गुन्द्रुकको ‘ब्रान्डिङ’ पछि साग खेतीमा आकर्षण
इलाम — रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ । उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले नै लिने भएपछि किसान गुन्द्रुक बनाउनकै लागि व्यावसायिक साग खेती गर्न थालेका हुन् ।
रोङ–४ की शारदा अर्याललाई दुई वर्षअघि गुन्द्रुक बिक्छ भन्ने कल्पना नै थिएन । उनलाई लागेको थियो साग त बिक्दैन गुन्द्रुक कसले किन्ला र ! तर कमलाले अहिले व्यावसायिक रूपमा नै साग खेती गरेकी छिन् । उनको बारीभरि हरिया साग छन् ।
गाउँपालिकाले ‘गुन्द्रुक’ ब्रान्डिङ गर्ने कार्यक्रम ल्याएदेखि उनलाई साग खेतीमा आकर्षण भएको हो । ‘चिया, आलुले भाउ र घीउछुर्पीले बजार नपाएका बेला गुन्द्रुक बिक्री होला भन्ने त सोच नै थिएन तर हाम्रै गाउँपालिकाले गुन्द्रुकको बजार खोजिदिने भएपछि साग रोप्न थालेँ, आजकाल त साग फलायो, गुन्द्रुक बनायो बेच्यो,’ उनले भनिन् ।
गाउँपालिकाले गुन्द्रुक, सिस्नोलगायत १० देखि १२ प्रकारका कृषि उपजको ब्रान्डिङ गरेर किसानका लागि एउटा प्लेटफर्म तयार गरिदिने काम गरिरहेको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले जानकारी दिए । ‘गुन्द्रुक, र सिस्नोमात्र होइन आगामी वर्षदेखि १०–१२ वटा ‘आइटम’ सुकाएर बजारमा ल्याउने तयारी गर्दैछौँ,’ उनले भने, ‘भोलि एकजना किसान, एउटा व्यवसायी वा उद्योगीले यो सबै बजार निश्चित गरेर प्लेटफर्म बनाउन गाह्रो हुन्छ तर राज्यले बनाई दिएको प्लेटफर्ममा काम गर्न सजिलो हुन्छ । त्यसैले हाम्रो प्रयास किसानका लागि सहजता प्रदान गर्ने हो ।’
गुन्द्रुकजन्य उत्पादनलाई सुकाएर ‘प्याकेजिङ’ गर्ने प्लान्टमा पालिकाले एक करोड बराबरको लगानी गरेको छ । ‘किसानलाई तालिम गरायौँ, लेभलिङ, प्याकेजिङ ब्रान्डिङको प्रक्रियामा केही खर्च गर्यौँ, करोड बराबरको खर्च भएको छ,’ उनले भने । गुन्द्रुकमात्र नभएर सिस्नोलाई समेत ब्रान्ड बनाउन सुरु भएको छ ।
गुन्द्रुकलाई गुणस्तरीय बनाउन किसानलाई तालिम र ड्रायर मेसिन अनुदान दिइने गरेको गाउँपालिकाले जनाएको छ । ‘गुन्द्रुकमा किसानलाई प्रतिकिलो रु ८० अनुदान दिइने छभने गुन्द्रुकको अमिलोपन, सुक्खापन, आकार, रङ्गलगायत कस्तो बनाउने भन्नेबारे किसानलाई प्राविधिक सहयोग गर्ने गरिएको छ,’ अध्यक्ष स्याङ्बोले बताए ।
पालिकामा साग उत्पादन बढेको छ । किसानले उत्पादन गरेका सबै साग किन्न सक्ने गरी प्रत्येक वडामा एउटा प्रशोधन उद्योग खोल्ने तयारी रहेको उनले बताए । पालिकाले १२ प्रकारका उत्पादनलाई सुकाएर बजारमा ल्याउने तयारी गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५