लण्डनमा मह जोडीले हँसाए दर्शक, नाचे प्रकाश सपुतसँग
लन्डन – ‘मह जोडी टुर २०२३’ सिलसिलामा बेलायत आइपुगेका वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य र चर्चित गायक प्रकाश सपूतले शनिबार बेलायतस्थित नेपाली दर्शकलाई नचाएका छन्।
लण्डन ह्यारो लिजर सेन्टरमा आयोजित कार्यक्रममा मह जोडीले नेपालमा बढ्दै गएको भ्रष्टाचार र बेथितविरुद्ध चोटिलो प्रस्तुति दिए।
त्यस्तै उनीहरुले प्रहसन प्रश्नोत्तरको माध्यमबाट मोबाइल फोनप्रति मानिसहरुको बढ्दो मोहदेखि हालै नेपालमा टिकटकमाथि लगाइएको प्रतिबन्धको प्रसङ्ग उल्लेख गर्दै हँसाएका थिए। उनीहरुले नेपाली युवा रुसी सेनामा भर्ना हुन जाने अवस्था कसरी आयो भन्दै निराशा पनि व्यक्त गरे।
केही समय अघि अस्वस्थ रहेर जीवनको उत्तरार्धमा फेरी सक्रिय भएका वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले ‘फुलबुट्टे सारी’ गीत गाउन थालेपछि दर्शकहरु स्टेज नजिकै गएर नाचेका थिए।
त्यस्तै चर्चित कलाकार आचार्यले ‘साझा बसमा जो पनि चढ्द छ’ लगायत गीत सुनाउँदा माहोल एकाएक तात्यो ।
चर्चित कलाकार प्रकाश सपूतले ‘डांडा घरे साइँली,’ ‘फूलमाया’ लगायत चर्चित गीतहरु गाएर दर्शक नचाए ।
कार्यक्रममा मदन कृष्णका छोरा यमन श्रेष्ठ, छोरी सराना, शर्मिला बर्देवा लगायत कलाकारले पनि रोचक प्रस्तुति दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली समाजलाई दिशा निर्देश गर्ने काममा मह जोडी र प्रकाश सपूतले निकै योगदान पुरयाइरहेको भन्दै प्रशंसा गरे। उनले यस्ता प्रस्तुतिले समाजमा एकता र सद्भाव बढाउन मद्दत पुग्ने पनि बताए।
राजदूत आचार्यले आयोजकको तर्फबाट कलाकारहरुलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रममा लन्डन बरो अफ ह्यारोका मेयर काउन्सिलर रामजी चौहानले शुभकामना दिएका थिए।
वरिष्ठ कलाकारद्वय मदनकृष्ण, हरिवंश लगायत कलाकारले आइतबार बेलुका अल्डरसटमा पनि प्रस्तुति दिंदै छन्।
कार्यक्रम आयोजक द गोर्खा सेन्टरका संस्थापक तथा सिइओ भिम तामाङले दर्शकहरुको न्यानो माया र सहभागिताबाट आफूहरु निकै उत्साहित भएको बताए। उनले अल्डरसट कार्यक्रममा सहभागी हुन पनि सबैलाई आग्रह गरे ।
कार्यक्रमबाट वचत भएको सम्पूर्ण रकम गोर्खा भेट्रानहरुलाई मद्दत गर्न खर्च गरिने द गोर्खा सेन्टरले जनाएको छ।
कार्यक्रममा डिजे हेम बिष्टको साउन्ड सिस्टम र कुशल श्रेष्ठले एलइडी प्रोजेक्सन तथा भिडियो/फोटोग्राफी जिम्मा लिएका थिए ।
तस्बिर सौजन्य: कुशल श्रेष्ठ