सोमबार, पुष २२, २०८१
21:58 | ०३:४३

बेलायतमा नेपाली विद्यार्थीले भोगेका समस्याबारे छलफल हुँदै

नेपाली लिङ्क जनवरी २, २०२४

लन्डन। बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीले भोग्नुपरेका समस्याबारे एनआरएनए इंग्ल्यान्ड राज्य परिषदले एक अवारनेस (सचेतना) कार्यक्रम गर्ने भएको छ ।  

आगामी शनिबार जनवरी ६ तारिखका दिन भर्चुअल रुपमा सञ्चालन हुने ‘हेल्पिङ ह्यान्ड’ कार्यक्रमबाट विद्यार्थीका वास्तविक समस्या पहिचान गर्दै समाधानका उपायसमेत खोज्ने लक्ष्य राखिएको छ।

कार्यक्रममा नेपाल सरकारको शिक्षा मन्त्रालय, लन्डनस्थित नेपाली दूतावासदेखि बेलायतका विभिन्न युनिभर्सिटीमा प्राध्यापन गर्ने प्राध्यापक, एनआरएनए यूके, लन्डनस्थित शैक्षिक परामर्शदाता कम्पनी, सञ्चारकर्मी, विद्यार्थीलगायतका प्रतिनिधिलाई निम्त्याइएको छ। 

आयोजक एनआरएनए इंग्ल्यान्ड राज्य समन्वय परिषदका अध्यक्ष शम्भुप्रसाद अर्यालले बेलायत आएका नेपाली विद्यार्थीका समस्याहरुको वास्तविक पहिचान गर्नु   कार्यक्रमको प्रमुख लक्ष्य रहेको बताए। सरोकारवाला निकाय र प्रतिनिधिहरुको परामर्शमा आवश्यक सहयोगको पहल समेत गर्न सहज हुने उनको भनाइ छ।

कार्यक्रम बेलायतमा अध्ययन गर्न हालै आएका र अब आउंदै गरेका नेपाली विद्यार्थीहरुको लागि जानकारीमूलक र सहयोगी पनि बन्ने अपेक्षा आयोजकको छ।  

कार्यक्रम भर्चुअल जुममार्फत् मध्यान्ह साढे १२ देखि साढे २ सम्म सञ्चालन हुने संयोजक एवम् परिषदकी सचिव अञ्जु कुँवरले जानकारी दिइन्।

पछिल्लो समय बेलायत आएका नेपाली विद्यार्थीले कोठा र काम पाउन निकै कठिन बनेको छ भने यहाँको अवस्थाबारे विद्यार्थी र अभिभावकले आवश्यक पूर्व जानकारी नलिनु तथा शैक्षिक परामर्शदाता कम्पनीले गलत सूचना दिनुजस्ता कारणले पनि समस्या बढाएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू