च्यारिटी जोडेर लन्डनमा गजल सांझ, राज सिग्देलको ‘नन स्टप’ गायनमा डुबे निम्तालु


लन्डन–भूकम्प प्रभावित पश्चिम नेपालका महिला बालबालिकाका लागि न्यानो कपडा जुटाउन मंगलबार सांझ लन्डनमा एक गजल सांझ भयो ।
लन्डनमा हप्तैपिच्छे हुने च्यारिटीभन्दा पृथक थियो कार्यक्रम । आयोजकले च्यारिटीसंग जोडेर गजलको रोमाण्टिक माहोलबाट दर्शकलाई भरपुर मनोरन्जन दिए ।
आयोजक थियो गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत युरोप क्षेत्रीय महिला फोरम र कार्यक्रम संयोजक थिइन् एनआरएनए युरोप महिला संयोजक प्रसुना कंडेल ।
ब्लु रुम स्पोर्टस् हल, ह्यारोको भेन्यू सेट अप कलाकारलाई मात्र होइन्, हेर्ने सुन्ने निम्तालुलाई पनि मनमोहक लाग्थ्यो । प्रविधिमा हेम विष्टले आफ्नो उत्कृष्ट क्षमता देखाउन कमी गरेनन् । कलाकार, प्रायोजकलाई समापनअघि प्रमाणपत्रबाहेक अरुलाई खादा माला लगाउने र पट्यारलाग्दो भाषण परम्परा यहां देखिएन ।
कार्यक्रमको प्रमुख आकर्षण थिए नेपालका लोकप्रिय गजल गायक राज सिग्देल । भारतीय मूलका तबला र गितार वादकहरुको साथमा प्रस्तुत लाइभ संगीतमा गायक सिग्देलको सुमधुर गजल गायनले उपस्थित दर्शक मन्त्रमुग्ध भए ।
‘उ जितेर गई वा हारेर गई’, ‘च्वास्स घोच्ने तिम्रो माया’, ‘लगाएर माया कुनै पल तिमीले’ ‘नपिए जस्तो गर्छौ आफू छेउमै बसेर’, सहित आफ्ना झन्डै दर्जन लोकप्रिय गजल सुनाउंदा राजले सबैको ताली पाए । अन्य केही कालजयी नेपालीदेखि हिन्दी गीत र गजलसम्म सुनाएर उनले दर्शकलाई भरपूर मनोरञ्जन दिलाए ।
बेलायतस्थित दुई गजलकार सन्जिता देउजा एवं नारायण गाउंलेका केही थान गजल पनि श्रोताले रुचाए । कार्यक्रममा कृष्ण भट्ट, फडिन्द्र भट्टराई, बासु लामिछाने लगायतले पनि गजल, कविता सुनाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनालले भूकम्पपीडित महिला बालबालिकाका लागि च्यारिटी गर्न जुटेकी संयोजक प्रसुना कंडेलको प्रशंसा गरिन् । उनले यस खालका कार्यक्रममा दूतावासले पनि प्रोत्साहन गर्ने बताइन् ।
विशेष अतिथी लन्डन बरो अफ ह्यारो मेयर काउन्सिलर रामजी चौहानले च्यारिटी लक्षित कार्यक्रमको सराहना गर्दै कार्यक्रमले सामाजिक सद्भाव अभिवृद्धि गर्ने भएकाले आफूले ऐक्यवद्धता जनाएको बताए।
अर्का विशेष अतिथी ग्रीनवीच बरो काउन्सिलका डेपुटी मेयर जित रानाभाटले महाभूकम्पका बेला प्रसुना कंडेलसहितको टोलीसंग सहकार्य गरि राहतमा जुटेको प्रसंग स्मरण गर्दै प्रसुनाहरु समाजको स्टार भएको भन्दै तारिफ गरे ।
एनआरएनए आइसीसी उपाध्यक्ष रामशरण सिम्खडाले पनि च्यारिटी कार्यक्रम गरेकामा महिला फोरमको प्रशंसा गरे ।
कार्यक्रम संयोजक प्रसुनाले सहभागी र प्रायोजक सबैप्रति आभार व्यक्त गरिन् । उनले रुकुम तथा जाजरकोटका भूकम्प पीडित महिला बालबालिकाका लागि न्यानो कपडा, पछ्यौरा, स्यानिटेरी प्याड, चप्पल र दूध बांड्न सानै भएपनि प्रयास गरिएको बताइन्।
कार्यक्रमबाट सबै खर्च कटाएर १ लाख रुपैंया बढी बचत भएको संयोजक प्रसुना कंडेलले नेपाली लिंकलाई जानकारी दिइन्।
उनले भनिन्, ‘धेरै पैसा उठाउनेभन्दा पनि संगीतलाई परोपकारसँग जोड्ने कोशिश् हामीले गरेका हौं। आफ्नो अमूल्य साथ, सहयोगले हाम्रो यही कोशिश् सफल बनाइदिनुहुने सबैप्रति आभारी छौँ।’
केही साताअघि पश्चिम नेपालमा केन्द्रविन्दु भएर गएको भूकम्पका कारण विशेष गरि रुकुम र जाजरकोटवासी यो जाडोमा संकटपूर्ण जीवन बांचिरहेका छन् । चिसोका कारण कतिपय सुत्केरी महिलाको ज्यान नै गएको पनि खबर सुनिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५