सोमबार, पुष २२, २०८१
22:04 | ०३:४९

लन्डनमा विविध कार्यक्रमसहित ब्रिटिस काउन्सिल नेपालको ६५औं वार्षिकोत्सव

नेपाली लिङ्क जनवरी ११, २०२४

लन्डन । ब्रिटिस काउन्सिल नेपालले लन्डनमा विविध कार्यक्रमसहित सांस्कृतिक तथा शैक्षिक सम्वन्ध सुदृढीकरणको ६५ औं वार्षिकोत्सव मनाइरहेको छ ।

ब्रिटिस काउन्सिल नेपालले आफ्नो मूख्य कार्यालय लन्डनमा एक प्रदर्शनी आयोजना गर्दै सहकार्य, साझेदारी र प्रभावका ६५औं वर्ष स्मरण गरेको हो ।

प्रदर्शनी लण्डनको रेडम्यान पी एल, इ२० १जेक्यू, बेलायतमा सर्वसाधारणका लागि १ एप्रिल, २०२४ सम्म खुला रहनेछ ।

बेलायत नेपाल मैत्री सन्धिको शतवार्षिकी उत्सवकै रुपमा आएको यो विशिष्ठ अवसरले दुई मुलुकबीच सदियौंदेखि चलिआएको कूटनैतिक सम्वन्धलाई प्रष्ट पारेको काउन्सिलले बिहीबार जनाएको छ ।

नेपालका लागि बेलायती राजदूत रव फेनले यस अवसरलाई कोशेढुंगाको संज्ञा दिँदै कृतज्ञता व्यक्त गरे । राजदूत रब फेनले भने, ‘बेलायत र नेपालबीचको सम्बन्ध चीर स्थायी छ र ब्रिटिस काउन्सिल नेपालले हाम्रा दुई मुलुकबीचको सांस्कृतिक तथा शैक्षिक सम्बन्धहरुलाई सुदृढ बनाउन उल्लेख्य भूमिका खेलेको छ ।’

त्यसैगरि, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले भनेका छन्, ‘ब्रिटिश काउन्सिलले आयोजना गरेको प्रदर्शनीले नेपाल र बेलायतबीचको सांस्कृतिक तथा शैक्षिक आदानप्रदानलाई उजागर गर्दछ, विगत झल्काउँछ र भविष्यमा हुन सक्ने सहकार्यहरुलाई संकेत गर्दछ ।’

राजदूत आचार्यले दुई शताब्दीभन्दा लामो द्धिपक्षीय सम्बन्धको पृष्ठभूमिमा आयोजित यस प्रदर्शनीले दुई मुलुकबीच रहि आएको मित्रता, सहकार्य र सहयोगलाई थप फराकिलो र सुदृढ बनाउन सघाउने विश्वास पनि व्यक्त गरे ।

बेलायत र नेपालबीच कूटनैतिक सम्वन्धको एक अशंका रुपमा ६५ वर्ष अघि स्थापना भएको ब्रिटिस काउन्सिल नेपालले पहिलो ब्रिटिस पुस्तकालय स्थापना गरेको थियो । त्यस उप्रान्त, नेपाल सरकारको शैक्षिक तथा साँस्कृतिक सुधारका पहलहरुमा यो भरपर्दो साझेदारका रुपमा विकास भएको छ, जसका प्रभाव लाखौं जनताबीच पुगेका छन् ।

ब्रिटिस काउन्सिल नेपालकी देशीय निर्देशक शाहिदा म्याकडुग पहिलो ब्रिटिस पुस्तकालयको स्थापनादेखि हालसम्मको यात्रा चर्चा गर्दै भन्छिन्-‘विगतका ६ दशकमा हामी थुप्रै व्यक्तित्व र संघसंस्थासँग मिलेर लाखौंबीच पुग्न सकेका छौं । साथै ब्रिटिस काउन्सिल नेपालले नेपालको शैक्षिक तथा साँस्कृतिक फाँटमा रुपान्तरणकारी प्रभाव छोड्न सफल भएको छ ।’

लण्डन मुख्य कार्यालयमा आयोजित प्रदर्शनीले ब्रिटिस काउन्सिलले शैक्षिक तथा साँस्कृतिक क्षेत्रहरुमा गरेका प्रयासहरु र उल्लेख्य योगदानहरुलाई प्रष्टयाएको उनको भनाइ छ ।

विगतका ६५ वर्षमा ब्रिटिस काउन्सिल नेपालले साझेदारीहरुलाई अभिवृद्धि गर्दै, सहकार्यलाई सहजीकरण गर्दै विभिन्न कार्यक्रममार्फत समुदायमा गतिलो छाप छोड्न सम्भव तुल्याएको छ ।

स्मरण रहोस्, द ब्रिटिश काउन्सिल संयुक्त अधिराज्य बेलायतको सांस्कृतिक सम्बन्ध र शैक्षिक अवसरहरुका लागि अन्तर्राष्ट्रिय संस्था हो । उसले संयुक्त अधिराज्य र विश्वभरका देशमा रहेका मानिसबीच सम्पर्क, समझदारी र विश्वास निर्माण गरी शान्ति र समृद्धिलाई सहयोग गर्दै आएको छ ।

‘हामी यो कला र संस्कृति, शिक्षा र अंग्रेजी भाषामा हाम्रा कार्यहरुका माध्यमबाट गर्छौं । हामी दुई सयभन्दा बढी देश तथा क्षेत्रहरुमा रहेका मानिससंग काम गर्छौं र सयभन्दा बढी देशमा छौं । सन् २०२२/२३ मा हामी ६० करोड मानिससम्म पुग्न सफल भयौं’, काउन्सिलले एक विज्ञप्तिमार्फत भनेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू