आइतबार, मंसिर ९, २०८१
03:33 | ०९:१८

एनआरएनएद्वारा कोशी प्रदेशमा मोबाइल ब्लड बस हन्तान्तरण

नेपाली लिङ्क जनवरी १७, २०२४


गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोशी प्रदेशको धरान रेडक्रस सोसाटीलाई मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ ।

धरानमा आज एक कार्यक्रम गरि गैरआवासीय नेपाली संघले सुनसरी जिल्ला शाखाद्वारा संचालित रक्तसंचार सेवा केन्द्र धरानका लागि ब्लड मोबाइल बस हस्तान्तरण गरेको हो । 

७० लाख रुपैयाँको लागतमा खरिद गरिएको सो मोबाइल ब्लड बस संघका अध्यक्ष डा. बद्री केसी र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापालाई हस्तान्तरण गरेका हुन्।

ब्लड बस हस्तान्तरणमा कोशी प्रदेशका मुख्य मन्त्री कार्कीले गैरआवासीय नेपालीहरुलाई कोशी प्रदेशको समृद्धिका लागि सहकार्य गर्न आग्रह गरे । कार्कीले कोशी प्रदेशमा लगानीका प्रशस्त सम्भावना रहेको बताउंदै समृद्ध कोशीको लागि लगानीका सम्भावित क्षेत्रमा सहकार्य गर्न गैरआवासीय नेपालीहरुसंग मिलेर काम गर्न प्रस्ताव पनि गरे ।

गैरआवासीय नेपाली संघले देशमा अफट्यारो परेको बेला सहयोग गरेको स्मरण गर्दै विदेशमा रहेका नेपालीहरुबीच एकता हुनुपर्ने र युरोप, अमेरिकामा बस्ने नेपाली र मध्येपूर्वका देशमा बस्ने नेपालीबीच मतभेद हुन नहुने उनको भनाइ थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष डा. केसीले नेपालमा लगानीका लागि गैरआवासीय नेपालीहरु सक्रिय रहेको बताए । विदेशीहरुको लगानीभन्दा गैरआवासीय नेपालीको लगानी दिगो हुने अध्यक्ष डा. केसीको भनाइ थियो ।

उनले कोशी प्रदेशको समृद्धिका लागि संघले पूर्वाधार लगायत क्षेत्रमा गैरआवासीय नेपाली संघ सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा संघका उपाध्यक्ष डा. हेमराज शर्माले स्थापनाकालदेखि संघले १ अर्ब भन्दा बढीको परोपकारी कामको गरेको जानकारी दिए । उनले संघले हस्तान्तरण गरेको बसले सडक दुर्घटनामा परेका नेपालीको ज्यान जोगाउन ठूलो सहयोग पुग्ने बताए ।

उनले गैरआवासीय नेपालीहरुले विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिलाई स्वदेशमा भित्र्याउन सक्रिय रहेको बताए । डा. शर्माले गैरआवासीय नेपाली संघले नेपालमा लगानी, परोपकारी काम र विदेशमा बस्ने नेपालीहरुको हकहितको लागि आवाज उठाउने तीन मुख्य मुद्धालाई पिल्लरको रुपमा लिएर सोही दिसामा काम गर्दै आएको पनि उल्लेख गरे ।

यसैगरि, कार्यक्रममा गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रोजिना प्रधान राईले गैरआवासीय नेपाली संघले हस्तान्तरण गरेको मोबाइल ब्लड बसले मानिसहरुको ज्यान बचाउन महत्वपूर्ण भूमिका हुने बताइन् ।

कार्यक्रममा प्रतिनिधि सभा पूर्व सांसद मीना सुब्बा, प्रदेश सांसद रामप्रसाद मेहता, यशोदा कायस्थ, भीम पराजुली, धरान उपमहानगरपालिकाका नगर उपप्रमुख हर्कराज राई, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, रेडक्रस सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापा, नेपाली कांग्रेसका नेता राजीव कोइराला लगायतको उपस्थिति थियो ।

कार्यक्रममा संघका केन्द्रीय पदाधिकारीहरु, सल्लाहकारहरु अभियन्ता,  प्रदेश सांसद, राजनीतिक दलहरुका प्रतिनिधि, धरान उपमहानगरपाललिकाका जनप्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा सुरक्षा निकायका प्रमुखको पनि उपस्थिति थियो ।

गैरआवासीय नेपाली संघले बाँकी लुम्बिनी र मधेश प्रदेशमा समेत मोबाइल ब्लड बस हस्तान्तरण गर्ने तयारी गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू