शुक्रबार, पुष २६, २०८१
10:36 | १६:२१

पोखरेली गुरुङ बग्दादमा बिरामी भएपछि एनआरएनए इराकमार्फत उद्दार

नेपाली लिङ्क जनवरी २७, २०२४

एनआरएनए इराकका सदस्य टिका (बायां) का साथ रामबहादुर

लन्डन । इराकी राजधानी बग्दादस्थित एक रेष्टुरेन्टमा कार्यरत नेपाली अचानक अस्वस्थ भएपछि एनआरएनए इराकले उद्दार गरि नेपाल फर्काएको छ ।

पोखरा महानगरपालिका १४ मझेरीपाटन निवासी रामबहादुर गुरुङ बग्दाद अम्रिया सिमीसनी रेष्टुरेन्टमा काम गर्दागर्दै अचानक ब्लड प्रेसर बढेर एउटा हात नचल्ने र बोल्न पनि नसक्ने अवस्थामा पुगे ।

त्यसपछि उनका आफन्त बेलायत रेडिङस्थित सञ्चारकर्मी तथा भिडियो-फोटोग्राफर विषन गुरुङले एनआरएनए इराकका अध्यक्ष विनोद श्रेष्ठलाई सम्पर्क गरे । श्रेष्ठले आफ्नो कार्यसमितिका सक्रिय सदस्य समाजसेवी टिका विश्वकर्मालाई अनुरोध गरेपछि टिका भोलिपल्ट नै रामबहादुरलाई भेट्न पुगे ।

टिकाले उक्त रेष्टुरेन्टका मालिकसंग कुराकानी गरेर लगत्तै हवाइ टिकट प्रवन्ध गरेपछि रामबहादुर आइतबार बिहान फ्लाइ दुबईबाट काठमाडौं पुग्दैछन् । काठमाडौंमा उनका दुईजना छोरी आएर पोखरा घर लैजाने प्रवन्ध मिलाइएको विषनले जनाए ।

विषनले आफ्नो अनुरोधमा रातारात एनआरएनए इराकले बिरामीको उद्दार गरि नेपाल फर्काउन सहयोग गरेकामा अध्यक्ष विनोद श्रेष्ठ, सदस्य टिका विश्वकर्मासहित समस्त कार्यसमितिप्रति आभार व्यक्त गरेका छन् ।’कतिपय देशमा एनआरएनए समितिहरु आफ्नो स्वार्थ र पदका लागि लडिरहेका छन् । तर, नेपालीलाई अप्ठेरो पर्दा तत्काल सहयोग गर्ने एनआरएनए इराकको काम प्रशंसनीय छ’, विषनले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू