सोमबार, पुष २२, २०८१
21:40 | ०३:२५

गुल्मी जिल्ला समाज यूकेको सातौं अधिवेशन मे ५ मा, निर्वाचन समिति गठन

नेपाली लिङ्क जनवरी ८, २०२४


लन्डन–बेलायतको क्रियाशिल सामाजिक संस्था ‘गुल्मी जिल्ला समाज यूके’ को सातौं अधिवेशन आगामी मे पहिलो साता हुने भएको छ।

आइतबार फार्नबरोमा सम्पन्न समाजको कार्यसमिति एवम् सल्लाहकारको बैठकले मे ५ तारिख आइतबार अल्डरसटमा अधिवेशन गर्ने निर्णय गरेको हो। अधिवेशनले आगामी तीन वर्ष संस्थालाई नेतृत्व गर्ने सातौं कार्यसमिति निर्वाचित गर्नेछ।

समाजका अध्यक्ष वीर बलालको अध्यक्षतामा सम्पन्न बैठकले नयाँ कार्यसमिति निर्वाचनका लागि एक निर्वाचन समिति गठन गरेको छ। जसमा सल्लाहकारत्रय बालजंग अर्याल, राजेन्द्र श्रेष्ठ र फत्त थापा सदस्य छन् । निर्वाचन समितिको संयोजन कसले गर्ने भन्ने टुंगो लगाउने जिम्मा भने समितिका सदस्यहरुलाई नै दिइएको छ।

बैठकमा गत महिना सम्पन्न आपांगता दिवस च्यारिटी कार्यक्रमको समिक्षा गरिएको थियो।

कार्यक्रमबाट संकलित रकमबाट आशा अपांग केन्द्रलाई २ लाख, रुरुस्थित अटिजम स्कुललाई २ लाख र बांकी २ लाख २० हजार रुपैंया गुल्मीमै अपांगताकै क्षेत्रमा सहयोग गरिने भएको छ।  

त्यस क्रममा कार्यक्रमका कमजोरीहरु समेत केलाउँदै आगामी कार्यक्रममा कसरी सुधार गर्ने भन्नेबारे छलफल पनि गरिएको थियो।

साथै, च्यारिटी कार्यक्रममा संस्थाका अध्यक्ष र संस्थापक अध्यक्ष ओमप्रसाद थापा एवम् समाजका सल्लाहकार समेत रहेका एनआरएनए यूके (गाहा) अध्यक्ष प्रेम गाहाबीच देखिएको ‘फरक बुझाइ’ पनि यही बैठकबाट समाप्त भएको अध्यक्ष वीर बलालले जनाए।

 

सोही अवसरमा बेलायत भ्रमणमा आएका नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एवम् गुल्मी शाखाका पूर्व अध्यक्ष अनुप श्रेष्ठलाई समाजका तर्फबाट बेलायतमा स्वागत गरिएको थियो।

महासचिव रुद्र थापाले सञ्चालन गरेको बैठकमा उपाध्यक्ष वरुण भण्डारीले स्वागत मन्तव्य राखेका थिए।

सो अवसरमा संस्थापक अध्यक्ष ओमप्रसाद थापा, निवर्तमान अध्यक्ष टोप पल्ली,सल्लाहकार एवम् एनआरएनए यूके (गाहा) अध्यक्ष प्रेम गाहामगर, सल्लाहकारहरु क्या. ताम ढेगा, गोकर्ण बस्नेत, राजेन्द्र श्रेष्ठ, चक्रबहादुर रानालगायत सहभागी थिए।

त्यस्तै, उपाध्यक्ष मञ्जु भण्डारी र वरुण भण्डारी, सचिव महलाल घिमिरे, कोषाध्यक्ष मुकुन्द खराल, प्रवक्ता राधा खरेल, सहकोषाध्यक्ष तेज राना, सदस्यहरु गुण थापा, डम्बर श्रीषसहितका कार्यसमितिका पदाधिकारीको पनि बैठकमा सहभागिता थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू