लन्डन क्रोएडनमा माघे संक्रान्ति इभेन्ट हुँदै, प्रस्तुति दिंदै राष्ट्रिय कलाकार


लन्डन- साँस्कृतिक पर्व माघे संक्रान्तिलाई नेपालकै झल्को दिने गरी मनाउन बेलायतमा एक कार्यक्रम आयोजना हुने भएको छ।
लन्डनको क्रोएडन पर्लीस्थित ‘गोर्खा नान इन्डियन तथा नेपाली रेष्टुरेन्ट’ को आयोजनामा यही जनवरी २२ तारिख सोमबार माघे संक्रान्ति इभेन्ट ‘दुना टपरी’ हुन लागेको हो।
क्रोएडन थोर्टनस्थित ‘सेन्ट जुड विथ सेन्ट एइडन चर्च’ मा साँझ ५ बजेदेखि राती ११ बजेसम्म तय कार्यक्रममा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिको तयारी गरिएको छ।
कार्यक्रमको प्रमुख आकर्षण नेपालबाट आएका राष्ट्रिय स्तरका लोकदोहोरी कलाकारहरु छन्।सो अवसरमा गायिका वन्दना पाण्डे र गायक सुमन केसीले सांगीतिक प्रस्तुति गर्दैछन्।
त्यस्तै, कार्यक्रमका सहभागी नचाउन डिजे हेम विष्टको पनि प्रस्तुति रहनेछ।
कार्यक्रममा सहभागीहरुलाई माघे संक्रान्ति विशेष परिकारहरुको व्यवस्था गरिने आयोजक ‘गोर्खा नान’ रेष्टुरेन्टका सञ्चालक एवम् सेफ विष्णु थापाले बताए।
तीलको लड्डु, तरुल, खिचडी, आलुसहित विभिन्न परिकार राखिने जानकारी थापाले दिए ।
त्यसबाहेक, मम, चाउमिन सुकुटी, छोइलालगायतका स्वादिष्ट परिकारहरु पनि उपलब्ध गराइनेछ।

‘गोर्खा नान’ रेष्टुरेन्टका सञ्चालक एवम् सेफ विष्णु थापा
कार्यक्रमको टिकट शुल्क २५ पाउन्ड छ भने ५ वर्षदेखि माथिका बालबालिकालाई १२ पाउन्ड मात्र लिइनेछ।
तर क्रोएडन, सटन, वालिङटनसहितका आसपासका क्षेत्रमा बस्ने स्थानीयहरुलाई टिकटमा ३० प्रतिशत छुट मिल्नेछ। त्यस्तै, विद्यार्थीहरुलाई भने टिकटमा ५० प्रतिशत छुट दिइने भएको छ।
माघे संक्रान्तिजस्तो महत्वपूर्ण पर्वका अवसरमा स्थानीय नेपालीहरु जमघट गरेर एक आपसमा शुभकामना बांड्न र रमाइलो गर्न कार्यक्रम गर्न लागिएको आयोजक ‘गोर्खा नान’ सञ्चालक थापाले बताए।
‘नेपालबाट आउनुभएका चर्चित कलाकारहरुको प्रस्तुतिहरुबाट मनोरञ्जन त छदैं छ । माघे संक्रान्तिमा खाइने खिचडी, तिलको लड्डु, तरुलजस्ता परम्परागत परिकारहरु खुवाएर हाम्रो परम्परा र संस्कृति सबैलाई देखाउनु र प्रवर्द्धन गर्नु पनि हाम्रो उद्धेश्य हो’, उनले नेपाली लिंकसँग भने।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५