मंगलबार, पुष २३, २०८१
12:02 | १७:४७

मनिषालाई ‘ज्यापु उद्यमशील’ सम्मान

नेपाली लिङ्क डिसेम्बर ३१, २०२३


लन्डन- लन्डन फेसन हाउस ग्रुप अफ कम्पनीकी निर्देशक मनिषा डंगोल श्रेष्ठलाई ज्यापु महागुठी नेपालले सम्मान गरेको छ । योमरी पुन्ही र २०औं ज्यापु दिवसको अवसरमा ज्यापु महागुठी नेपालले गरेको कार्यक्रममा उनी सम्मानित भएकी हुन्   ।

दशकौंदेखि नेपाली उत्पादन विश्व बजारमा पुरयाएको भन्दै उनलाई ‘ज्यापु उद्यमशील’ सम्मानबाट सम्मानित गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री पुकार महर्जनले उनलाई सम्मान गरेका थिए ।

डंगोलले विविध संस्कृति भएको नेवा समुदायमा आवद्ध हुन पाउँदा गर्वको महशुस भएको र सम्मानबाट आफूलाई थप जिम्मेवारी थपिएको बताइन् । 

भावी दिनमा पनि नेवा संस्कृति र भाषाको विकास, संरक्षणका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले आफूलाई यो स्थानमा पुरयाउन सहयोग गर्ने अविभावक, परिवार र शुभचिन्तकप्रति आभार व्यक्त गरिन् ।

योमरी पुन्ही गुठीले हरेक वर्ष शिक्षा, खेलकुद, व्यापार, सामाजिक, सांस्कृतिक लगायत क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आ–आफ्नो क्षेत्रमा उत्कृष्ठ योगदान पुरयाउने ज्यापु समुदायका नेवाहरूलाई विशेष सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।


लण्डन निवासी डंगोलले सन् २०१८ मा फिलिपिन्समा आयोजना भएको मिसेस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्दै ‘मिसेस युनिभर्स एन्जल हार्ट २०१८’ को उपाधि जितेकी थिइन् । उनी सेरेब्रल पाल्सी नेपालको आधिकारिक सद्भावना दूत समेत छन्, जसले शारीरिक रुपमा अशक्तहरुको सहयोग एवम् हेरचाह गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू