदिने मान्छे पनि छैन । ५ जना संगै आएका हामी साथीहरु कोठा नपाएर अरु कसैको घरमा बसिरहेका छौं’, उनले सुनाए ।
कार्यक्रमका अध्यक्ष एवं आयोजक सुवर्ण पांडेले विद्यार्थीका समस्या सुन्दा मन भक्कानिएर आउने उल्लेख गर्दै कल्सल्टेन्सीले झुटो आश्वासन दिएका कारण र विद्यार्थीले पनि पर्याप्त तयारी नगर्दा समस्या झन् विकराल बन्दै गएको बताए । बेलायत आफैं यतिखेर आर्थिक मन्दीबाट गुज्रिरहेकाले संकट आएको उल्लेख गर्दै उनले समस्याबाट विचलित नभइ अगाडि बढ्न विद्यार्थीलाई सुझाए । उनले यूके आउनुअघि रिसर्च गरेर आउन, आइसकेपछि इगो त्यागेर संयम, दत्तचित्त हुन र अध्ययन सक्न पनि सुझाव दिए ।
उनले विद्यार्थीको वास्तविकता केन्द्रित मार्मिक कविता पनि वाचन गरेका थिए ।
रुवी दीपा राईले सञ्चालन गरेको उक्त कार्यक्रम आयोजना र व्यवस्थापन चौतारी रेष्टुरेन्टका सञ्चालकद्धय सुवर्ण पांडे र ज्योति ठकुरीले गरेका हुन् । कार्यक्रममा ‘राफल ड्र’ मार्फत विद्यार्थीलाई आकर्षक गिफ्ट प्रदान गरिएको थियो भने हाम्रो चौतारीले दिवाभोज र पेय पदार्थ बांडेको थियो ।
सो अवसरमा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले हाम्रो चौतारीका सञ्चालक सुवर्ण पांडेले जल्दोबल्दो विषयमा वहस गरेर विद्यार्थीका लागि सहयोगी भावना दर्शाएको भन्दै उनलाई प्रमाणपत्रसहित सम्मान गरेका थिए । गाहामगरले पांडेलाई संघको सल्लाहकार मनोनित गर्ने घोषणा पनि गरेका छन्।
तस्विर- शिव भण्डारी
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५