टोकियोमा तट रक्षक विमानसँग ठोक्किँदा एयरबस जल्यो, ५ को मृत्यु


टोक्यो, पुस १७ गते । जापानका यातायातमन्त्रीले मङ्गलबार टोक्योको हानेदा विमानस्थलमा जापान एयरलाइन्सको विमान धावनमार्गमा ठोक्किँदा तट रक्षकको विमानमा सवार पाँचजनाको मृत्यु भएको बताएका छन् ।
“तट रक्षकको विमानका बारेमा कप्तान भागेको र पाँचजनाको मृत्यु भएको पुष्टि भएको हामीलाई जानकारी गराइएको छ”, मन्त्री तेत्सुओ साइतोले पत्रकारहरूसँग भने ।
जापान एयरलाइन्सको विमान धावनमार्गमा तट रक्षकको विमानसँग ठोक्किएपछि आगलागी भएको मिडिया रिपोर्टले जनाएको छ । प्रसारक एनएचकेमा तस्बिरहरूमा विमानको तल पछाडि सुन्तला रङको आगोको विस्फोट हुनुअघि विमान धावनमार्गमा अगाडि बढिरहेको देखाइएको छ ।
एनएचकेका अनुसार एयरबस विमानमा सवार सबै तीन सय ६७ यात्री र चालक दलका १२ सदस्यलाई सुरक्षित निकालिएको छ । क्योदो समाचारअनुसार विमानमा आठ बालबालिका पनि थिए ।
यसअघि तट रक्षक विमानमा चालक दलका छ सदस्यमा एकजना सुरक्षित रहेको र अन्य पाँच जनाको अवस्था थाहा नभएको एनएचकेले बताएको थियो ।
घटनाको कारण तत्काल स्पष्ट नभए पनि टेलिभिजन रिपोर्टअनुसार एयरबस तट रक्षक विमानसँग ठोक्किएको थियो ।
जिजी समाचार समितिका अनुसार सोमबार मध्य जापानमा गएको महाभूकम्पपछि उद्धार प्रयासमा सहयोगका लागि तट रक्षक विमान प्रस्थान गर्न लागेको थियो । तट रक्षक विमान भर्खरै मात्र उत्तरी जापानी टापु होक्काइडोको साप्पोरा विमानस्थलबाट आएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५