शुक्रबार, पुष २६, २०८१
14:08 | १९:५३

जापान पुगेका एनआरएनए केन्द्रिय पदाधिकारीद्वारा सहमति र सहकार्यमा जोड

नेपाली लिङ्क डिसेम्बर २४, २०२३

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय पदाधिकारीहरुले संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी) र अन्तराष्ट्रिय परिषद् (आइसीसी) लगायत सबै पक्षसंग समन्वय गरेर जानुपर्ने बताएका छन् ।   

गैरआवासीय नेपाली संघ एशिया प्यासिफिकको आयोजनामा  आइतवार जापानको राजधानी टोकियोमा भएको अन्तरक्रिया कार्यक्रममा संघको गत अक्टुवरमा सम्पन्न निर्वाचनको परिणाम मान्नुको विकल्प नरहेको भन्दै पदाधिकारीले संघभित्र सहमति र सहकार्यको आवश्यकता रहेकामा जोड दिए । 

संघका उपाध्यक्ष डा. हेमराज शर्माले संस्थाभित्र समस्या देख्दादेख्दै पनि विश्वभरबाट नयाँ पुस्ता तथा युवाहरु संघको अभियानमा जोडिनु सकारात्मक पक्ष रहेको बताए । उनले  राष्ट्रिय समिति र अन्तराष्ट्रिय समन्वय परिषदबीच समन्वय अनिवार्य रहेको बताउंदै एनसीसीले आइसीसीलाई नमाने  त्यसको प्रत्यक्ष समस्या राष्ट्रिय समितिमा पर्ने हुंदा त्यसमा गम्भिर हुन समेत आग्रह गरे । 

त्यसैगरि शर्माले गैरआवासीय नेपालीहरुका धेरै मुद्दा राजनीतिक भएको हुंदा स्थानीय दलका भातृसंस्थाहरुसंग मिलेर काम गर्नुपर्नेमा जोड दिए । तर राजनीतिक दलहरुको सहयोग आवश्यक हुने भएपनि संस्थाभित्र राजनीति गर्न नहुने उनको भनाइ थियो । राजनीतिक दललाई संघले पहिलेदेखि नै भ्रमपुर्ण सूचना दिँदा संस्थाभित्र विभाजन सुरु भएको समेत उनले बताए ।

त्यसैगरि, कार्यक्रमलाई सम्बोधन गर्दै  संघका उपाध्यक्ष रोविन शेरचनले गैरआवासीय नेपाली संघको पछिल्लो विवादका कारण काम गर्न निरुत्साहित पारेको बताए 

सहमति र सहकार्यले मात्र संस्था अघि बढ्न सक्ने बताउंदै राष्ट्रिय समितिमा भएका समस्याहरुको समाधान छलफल गरेर टुंगोमा पुरयाउनुपर्ने उनको भनाइ थियो । 


संघका सचिव पारसमणि पोखरेलले संघको गत अक्टोवरमा सम्पन्न निर्वाचन परिणामलाई उपबिजेता समूहले स्वीकार गर्नुको विकल्प नरहेको बताए । उनले निर्वाचनको परिणाम चित्त नबुझे रिकाउन्टीङ हुन सक्ने तर पुनःनिर्वाचन हुन नहुने बताए । 

संघका कोषाध्यक्ष सुदन थापाले गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति र अन्तराष्ट्रिय समन्वय परिषदबीच नङ र मासुको सम्बन्ध रहेको भन्दै आगामी दिनमा मिलेर काम गर्न सबैलाइ आग्रह गरे । उनले एनआरएनए जापानलाई सबै पक्षसंग समन्वयन गरेर अघि बढ्न सुझाव दिए । 

थापाले संस्थाभित्र भएका कमी कमजोरी सच्याएर अघि बढ्नपर्ने बताए । 

कार्यक्रममा संघका निवर्तमान उपाध्यक्ष तथा निर्वाचन समितिका सदस्य भूषण घिमिरेले संघभित्र क्षेत्रीय समितिको अवधारणले आगामी दिनमा काम गर्न सजिलो हुने तर्क गरे । उनले यसअघि क्षेत्रीय संयोजकको भरमा सम्मेलन हुने गरेको स्मरण गर्दै आगामी दिनमा क्षेत्रीय समितिले गर्ने बताए । 

गैरआवासीय नेपाली संघ ठूलो हुदै जाँदा संसारभर छरिएका राष्ट्रिय समितिहरुलाई एउटै विधानमा बाँधेर लैजान चुनौति रहेको समेत उनको भनाइ थियो ।

घिमिरेले गत निर्वाचनमा प्रकृयागत रुपमा कुनै त्रुटी नभएको भएपनि निर्वाचन परिणाम घोषणा भइसकेपछिको समस्या समाधान निकाल्न अप्ठ्यारो भएको बताए । 

निवर्तमान उपमहासचिव ओम गुरुङले संस्थाका पछिल्ला गतिविधिहरूले नकारात्मक सन्देश दिएको भन्दै चिन्ता व्यक्त गरे ।  

दीपक कंडलेले सञ्चालन गरेको उक्त अन्तक्रिया कार्यक्रममा गैरआवासीय नेपाली संघ जापानका पूर्वपदाधिकारी तथा आइसीसी सदस्यहरुको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू