एनआरएनएद्वारा सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण


काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सेती प्रादेशिक अस्पताललाई १ करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।
बिहीबार धनगढीमा आयोजित एक कार्यक्रममा एनआरएनए अध्यक्ष डा. बद्री केसीले अस्पतालका अध्यक्ष नरबहादुर शाहलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरे ।
प्लान्ट उद्दघाटन गर्दै सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले अक्सिजन प्लान्ट स्थापना गरेकामा एनआरएनएलाई धन्यवाद दिए । उनले सुदुरपश्चिमको स्वास्थ्यलाई सेती प्रादेशिक अस्पतालले थेगेको समेत बताए ।
मन्त्री साउदले प्रदेशको बेरोजगारी र गरिबी अन्त्यका लागि सुदुरपश्चिममा केही परियोजना सञ्चालन गर्न एनआरएनएलाई आग्रह गरे । उनले सुदुरपश्चिममा जनशक्ति अभाव नरहेको उल्लेख गर्दै बेरोजगारी समस्याका कारण प्रदेशको श्रम भारत पलायन भइरहेकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा अध्यक्ष डा. केसीले कोरोना महामारीको बेला गैरआवासीय नेपाली संघले विदेशमा र नेपालमा रहेका नेपालीहरुलाई ठूलो सहयोग पुरयाएको स्मरण गरे ।
केसीले आफ्नो गाँस काटेर विदेशमा बस्ने नेपालीहरुले देशमा प्राकृतिक प्रकोप, भूकम्प वा कोरोनामा महामारीमा सहयोग गर्दै आएको बताए । उनले सम्पूर्ण दातालाई संघको तर्फ धन्यवाद समेत व्यक्त गरे ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडाले सानो सहयोगले पनि मानिसको ज्यान जोखिमबाट बच्न सक्ने भएकाले मोबाइल ब्लड बस, अक्सिजन प्लान हस्तान्तरण गरेको बताए । उनले नेपालका दुर्गम क्षेत्रमा टेलिमेडिसन सेवा संचालन गर्न सकिने बताउँदै आगामी दिनमा गैरआवासीय नेपाली संघको सहकार्यमा टेलिमेडिसन कार्यक्रम संचालन गर्न सकिने बताए ।
कार्यक्रममा अस्पतालका अध्यक्ष शाहले संघले प्लान्ट हस्तान्तरण गरेपछि अस्पताल अक्सिजनमा पूर्णरुपमा आत्मर्निभर भएको बताए । उक्त प्लान्टले हावामा रहेको अन्य अक्सिजनलाई प्रशोधन गरेर १ घण्टामा ८ वटा सिलिन्डर तयार गर्न सक्छ ।
प्रदेश आपूर्ति व्यवस्था केन्द्रका प्रमुख डा. नीरज अर्यालले सेतीमा अक्सिजन प्लान्ट स्थापनाले ठुलो हौसला मिलेको बताए ।
कार्यक्रममा सेती अस्पतालका प्रतिनिधिरु, ओसिनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल, आइसीसी सदस्य हेमन्त काफ्ले, सल्लाहकारहरु टिबी कार्की, अतुल कोइराला, भैरव ढकाल, विधान संशोधन समितिका संयोजक भवानी ओली, पूर्वउपाध्यक्ष अर्जुन श्रेष्ठ, पूर्व युरोप क्षेत्रीय संयोजक सन्तोष भट्टराई, सत्यनारायण झा (माल्टा उपाध्यक्ष), संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, अधिकृत कुनाल मिश्र लगायतको उपस्थिति थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५