क्रिसमसमा सजियो लन्डन, खुम्चियो तडकभडक
लण्डन । इसाई धर्मावलम्बीले प्रत्येक वर्ष मनाउने क्रिसमस पर्वको माहोल सुरु भइसकेको छ । येशू ख्रीष्टको जन्मदिनको स्मरण गरिने क्रिसमसको मुख्य दिन डिसेम्बर २५ को संघारमा आइपुग्दा मानिसहरु फेस्टिभ मुडमा देखिन्छन् ।
लण्डनका प्रमुख पर्यटकीय आकर्षणका केन्द्रहरु झिलिमिली बत्तिहरुले सुन्दर र मनमोहक बनेका छन् । क्रिसमसको महिना दिन अगाडिदेखि नै लन्डनको प्रमुख पर्यटकीय क्षेत्रहरु लन्डन ब्रीज, अक्सफोर्ड स्ट्रिट, पिकाडेली सर्कस लगायत क्षेत्र रंगीचंगी र झिलिमिली बत्तिले दुलही झैं सिंगारिएको छ । क्रिसमसलाई लक्षित गरि संचालन गरिएका अस्थायी मार्केटमा चहलपहल हुन थालेको महिना दिन अघिदेखि नै हो ।
डिसेम्बरदेखि नयाँ वर्ष जनवरीको पहिलो सातासम्मका लागि राखिने सान्ता क्लज (क्रिसमसका पिता), क्रिसमस ट्री र रंगीबिरंगी झिलिमिली बत्तिहरुको सजावट नै क्रिसमसको प्रमुख आकर्षक बन्ने गर्दछ । माइनस तापक्रम र हिमपातको समय भएपनि रंगीविरंग, झिलिमिली र मानिसको घुइंचोमा जाडोको खासै महशुस हुंदैन । विशेषगरि आकर्षक सजावटको दृष्यावलोकन, क्रिसमस बजारमा राखिने विभिन्न अन्तरदेशीय कुइजिनमा विदेशी पर्यटकहरु पनि उत्तिकै रमाउने गर्दछन् ।
लण्डनको क्रिसमस बजारमा राखिने ‘स्ट्रिट फुड’मा नेपाली परिकारले पनि केही वर्षयता स्थान पाउँदै आएको छ । ‘टेष्ट अफ नेपाल’ ले यतिखेर लन्डन ब्रीज छेउमा आफ्नो स्टलमार्फत नेपाली परिकारहरु मम, चाउमिन, हिमालयन थुक्पा, गोर्खा सुपलगायत परिकार बिक्री गरिरहेको छ । नेपाली स्वाद चाख्न बेलायती देखि चिनीया, भारतीयसहित अन्य विभिन्न मुलुकका नागरिकको पनि भीड लागेको देखिन्छ । १४ नोभेम्बरबाट संचालित उक्त नेपाली स्टल १ जनवरी २०२४ सम्म रहने ‘टेष्ट अफ नेपाल’ ले जनाएको छ । लण्डनको टावर ब्रीजसंगैको थेम्स नदीको किनारमा खुलेका क्रिसमस बजारमा विश्वप्रसिद्ध स्ट्रिट फुडलगायत अन्य विभिन्न प्रकारका सामग्रीहरु राखिएका छन् । ‘टेष्ट अफ नेपाल’ ले विभिन्न मौलिक नेपाली परिकार पस्किएर नेपाली खानालाई विश्वभरका पर्यटकमाँझ चिनाउने प्रयास गरिरहेको छ ।
यसैगरी क्रिसमसको अवसरमा हरेक वर्ष संचालन हुँदै आएको ‘वीन्टर वण्डरल्याण्ड’ यस वर्ष पनि लन्डनको हाइड पार्क कर्नरमा चालु छ । उक्त विशाल क्रिसमस मेला १७ नोभेम्बरदेखि शुरु भएरनयाँ वर्ष २०२४ का दिन अर्थात जनवरी १ तारिखसम्म रहनेछ । सन् २००७ बाट सुरु भएको ‘वीन्टर वण्डरल्याण्ड’ ले यसपटक १६औं वार्षिकोत्सव मनाएको छ । यसमा दिनहुं बालबालिकादेखि वृद्धवृद्धासम्म गरि हजारौं मानिस पुग्ने गर्छन् ।
विश्वकै आकर्षक मानिने हाइड पार्कको खुला आकासमुनी चउरमा रहेको उक्त मेलामा विभिन्न किसिमका स्टल, सर्कस, आइस शो, लाइभ म्यूजिक, स्ट्रिट फुडलगायत थुप्रै बार रेष्टुरेन्ट खुलेका छन् । विशेषगरी केटाकेटीका लागि पनि लोकप्रिय बनेको ‘वीन्टर वण्डरल्याण्ड’ निकै आकर्षक छ ।
विश्वभर नै आ–आफ्नै तरिकाले धार्मिक र सांस्कृतिक उत्सवको रुपमा हर्ष, उल्लास र उमंगकासाथ मनाइने क्रिसमस पर्व इसाई धर्मावलीहरुका लागि मात्र नभई गैर इसाईहरुका लागि पनि उत्तिकै प्रिय बनेको छ । आफ्नो धर्ममा कट्टर मुस्लिम समुदायबीच पनि क्रिसमस पर्वले उत्तिकै रौनक छाएको छ ।
वास्तवमा भन्ने हो भने क्रिसमस पर्व बेलायतवासी (विशेष गरि विदेशी) हरुमाझ सुःख दुःख बिसाउने चौतारीको रुपमा रहँदै आएको छ । एक आपसमा उपहार आदानप्रदान, खानपिन र आफन्तजनहरुसँग रमाउनु नै क्रिसमसको विशेषता हो । हामी नेपालीहरुको तुलनामा कमै पारिवारिक जमघट र आत्मियता झल्किने उनीहरुको सुःख दुःख साटासाट गर्ने तथा पारिवारिक मिलनको रुपमा स्थापित छ यो क्रिसमस ।
अपवादबाहेक धेरैजसोमा आफ्ना बृद्ध बाबाआमालाई क्रिसमसमा भेट्न जानुपर्छ भन्ने एउटा संस्कार नै बनिसकेको छ । सोही अनुरुप महिनौं अघिदेखि उनीहरुलाई भेट्न जाने पूर्वतयारीमा जुट्छन् सन्तान । यसबाट आत्मियता हैन कर्तव्य निर्वाह र परम्परालाई अवलम्बन गरेको हो कि भन्ने आभास हुन जान्छ । यद्धपि क्रिसमस पर्वले घर परिवार, आफन्त र इष्टमित्रलाई एकताको सुत्रमा बाँध्न र हरेक वर्ष रिन्यू गर्दै निरन्तरता दिने काम गर्दै आएको छ ।
नेपाली समाजमा घट्यो क्रिसमस रौनक
इसाई धर्मावलीहरुका लागि मात्र नभई गैर इसाईहरुको लागि पनि उत्तिकै आकर्षक बनेको क्रिसमसको रौनक पछिल्लो समय अलि खुम्चिंदै गएको छ । विगत वर्षहरुमा नेपाली संघसंस्था तथा व्यवसायीहरुले धुमधामसंग मनाउने गरेको क्रिसमस अहिलो फाट्टफु गतिविधिमा सिमित भएको छ । कोभिड १९ पछि परेको आर्थिक र मानसिक असरले क्रिसमस मात्र नभई अन्य थुप्रै चाडपर्व र कार्यक्रमहरु प्रभावित बनेको छ ।
यहाँस्थित नेपाली समुदायले लगातार गर्दै आएका कार्यक्रमहरु पनि निकै न्यून हुन थालेका छन् । धेरैजसो चाडपर्व समुदायबाट खुम्चिएर आफन्त तथा परिवारबीच मात्र सिमित बनेका छन् ।
हुन त बेलायतको अर्थतन्त्र नै खुम्चिएको र आर्थिक मन्दी झेल्नुपर्ने आंकलन केहीदिन अघिमात्र राष्ट्रिय तथ्यांक कार्यालयले गरेको थियो । महंगी नियन्त्रणमा सरकारले प्रयास गरेपनि अहिले बेलायतको महंगी ४ दशमलव ६ प्रतिशतमा छ । सन् २०२४ को सुरुतिर अर्थतन्त्र मन्दीमा जाने विश्लेषकहरुको दावी छ । मानिसहरुमा क्रय शक्ति निकै कम भएकाले ब्रान्डेड सामाग्रीहरुको बजार निकै खस्किएको छ ।
क्रिसमस सेलिब्रेसनले सजिने विभिन्न हल प्रायः सुनसान बनेका छन् । यद्धपि क्रिसमसको अवसर पारेर वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह जोडी यूके टुर’ का लागि यतिखेर बेलायतमा छन् । उनीहरुले २३ डिसेम्बर दिउसो लन्डनको हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम क्रिसमस इभ अर्थात २४ डिसेम्बरमा अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम गर्ने तय भएको छ ।
शब्द/फोटो– नरेन्द्र बस्नेत