बालकुमारी घटनामा गोली लागेर दुईको निधन, मन्त्रीको गाडी जल्यो, छानबिन समिति गठन
काठमाडौँ, पुस १३ गते-कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएका युवाहरुको प्रदर्शन, झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृहमन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको नेतृत्वमा बनाइएको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल सदस्य छन् ।
समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइएको गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा इपिएस परीक्षा फारम भर्ने विषयलाई लिएर ललितपुरको बालकुमारीमा जम्मा भएका व्यक्तिहरुको प्रदर्शन, अवरोध, तोडफोड, आगजनी, आर्थिक, भौतिक, एवम् मानवीय क्षतिप्रति गृहमन्त्रालयले दुःख व्यक्त गरेको छ ।
यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो । बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो ।
मन्त्री सवार गाडीको हावा खोलेर आगो लगाइएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाउँदा दुईजनाको निधन भएको महानगरीय प्रहरी परिसर ललितपुरका वरिष्ठ उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५